बेलबारीमा स्थापना हुनेभो प्रदेश १ स्तरीय प्रादेशिक प्रहरी अस्पताल

  • १६ माघ २०७९, सोमबार

मोरङ बेलबारीमा रहेको पुरानो इलाका प्रहरी कार्यालयमा प्रादेशिक प्रहरी अस्पताल संचालन हुने भएकाे छ ।

बेलबारी नगरपालिका ३, पश्चिम बस स्टेण्ड नजिकै रहेको पुरानो इलाका प्रहरी कार्यालयमा अस्पताल संचालन हुने भएको हो ।
नेपाल प्रहरी अस्पताल र प्रहरी कल्याण महाशाखासहित नेपाल प्रहरी अस्पतालकी निर्देशक एआइजी डा. आशा सिंहको नेतृत्वमा रहेको टिमले आइतबार बेलबारी नगरपालिकासँग अस्पताल संचालनको बिषयमा छलफल गरेको छ ।

नगरपालिकासंगको छलफलमा नगरप्रमुख दिल प्रसाद राई, उपप्रमुख नीतु थापा काेइराला, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, लेखा प्रमुख धनमाया राई लगायत केही वडाध्यक्षहरुको उपस्थिति थियाे ।

प्रहरीको टोलीमा नेपाल प्रहरी अस्पतालकी निर्देशक डा. आशा सिंह, प्रहरी कल्याण महाशाखाका एएसपी केदार ढकाल, नेपाल प्रहरी अस्पतालकी छालारोग विशेषज्ञ (एसपी) डा. रन्जिता घिमिरे,केन्द्रिय प्रहरी अस्पतालमा कार्यरत एसपी रामेश्वर अधिकारी, प्रदेश १ प्रहरीको भौतिक पुर्वाधार शाखामा कार्यरत इन्जिनियर (प्रहरी निरीक्षक) दिपक केसी लगायत सहभागी थिए ।
भविष्यमा ट्रमा सेन्टरसहित सुविधासम्पन्न ५० देखि १ सय बेडको अस्पताल चलाउने लक्ष्यसहित नेपाल प्रहरीले स्थापना गर्न लागेको अस्पताल फागुन १ गतेदेखि संचालन गर्ने तयारी भैरहेको र १५ जनाको दरबन्दी समेत स्वीकृत भइ सकेको प्रहरी कल्याण महाशाखाका एसएसपी केदार ढकालले जानकारी दिए । सो टोलीले पुरानो ईलाका प्रहरी कार्यालय परिसरको अबलोकन समेत गरेको छ ।

अस्पतालमा तत्कालका लागि भने ल्याब, एक्सरे तथा इमर्जेन्सी सेवा संचालन हुनेछ । अस्पताल मा कार्यरत नेपाल प्रहरी र तिनका परिवारले निशुल्क र पुर्व प्रहरी तथा सर्वसाधारणले सस्तो शुल्कमा उपचार सेवा पाउनेछन् ।

प्रादेशिक प्रहरी अस्पतालका लागि भविष्यमा पुरानो ईलाका प्रहरी परिसर अपर्याप्त हुनसक्ने भएकोले पुर्व पश्चिम राजमार्ग आसपास २ देखि ५ बिघा जग्गा आवश्यक पर्ने भएकोले जग्गाको ब्यबस्थापनमा सहयोग गर्न नेपाल प्रहरी अस्पतालको टोलीले बेलबारी नगरपालिकासँग आग्रह गरेको छ ।