सिंहदेवी सामुदायिक वनको चुनावबाट सर्वपक्षीय समिति, अध्यक्षमा चुनिए भिम

  • २ आश्विन २०७९, आईतवार

सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह केराबारी ९ देवीझोडा, मोरङको १७ औं साधारणसभाले भीमबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

असोज १ गते अर्थात शनिबार भएको   साधारणसभाले नयाँ समिति बनेको हो । कांग्रेस माओवादीसहितको गठबन्धन पक्षधर र एमाले पक्षधरको प्रतिस्पर्धाबाट निर्वाचित समितिमा एमाले पक्षको बाहुल्यता छ । जम्मा ३ सय ८५ मतदाता रहेको वनको निर्वाचनमा ३ सय ५६ मत खसेको थियो । जसमा १० मत बदर भएको थियो भने ३ सय ४६ मत सदर भएको थियो ।

समितिमा अध्यक्षका लागि भीमबहादुर कार्की र नरबहादुर मगरबिच चुनावी प्रतिस्पर्धा भएकोमा कार्की २ सय १४ मत ल्याएर बिजयी भएका छन् । त्यसैगरी उपाध्यक्षमा दिपा बास्तोला, सचिवमा ज्ञानु बास्कोटा, सह सचिवमा दिल केसी र कोषाध्यक्षमा मनिषा सुवेदी बिजयी भएका छन् । उपाध्यक्ष र सचिव एमाले पक्षबाट उम्मेदवार भए पनि सचिव बास्कोटा कांग्रेस समर्थक हुन् । सहसचिव र कोषाध्यक्ष भने गठबन्धनबाट उम्मेदवार भएका थिए ।

उपाध्यक्षका लागि दिपा वास्तोला र मञ्जु लामिछाने, सचिवका लागि योगेन्द्रप्रसाद चौलागाई र गोविन्दप्रसाद (ज्ञानु) बास्कोटा, सह सचिवका लागि दिलबहादुर कार्की र अजित कुवर तथा कोषाध्यक्षका लागि कृष्णा (सीता) बराल) र मनिषा सुवेदीले  प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरी महिला सदस्यहरुमा भावना तिम्सिना वास्तोला, सजिना (गीता) वास्तोला, फुलकुमारी पण्डित राई, पवित्रा बास्तोला चौलागाई र देऊकुमारी खड्का बिजयी भएका छन् । उनीहरू मध्ये तीन एमाले र एक गठबन्धन पक्षधर हुन् ।

त्यस्तै खुला सदस्यका लागि जगदिश शर्मा, धिरेन्द्रबहादुर कार्की र देवकुमार लिम्बु बिजयी भएका छन् । दलित महिला सदस्यमा कमला सिवा र दलित सदस्यमा सार्के रसाइली निर्विरोध निर्वाचित भएका थिए ।

लेखा संयोजकका लागि विनोदप्रसाद सुवेदी र चिरञ्जीवी खड्काबिच चुनावी प्रतिस्पर्धा भएकोमा सुवेदी बिजयी भएका छन् । लेखा समितिका दुई सदस्यमा भरतराज कार्की र टेकबहादुर (राजेन्द्र) दास बिजयी भएका छन् । लेखा सदस्य कार्की गठबन्धन पक्षधर र अरु एमाले पक्षधर हुन् ।
चुनावअघि शनिबार नै उम्मेदवार र निर्वाचन समितिको बैठक बसी मतदाता स्वयंले मतदान गर्न नसक्ने भएमा इच्छाइएको ब्यक्ति सहयोगी लान पाउने निर्णय गरिएको थियो । हकवाला हुँदाहुँदै पनि मतदानस्थलसम्म ल्याएर वा प्रभावमा पारेर दल निकट ब्यक्तिहरुले सहयोगी बन्दै भोट हालिदिने गरेपछि सामान्य विवाद समेत भएको थियो । तर त्यो प्रवृत्ति दिनभर रोकिएन । उम्मेदवारी दर्ताको दिन निकै विवाद भएको कारण मतदान शुरु नहुँदै प्रहरी बोलाइएको थियो । तापनि चुनाव र मतगणनाका क्रममा खासै ठूलो विवाद भएन ।
त्यसो त केराबारी ९ कै देवीझोडा सामुदायिक वनमा पनि गत हप्ता त्यस्तै रोचक चुनावी प्रतिस्पर्धा भएको थियो । नेतृत्वमा लागि माओवादी पक्षधर दुई उम्मेदवार मध्ये गोबिन्द बस्नेत बिजयी बनेका थिए ।
उपभोक्ताहरु चुनावमा ब्यस्त, सिमित  मान्छे मात्रै साधारणसभामा अभ्यस्त

शनिबार सामुदायिक वनको भवन बाहिर चुनावी माहोल थियो । अधिकांश उपभोक्ताहरु चुनावमै ब्यस्त थिए । तर हलभित्र भने प्रतिवेदनहरु पेस गर्ने र पारित गर्ने प्रक्रियासहित साधारणसभाको औपचारिक कार्यक्रम चलिरहेको थियो ।

हलभित्र सिमित मानिसहरू उपस्थित भएपनि न बाहिर माइकिङ गरेर उपभोक्ताहरुलाइ बोलाइएको  थियो, न त हल बाहिर भएका उपभोक्ताहरुलाइ प्रतिवेदन नै बाँडिएको थियो । साधारणसभाको माइन्युट नलेखी खाली कागजमा सही गराएर २ सय रुपैयाँ थमाइएको भरमा साधारणसभालाइ बैध्यता दिने काम भएको थियो । साधारणसभालाइ कर्मकाण्डी बनाइएको र भत्ता पनि कम दिइएको भन्दै केही उपभोक्ताले बिरोध पनि गरेका थिए ।

सामुदायिक वनका निवर्तमान अध्यक्ष लालबहादुर कार्कीले सामुदायिक वन घाटामा रहेकोे र साधारणसभाको खर्च घटाउन साधारणसभा र चुनाव एकैसाथ गरिएको दाबी गरे । उनले निर्वाचन आयोगले पनि एकैसाथ चुनाव र साधारणसभाको कार्यक्रम गर्न सुझाव दिएकोले त्यसो गरिएको जिकिर गरे ।