केराबारी वडा नम्बर ९ लाई टुक्र्याएर दुइवटा वडा बनाउने प्रस्ताव

  • २७ असार २०८०, बुधबार

मोरङ केराबारीको वडा नम्बर ९ लाई २ वटा बनाउँदै गाउँपालिकामा ११ वटा बनाउन प्रस्ताव गरिएको छ ।

केराबारी गाउँपालिका वडा नं. ९ लाई विभाजन गरि ११ वटा वडा बनाउन दोस्रोपटक प्रस्ताव गरिएको हो । लोहोन्द्रा पश्चिमको देविझोडा र कुसुमे खण्डलाई ११ नम्वर वडा बनाउने प्रस्ताव सर्वपक्षीय बैठकबाट पारित भएको छ । मंगलवार केराबारी ९ वडा कार्यालयले आह्वान गरेको सर्वपक्षीय बैठकमा सो प्रस्ताव पारित गरिएको हो । प्रस्ताव अनुसार लोहोन्द्रा पुर्वमा रहेको भलुवा घंगरु क्षेत्रलाई ९ नम्वर नै कायम गरिने छ ।

पूर्ववडाध्यक्ष भुपतिन्द्र प्रताप मल्लकै कार्यकालमा सो निर्णय भएता पनि पुन निर्णय गर्न पालिकाबाट परिपत्र भएको कारण केन्द्र र सिमा छुट्टाएर पठाईने वडाध्यक्ष गोपाल याक्खाले जानकारी दिए ।

लोहोन्द्रा खोलाको वारी र पारी रहेको वडामा दैनिक प्रसासनिक कार्य र विकासका योजना कार्यान्वयन गर्न असहज भएको कारण वडालाई विभाजन गर्न प्रस्ताव गरिएको वडा सदस्य गोविन्द शाहीले बताए ।

बि. सं २०८० वैसाख ९ गते सम्मको अभिलेख अनुशार केराबारी ९ मा ४ हजार ४९ जना मतदाता रहेका छन् । जसम्ध्ये खोला पुर्व अर्थात भलुवा, घँघरु र बेलचौरी क्षेत्रमा कुल मतदाताको ६० प्रतिशत र देविझोडा कुसुमे खण्डमा  ४० प्रतिशत मतदाता छन् ।