झन्डै अढाई करोडमा बन्यो इप्रका बेलबारीको भवन, बनिसकेको डेढ बर्षपछि उद्घाटन

  • १२ आश्विन २०७९, बुधबार

इलाका प्रहरी कार्यालय बेलबारी मोरङको नवनिर्मित भवन उद्घाटन भएको छ ।

निर्माण सम्पन्न भएको एक बर्षपछि असोज ११ गते प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले भवन उद्घाटन गरेका हुन् । प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राइ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मीहरुको उपस्थितिमा एक कार्यक्रम गरी भवन उद्घाटन भएको हो ।

ईलाका प्रहरी कार्यालयको लागि बेलबारी १ मा बेलबारी नगरपालिकाले ६ कठ्ठा नम्बरी सहित १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो । जग्गा प्राप्त भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोग तथा शहरी बिकास तथा भवन निर्माण कार्यालय मोरङको प्राविधिक सहयोगमा भवन निर्माण प्रक्रिया शुरु भएको थियो । २ करोड ९३ लाख ५३ हजार रुपैयाँको लागत इष्टिमेट गरिएकोमा प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भवन निर्माणका लागि बजेट बिनियोजन गरेको थियो ।
काठमाडौ बत्तीसपुतली स्थित ह्याबिट्याट कन्स्ट्रक्सन इन्जिनियरिङ प्रालिले भवन निर्माणको ठेक्का पाएको थियो ।

कुल २ करोड ३० लाख ९० हजार ५ सय ५७ रुपैयाँ २९ पैसामा सो कम्पनीले ठेक्का सम्झौता गरेको भए पनि भवन निर्माणमा २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैयाँ २५ पैसा खर्च भएको प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । सम्झौतामा उल्लेखित कतिपय कामहरू पुरा हुन नसकेकोले ठेकेदार कम्पनीले पुरा भुक्तानी नपाएको मन्त्रालयले जनाएको छ ।

२०७८ बैशाख २८ गते निर्माण सम्पन्न भएको अढाई तले भवनमा १० कोठाहरु छन् । इलाका प्रहरी कार्यालयको नयाँ भवन महेन्द्र राजमार्गबाट करिब ५ सय मिटर उत्तरमा अबस्थित छ ।

भवन निर्माण सम्पन्न भएपछि ईलाका प्रहरी कार्यालय २०७८ पौषमा बेलबारी ३ मा रहेकोे पुरानो स्थानबाट बेलबारी १ मा निर्मित नयाँ भवनमा सरेको थियो । इप्रका नयाँ भवनमा सरेपछि राजमार्ग किनारमै रहेको पुरानो इलाका प्रहरी कार्यालय भने हाल प्रयोगबिहिन जस्तै बनेको छ ।