केराबारी र बेलबारीमा चारसहित मोरङमा थपिए ८ मतदान केन्द्र, सर्ने भए ८ मतदानस्थल

  • १० भाद्र २०७९, शुक्रबार

 प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगावै मोरङमा आठवटा नयाँ मतदानस्थल थपिने र आठवटा मतदान स्थल सर्ने भएका छन् ।

मतदाताको संख्या बढी भएको वडामा मतदान केन्द्र थप्न र साँघुरो तथा अपायक पर्ने मतदानस्थल सार्न प्रदेश निर्वाचन कार्यालयले निर्वाचन आयोगमा सिफारिस गरेसँगै मतदान केन्द्र थपिने र सर्ने भएका हुन् ।

प्रदेश निर्वाचन कार्यालयले मतदानस्थल पुनरावलोकन समितिले गरेको सिफारिस बमोजिम मतदानस्थल थप्न र  मतदानस्थल सार्न निर्वाचन आयोगमा पत्राचार गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन अधिकारीले बताए । वडाबाट आएका सिफारिस र स्थानीय राजनीतिक दलहरुको सुझाव समेतका आधारमा यस्तो सिफारिस गरिएको अधिकारीले बताए ।

मोरङ केराबारी  गाउँपालिका ९ को रामविर आधारभूत विद्यालयमा एकमात्र मतदान केन्द्र रहेकोमा अब बुद्ध माविमा पनि  मतदानस्थल थप्न सिफारिस गरिएको छ । केराबारी ४ को जनकल्याण माविमा रहेकोे मतदानस्थलाइ पनि जगदम्बा आधारभूत विद्यालयमा थप गर्न सिफारिस भएको छ ।
त्यस्तै बेलबारी नगरपालिका १ को  जनएकता आधारभूत विद्यालयमा मतदान केन्द्रलाई बिस्तार गरी बेलबारी नगरपालिकाको कार्यालयमा समेत थप गर्न सिफारिस गरिएको छ । बेलबारी ११  लक्ष्मीमार्गस्थित लक्ष्मी माविमा रहेको मतदानस्थललाई बिस्तार गरी लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिको भवनमा पनि कायम गर्न सिफारिस गरिएको छ । कानेपोखरी ६ को पञ्चज्योती आधारभूत विद्यालयको मतदान स्थललाई जनसेवा माविमा थप गरिने भएको छ । मिक्लाजुङ गाउँपालिका १ को टाँडी माविमा रहेको मतदान केन्द्रलाइ पनि मनोहरा आधारभूत विद्यालयमा थप्न सिफारिस भएको छ ।

विराटनगर ३ को पुसेट क्याम्पसमा  रहेको मतदानस्थलबाट औषधी व्यवस्था विभागमा समेत मतदानस्थल कायम गर्न सिफारिस गरिएको छ । रंगेली नगरपालिका ४ को गणेश मावि चोप्राहाको मतदानस्थललाई छुट्याएर जनता मावि आमतोलामा पनि थप्न लागिएको छ ।

त्यसैगरी साँघुरो र अपायक पर्ने केही मतदान स्थलहरु अर्को ठाउँमा सर्ने भएका छन् । यसरी परिवर्तन हुन लागेका मतदानस्थलहरुमा बेलबारी नगरपालिका ८ को ज्ञानोदय आधारभूत विद्यालयबाट रणपाल आधारभूत विद्यालय, केराबारी गाउँपालिका १० को गाउँपालिका कार्यालयबाट केयु एकेडेमी, कटहरी गाउँपालिका ३ को गाउँपालिका भवनबाट जनप्रिय मावि, कटहरी–७ को लक्ष्मी आधारभूत विद्यालयबाट वडा कार्यालय, धनपालथान २ को लंकेश्वर आधारभूत विद्यालय अमाहिवरियातीबाट स्थाथ्य चौकी ममाहिवरियाती, रतुवामाई–५ को उपस्वास्थ्य चौकी भवनबाट वडा नम्बर ५ को कार्यालय, बुढिगंगा गाउँपालिका २ को नयाँ हेल्थपोष्टबाट लिलाभक्त आधारभूत विद्यालय र विराटनगर महानगरपालिका ८ को सप्तकोशी बोर्डिङ स्कुलबाट  सुशिला निकुञ्ज आधारभूत विद्यालय हाटखोलामा सार्न सिफारिस गरिएको छ
मोरङमा ७ लाख ४३ हजार मतदाताले पाउने भए भोट हाल्न
देशभरमै सबैभन्दा बढी मतदाता रहेको  मोरङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सात लाख ४३ हजार ८८ मतदाता हुने भएका छन्  ।
मोरङमा स्थानीय तह निर्वाचनपछि साउन १९ गतेसम्म १८ वर्ष उमेर पुगेका २७ हजार २ सय २५ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा मोरङमा ७ लाख १५ हजार २ सय २३ मतदाता थिए ।