गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै केराबारी गाउँपालिका
- ४ कार्तिक २०७९, शुक्रबार
अशक्त र जेष्ठ नागरिकहरुलाई गाउँ घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने चुनावअघिको प्रतिबद्धतालाइ कार्यान्वयन गर्दै केराबारी गाउँपालिकाले गाउँ टोलमै सामाजिक सुरक्षा भत्ता वितरणको अभियान शुरु गरेको छ ।
अशक्त र वृद्धवृद्धाहरुले सामाजिक सुरक्षा भत्ता लिन बैंक धाएर दिनभर लाइनमा बसेर भिडभाडमा अनावश्यक दुःख खेप्नु नपरोस् र रित्तै फर्कनु नपरोस् भनेर पालिकाले बैंकका प्रतिनीधिहरुको समन्वय र उपस्थितीमा पहिलो पटक गाउँ घरमै भत्ता बितरण सुरु गरेको हो ।
गाउँपालिकाले केराबारी वडा नं.१ पाटीबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको पालिकाले बुधबार वडा नं.४ याङशिलामा र विहिबार वडा नं. ९ मा सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ ।
केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ मगरले विहीवार केराबारी ९ की जेष्ठ नागरिक वेचनी थारुलाई वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता रकम बितरण गर्दै सामाजिक सुरक्षा भत्ता बितरण शुरु गरेका थिए । त्यसपछि वडाध्यक्ष गोपाल याक्खा लगायतले भत्ता बितरण गरे ।
आवश्यक सुरक्षा प्रबन्धसहित गाउँपालिकाले वडा कार्यालयबाट भत्ता वितरण सुरु गरेसंगै असक्त र जेष्ठ नागरिकहरु खुशी भएका छन्
एनएमबी बैंक , एनआईसी बैंक र सप्कोशी बैंकको सहकार्यमा पालिकाले विगतमा बैंकको कार्यालयबाट भत्ता वितरण गर्दै आएको थियो । बैंकमा हुने भिडभाडका कारण जेष्ठनागरिकहरुले सास्ती खेप्नुपर्ने भएकाले पालिकाले जेष्ठनागरिकहरुलाई लक्षित गरी विशेष कार्यक्रम बनाई वडास्तरबाट पाउने गरी सबै वडाको व्यवस्था मिलाउने तयारी भइरहेको पालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले बताए ।
जेष्ठ नागरिक र दीर्घरोगीहरुलाई नि:शुल्क औषधी र यातायातको व्यवस्था हुने
यसैविच गाउँपालिका अध्यक्ष सुमन मगरले चाडै नै जेष्ठ नागरिकलाई निशुल्क औषधी वितरण तयारी गरेको छ ।
वडा नं.९ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्न वडाध्यक्ष वडा सदस्य बैंकका प्रतिनीधि सहित पुगेको टोलीलाई सम्बोधन गर्दै पालिका अध्यक्ष मगरले सो जानकारी दिएका हुन् । जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम ल्याउने तयारी गरीरहेको बताउदै मगरले नि:शुल्क रुपमा खादै आएका औषधीहरु घरमा पाउने गरी स्वास्थ्य संस्था मार्फत आवश्यक तयारी भइरहेको बताए ।