यस्ता रहेछन् सुन्दरहरैँचामा जनप्रतिनिधिले गरेका सय दिने उपलब्धि

  • २५ भाद्र २०७९, शनिबार

 सुन्दरहरैँचा नगरपालिकाले जनप्रतिनिधिहरु निर्वाचित भएपछि सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाका प्रबक्ता राेशन प्रसाद ढकालले शुक्रबार नगरपालिकामा १ सय दिनकाे काम सार्वजनिक गरेका हुन् ।
 नगरपालिकाले सार्वजनिक गरेका उपलब्धिहरु
१. पद बहालीकै दिन नगर प्रमुखको प्रस्तावमा घरनक्सा पास प्रक्रियासम्बन्धी सेवा प्रवाह वडा कार्यालयहरूबाट हुन थालेको छ । जसले गर्दा सेवाग्राहीले नगरपालिकासम्म लामो समयसम्म धाइरहनु पर्ने झन्झटिलो परिस्थितिको अन्त्य भएको ।
२. व्यवसाय दर्ता तथा नवीकरणको काम वडास्तरमै सम्पन्न हुने व्यवस्था लागू भएको । कागजात बोकेर नगरपालिकासम्म धाइरहनु पर्ने परिपाटीको अन्त्य भएको ।
३. घरबहाल करमा ८० प्रतिशत छुटको व्यवस्था गरी नागरिकलाई कर आतङ्कबाट मुक्त गराउने अभ्यास/प्रयासको थालनी भएको ।
४. मौलिक पहिचान झल्किने व्यवसाय दर्ता गर्दा कर छुटको व्यवस्था गरिएको । महिला, दलित,अपाङ्गता भएका व्यक्तिहरूले तिर्ने स्थायी प्रकृतिका करमा छुटको प्रबन्ध गरिएको ।
५. महिलाहरूलाई प्रसूतिका लागि अस्पतालसम्म जान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको ।
६. नीति तथा कार्यक्रम र योजना निर्माणमा नागरिकको सहभागिता र सरोकारवालाहरूसँग सर्वपक्षीय छलफल गर्ने परिपाटीको विकास भएको ।
७. नागरिकहरूसँग छलफल गरी समूहमा निर्णय गर्ने परिपाटी तथा सेवा प्रवाहमा पारदर्शिताको अभिवृद्धि भएको  । गोप्य कोठामा निर्णय गर्ने परिपाटी पूर्ण रूपले अन्य गर्दै मेयरको गोप्य प्रयोग समेत बन्द भएको ।
८. शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्रदेश नं. १ को शाखा सुन्दरहरैँचा नगरपालिकामा विस्तार गर्ने सम्बन्धमा समन्वय र पहल भएको ।
९. नागरिकका कामहरूमा सहजता कायम गर्न सबै वडा कार्यालयहरूमा फोटोकपी सेवा तथा विभिन्न निवेदनका ढाँचाहरू निः शुल्क रूपमा वितरण शुरु गरिएको ।
१०. १० लाख रुपैयाँसम्मका योजनाहरूको सम्झौता सम्बन्धित वडा कार्यालयहरूबाटै हुने कार्यको सुरुवात गरिएको ।
११. नगरमा बढ्दो जनसङ्ख्या र नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै  एम्बुलेन्स पूर्वाञ्चाल विश्वविद्यालय शिक्षण अस्पताल र वडा नं. ३ स्थित स्वास्थ्य चौकी दुलारीलाई एक एकवटा एम्बुलेन्स हस्तान्तरण गरिएको ।
१२. जनशक्ति व्यवस्थापन सहित प्राथमिक स्वास्थ्य केन्द्र हरैँचालाई नगर अस्पतालको रूपमा सञ्चालन गर्ने लागि व्यवस्था गरिएको ।
१३. खोला कटान तथा नियन्त्रण गर्ने ध्येयका साथ (आई.ई.ई.) गरिसकिएको । आसपासका पालिकाहरू बेलबारी, कानेपोखरी र ग्रामथानसँग समेत सहकार्य गरी खोलामा स्काभेटर, जेसिबी र ट्रिपर प्रयोग नगर्ने र ट्र्याक्टर र बेल्चा प्रयोग गरी श्रमजन्य प्रक्रियाबाट मात्र खोलाजन्य पदार्थ निकाल्ने निर्णय कार्यान्वयनको चरणमा रहेको ।
१४. भू-उपयोग ऐन, २०७६ बमोजिम स्थानीय भू-उपयोग परिषद गठन गरी भू-उपयोग योजना तर्जुमा निर्माणको कार्य भइरहेको ।
१५. सुन्दरहरैँचा नगरपालिकामा रहेको राष्ट्रिय भूमि आयोगको स्थानीय सेवा केन्द्र मार्फत १२ वटै वडाबाट सङ्कलित भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको सम्पूर्ण विवरण कम्प्युटर प्रणालीमा इन्ट्री भएको । डि.जी.पि.एस्. प्रविधिद्वारा जग्गाको नापजाँच तथा नियन्त्रण विन्दुहरू राखी राष्ट्रिय प्रणालीमा जोड्ने कार्य भइरहेको । विगतका आयोगहरूले वितरण गरेका जग्गामा रहेका विविध समस्या समाधानका लागि वडा नं. ५ भित्रका ६ वटा जग्गाहरूको धनीपूर्जा वितरणको कार्य अन्तिम चरणमा रहेको ।
१६. नगर क्षेत्रभित्र न्याय सम्पादनलाई अझ प्रभावकारी र जनमुखी बनाई निष्पक्ष रूपमा न्याय प्रदान गर्ने ध्येयका साथ न्यायिक समिति मार्फत न्याय सम्पादनका कार्य भएको । जसमा अशक्त र अपाङ्ग परिवारभित्र भएको विवादलाई निरुपण गर्नका लागि न्यायिक समितिका पदाधिकारीहरू निजहरूकै घरमा गई छलफल गराई मेलमिलापको माध्यमद्वारा विवाद समाधानका कार्यहरूको थालनी भएको ।