सुन्दरहरैंचा र बेलवारीका ६ स्थानमा नोबेलको शिविर, दुई हजारभन्दा बढी स्वास्थ्य परीक्षण

  • १ आश्विन २०७९, शनिबार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहीबार र शुक्रवार मोरङको सुन्दरहरैंचा र बेलवारीका ६ स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी  विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले बिपन्न विरामीलाई लक्षित गर्दै शुक्रबार  बेलवारी नगरपालिका वडा नम्बर ८, ९ र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा शिविर सञ्चालन गराएका छन् ।

तीन वटा शिविरबाट ८ सय ९३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार बेलवारी–८ मा सञ्चालित शिविरमा ८७ जनाको इसीजी, १ सय ३ जनाको रक्त परीक्षण, ९९ जनाको भिडियो एक्सरे र १३ जनाको दाँत उखेलिएको छ ।

नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा. रामहरी घिमिरे र स्त्री रोग सम्बन्धि डा.प्रतिमा काफ्लेसहितको टोलीले शिविरमा ३२४ विरामीको स्वास्थ्य परीक्षण गरेको छ ।

त्यस्तै, बेलबारी नगरपालिका–९ स्थित डाँगीहाटमा पनि शिविर सञ्चालन गरिएको छ । नोबेलका मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले ११३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा आएका ८९ जनाको मुटुको जाँच ईको गरिएको छ ।

यता, सुन्दरहरैंचा वडा नम्बर ४ मा सञ्चालित शिविरमा ४५६ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १११ जनाको इसीजी, १०७ जनाको रक्त परीक्षण र १३७ जनाको भिडियो एक्सरे गरिएको छ भने दाँतमा समस्या भएर आएका १७ जनाको दाँत फुकालिएको छ । शिविरमा नोबेलका स्त्री रोग विशेषज्ञ प्रा.डा.सीता घिमिरे नेतृत्वको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो ।

तीन वटै शिविरबाट थप उपचारका लागि १२२ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । रेफर भएका विरामीहरुलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्र्याउने व्यवस्था मिलाइदिएका छन् ।

त्यसैगरी नोबेल अस्पताल मार्फत सुन्दरहरैंचा वडा नंम्बर १०, १२ र बेलबारी–१० भाउन्नेमा बिहीबार शिविर सञ्चालन भएको छ ।

तीन वटा शिविरबाट एक हजार ५३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालले जनाएको छ । सुन्दरहरैंचा–१२ मा आयोजित शिविरमा ९५ जनाको इसीजी, १ सय्व५ जनाको रक्त परीक्षण, ९७ जनाको भिडियो एक्सरे र ११ जनाको दाँत खोलिएको छ । नोबेलका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा. डा. रामहरी घिमिरे र स्त्री रोग विशेषज्ञ प्रा. डा. शान्ति सुवेदीसहित डाक्टरहरुको टोलीले शिविरमा आएका ४ सय ५३ विरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर बेलबारी नगरपालिका वडा नंम्बर १० स्थित भाउन्नेमा शिविर सञ्चालन गरिएको छ ।

शिविरमा २ सय ५३ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ६१ जनाको इसीजी, ८५ जनाको रक्त परीक्षण र १ सय ७ जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै दाँतमा समस्या भएका २३ जनाको दाँत फुकालिएको छ । नोबेलका मुटुरोग बिशेषज्ञ प्रा. डा. राजेश नेपाल र स्त्री रोग विशेषज्ञ डा. प्रतिमा काफ्ले नेतृत्वको डाक्टरहरुको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो ।

यता, बालबालिकालाई लक्षित गरी सुन्दरहरैंचा–१० स्थित मदर किन्डर गार्डेन बोर्डिङ स्कुलमा पनि शिविर सञ्चालन गरिएको छ ।

शिविरमा ३ सय ४७ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । तीन वटै शिविरबाट थप उपचारका लागि १ सय २४ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । रेफर भएका विरामीहरुलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्र्याउने व्यवस्था मिलाइदिएका छन् ।

बेलवारी घर भएका डा. शर्माले आफ्नो चुनावी क्षेत्रसमेत रहेको क्षेत्र नं. ३ मा बर्षौ अघिदेखि नोबेल मार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् । डा.शर्मालाई अहिले नेपाली कांग्रेसले सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।