वैदेशिक रोजगारीका समस्या हल गर्न धनकुटामा खुल्यो आप्रवासी श्रोत केन्द्र

  • २ असार २०८०, शनिबार

वैदेशिक रोजगारीका लागि सहजीकरण तथा त्यसबाट उत्पन्न हुने समस्या समाधान गर्न सहयोग गर्ने उद्देश्यले धनकुटामा संचालन हुँदै आएको आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले आफुले संंचालन गर्दै आएको धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो ।

सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि समृद्धि आयोजनाले केही बर्षयता जिल्ला प्रशासन कार्यालय धनकुटा र इलाका प्रशासन कार्यालय राजारानीमा यो केन्द्र तथा सूचना कक्ष सञ्चालन गरिरहेको थियो ।

सम्बन्धित पालिकासँगको साझेदारीमा सञ्चालन भइरहेको यो केन्द्र तथा सूचना कक्ष अब समृद्धिले छोडेर पालिकाकै पूर्ण स्वामित्वमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको हो । आप्रवासी सूचना केन्द्र तथा कक्ष मार्फत स्वदेशमा हुने रोजगारी वा स्वरोजगारी एवम्  वैदेशिक रोजगारीका लागि आवश्यक सूचना उपलब्ध गराउने, बिदेश जाने क्रममा वा गएपछि ठगिएका, अलपत्र वा अपाङ् भएकाहरुको उद्वार तथा क्षतिपूर्तिको लागि सहजीकरण गर्नेछ ।

कार्यक्रममा समृद्धि आयोजनाका प्रमुख सरोज प्रसाद गुरागाईँले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र चौबिसे गाउँपालिकाका उपाध्यक्ष टंकमाया पाङ्गमी मगरलाई आप्रवासी स्रोत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण पत्र र हस्तान्तरण विवरण पुस्तिका प्रदान गरे ।

कार्यक्रममा केन्द्र तथा सूचना कक्षका लागि आवश्यक प्रोजेक्टरसहितका सामग्री पनि धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी र चौबिसे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाललाई हस्तान्तरण गरियो । उत्कृष्ट कार्यसम्पादन गरेबापत आप्रवासी स्रोत केन्द्र धनकुटाका सूचना अधिकृत मञ्जु राई, परामर्शकर्ता ओमकुमारी ढुंगाना ‘सुशिला’ र आप्रवासी सूचना कक्ष राजारानीका सूचना सहायक सुरेन्द्र लिम्बुलाई कार्यक्रममा प्रशंसा पत्र प्रदान गरी सम्मानित गरिएको छ ।

कार्यक्रममा धनकुटाका नगर प्रमुख तामाङले वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा युवाहरू विदेश जाने गरेकाले उनीहरूलाई समस्यारहित रोजगारीको वातावरण निर्माण गर्न आप्रवासी स्रोत केन्द्रले भूमिका निर्वाह गर्ने बताए । युवायुवतीलाई भरसक स्वदेशमै रोजगारीको व्यवस्था गर्ने तथा स्वरोजगार बन्न प्रोत्साहन गर्ने काम भइरहेको भन्दै नगर प्रमुख तामाङले विदेश नै जान चाहनेलाई पनि सहयोग पुर्याउन आप्रवासी केन्द्रलाई नगरपालिका मातहत ल्याइएको धारणा राखे ।