किसानको गुन्द्रुक किनेर गुन्द्रुक उत्पादनलाई प्रबर्द्धन गर्दै कानेपोखरी गाउँपालिका

  • १३ माघ २०७९, शुक्रबार

मोरङको कानेपोखरी गाउँपालिकाले चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गरेर गुन्द्रुक उत्पादनलाई प्रबर्द्धन एवम् ब्राण्डिङ अभियान सञ्चालन गरेको छ ।

पाइलट प्रोजेक्टको रुपमा गुन्द्रुक उत्पादन अभियानलाई अगाडि बढाएको गाउँपालिकाले आत्मनिर्भर बनाउने मात्रै होइन, पालिका बाहिर पनि निर्यात गर्ने लक्ष्य लिएको छ । पुस्तौं पुस्तादेखि घरघरमै गुन्द्रुक उत्पादन हुँदै आइरहेकोमा त्यसलाई व्यवसायीक उत्पादनमा जोडिने पालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।

खासगरी तोरीको गुन्द्रुक उत्पादनलाई अन्तरपुस्ता सीप हस्तान्तरणमा समावेश गरी लघु उद्यमको रुपमा विकास र विस्तार गरिने र यसका लागि बेमौसममा समेत करेसाबारीमा तोरी खेती गर्न प्रोत्साहन गर्दै वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारका सदस्यलाई समूहमा आबद्ध गरी ‘आमाको सीप सन्तानलाई, अर्गानिक गुन्द्रुक मोरङलाई’ नामक कार्यक्रम संचालनमा ल्याइने गाउँपालिकाको निति कार्यक्रममा उल्लेख छ ।

पालिकाले गुन्द्रुक प्रबर्द्धन कार्यक्रमका लागि ७ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको छ । ८ विगाहा ८ कठ्ठा जग्गामा गुन्द्रुक उत्पादनको प्रयोजनका लागि तोरी लगाइएको पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले बताए ।

गाउँपालिकाका अनुसार यो कार्यक्रमबाट किसानहरु समेत उत्साहित भएका छन् ।  पालिका आफैंले गुन्द्रुक खरिद गरिदिने भएपछि गुन्द्रुकको अहिलेको बजार भाउ प्रती केजी ७ सयदेखि साढे ७ सयसम्म रहेको वडाध्यक्ष बुढाथोकीले बताए  ।