पुर्वमा पनि शुरुभो लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम ‘जुनेली’

  • १८ बैशाख २०८०, सोमबार

  संस्कृति, कला र लोक एवम् दोहोरी गीत संगीतको जगेर्ना एवम् प्रबर्धन गर्ने मुल उद्देश्यसहित पुर्वी नेपालबाट लाइभ लोक दोहोरीमा आधारित कार्यक्रम ‘जुनेली’ शुरु भएको छ ।

“कुना काप्चा कन्दरामा बेली चमेली, लोक संस्कृति जगाउँदै आयो जुनेली” भन्ने नारासहित संयन्त्र मिडियाको आयोजनामा कार्यक्रम ‘जुनेली’ शुरु भएको हो । मोरङ बेलबारी २ मा अबस्थित रमिते सामुदायिक वनको हलमा सोमबार कार्यक्रम जुनेलीको उद्घाटन भयो । बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रमको अध्यक्षता अम्बिका भण्डारीले गरेका थिए । कार्यक्रममा  अरुण उपत्यका साँस्कृतिक समुहका अध्यक्ष हरि बहादुर खत्री र मोरङका पुराना लोक तथा दोहोरी गायक श्याम गौतमको विशेष आतिथ्यता थियो । सुजन ल्ल्ललअधिकारीले संचालन गरेको कार्यक्रममा कुलप्रसाद बरालले स्वागत मन्तव्य दिएका थिए ।

उद्घाटन कार्यक्रममा चर्चित लोक दोहोरी गायक राजन क्षेत्री, गायिकाहरु गंगा गौतम  कमला भट्टराई एवम्  गायकहरु शिवजी क्षेत्री, राजु कँडेल, खगेन्द्र ठकुरी, तेज बहादुर श्रेष्ठ तथा गायिकाहरु शान्ता दाहाल (तिम्सिना), राधिका भोजपुरे, दुर्गा रुपाखेती लगायत को उपस्थिति थियो । कार्यक्रममा सहभागी गायक गायिकाहरुले विभिन्न भाकाका दोहोरी गीत प्रस्तुत गरेका थिए । उद्घाटन भएसँगै लोक दोहोरी कार्यक्रम जुनेली मा प्रस्तुत गरिने केही गीतहरूको छायांकन समेत भएको छ ।

छायांकन गरिएका दोहोरी चाँडै जुनेली दोहोरी अफिसियल, संयन्त्र मिडिया, रेडियो बेतना, रेडियो सूसेलीबाट प्रसारण हुने संयन्त्र मिडियाका म्यानेजर सुजन आधिकारीले बताए ।

कार्यक्रममा बागदेवी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामचन्द्र भट्टराई, लालिगुराँस सहकारीका अध्यक्ष दुर्गा गौतम, समाजसेवी भोला गौतम लगायत संचारकर्मी एवम्  हलभरी दर्शकहरुको उपस्थिति थियो ।

कार्यक्रमकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाले  लोक गीत, संगीत र संस्कृति संरक्षण एवम् जगेर्ना मा जुनेली पुर्वकै नमूना हुनसक्न्ने बताइन् । उनले आगामी दिनमा जुनेली का लागि स्थानीय सरकारले सहयोग गर्ने बताइन् ।

कार्यक्रमका अध्यक्ष तथा  संयन्त्र मिडियाका सम्पादक अम्बिका भण्डारीले पश्चिमी क्षेत्रको तुलनामा पूर्वी नेपाल लोक दोहोरी मा मात्रै नभएर लोक संस्कृतिमा पनि पछि परेजस्तो देखिएकोले लोक भाकाहरुको प्रबर्द्धन गर्दै कुना काप्चामा लुकेर रहेका  प्रतिभाहरुको क्षमता बिकास र प्रबर्द्धनका लागि ‘जुनेली’ शुरु गरिएको बताए । कार्यक्रम जुनेली लोक दोहोरीमा आधारित भए पनि यसमार्फत परम्परागत र लोपोन्मुख भाकाहरु शिलोक, बालन, हुर्रा आदि का दोहोरी समेत आयोजना गरी लोक संस्कृति संरक्षण र प्रबर्द्धन गर्ने लक्ष्य रहेको भण्डारीले बताए । साथै कार्यक्रमबाट प्राप्त आम्दानीको निश्चित प्रतिशत रकम असहाय ब्यक्ति वा संघ संस्थालाई सहयोग गरिने उनले जानकारी दिए । दोहोरीमा आधारित कार्यक्रम जुनेली उद्घाटन भएसँगै विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुले सहयोग गर्न थालेका छन् ।