सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

  • ३० भाद्र २०७९, बिहीबार

सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

अस्पताल सञ्चालक डा. सुनिल शर्माको योजना अनरुप ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गर्दै सुन्दरहरैंचा नगरपालिका वडा नं.१० स्थित सुकुम्वासी बस्ती, सुन्दरहरैंचा वडा नं. १२ र कानेपोखरी वडा नं.७ मा शिविर सञ्चालन गरिएको हो ।
सुन्दरहरैंचा १० स्थित सुकुम्वासी बस्तीमा गरिएको शिविरमा ५ सय ४४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे नेतृत्वको टोलीले विरामीको परीक्षण गरेको शिविरमा १ सय २२ जनाको इसीजी, १ सय ५४ जनाको रक्त परीक्षण र १ सय ९२ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएका १७ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार हुन नसकेका ४४ जनालाई थप उपचारका लागि नोबेल अस्पताल रेफर गरिएको छ ।

त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै सुन्दरहरैंचा–१२ मा शिविर सञ्चालन गरिएको छ । नोबेलका मुटु रोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले शिविरमा १ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा १ सय २ जनाको मुटुको जाँच इको गरिएको छ भने ४९ जनालाई अस्पताल रेफर गरिएको छ ।
यता, नोबेलका स्त्री रोग बिशेषज्ञ डा. मुन्जल यादव नेतृत्वको टोलीले कानेपोखरी ७ मा ३ सय ४४ विरामीको स्वास्थ्य परीक्षण गरेको छ ।
शिविरमा १ सय ३४ जनाको इसीजी, १ सय ७२ जनाको रक्त परीक्षण, १ सय ७५ जनाको भिडियो एक्सरे गरिएको छ । त्यहाँ पनि २१ जनाको दाँत खोलिएको छ, ३७ जनालाई थप उपचारका लागि अस्पताल रेफर गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
कांग्रेस नेता समेत रहेका नोबेल अस्पताल सञ्चालक डा. शर्मा मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट उम्मेद्वार बनेका छन् । अघिल्लो चुनावमा पराजित भएर पनि शर्मा सो क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहेका छन् । उनले नोबेल अस्पताल मार्फत मोरङ क्षेत्र नम्बर ३ का विभिन्न ठाउँमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् ।