नोबेलमा इण्डोस्कोपबाट पित्तको पथरिया निकाल्ने प्रविधि ‘इआरसीपी’, पूर्वका विरामीले टाढा जानु पर्दैन अब
- २७ पुष २०८०, शुक्रबार
प्रौढ उमेर दमको समस्या त्यसमाथि फोक्सो सुन्निएको र पित्त नली ढुंगाले भरिएर दुखाईयुक्त जण्डिस भएको अवस्थामा उहाँको पित्त नलीको ढुंगा निकाल्न चुनौति पूर्ण थियो । ढुंगाहरु धेरै भएकोले पनि एकै पटकमा सवै ढुंगा निकाल्न गाह्रो थियो । करिव ५० वटा जति ६ देखि १० एम एम को ढुंगाहरु एकै प्रयासमा निकाल्न सफल भयौं डा. मोहन खड्काले भने । विरामीको अवस्था अहिने सामान्य रहेको र डिस्चार्ज हुने क्रममा रहेको छ ।
पित्त नलीमा ढुंगा हुँदा के हुन्छ ?
डा. मोहन खड्का अनुसार पित्त नलीमा ढुंगा भएको अवस्थामा माथिल्लो पेट अथवा दाहिने कोखाको तल धेरै दुख्ने, उल्टी हुने, जण्डीस हुन सक्ने हुन्छ । यदी ढुंगा नलीमा नै अड्केर बस्यो भने त्यहाँ संक्रमण हुन सक्ने र संक्रमण बढदै गएमा शरिरको अन्य भागमा समेत संक्रमण सरेर एक भन्दा बढी अंगहरु विग्रने (मल्टीपल अर्गन फेलियर) हुन सक्छ । त्यस्तै पित्त नली र प्याङ्क्रियाजको नलीको अन्तिम मुहान एउटै हुने र त्यहाँ गएर ढुंगा अड्किएमा प्याङ्क्रियाजको संक्रमण भई प्याङ्क्रियाटाइटिस हुन्छ ।
के हो त इआरसीपी प्रविधि ?
पित्त नलीको ढुंगा निकाल्न पेट चिरेर शल्यक्रिया गर्ने गरिन्थ्यो । प्रविधिको विकास संगै ल्यापारोस्कोपिक विधि सुरु भए पछि पेटमा ठूलो चिरा लाएर शल्यक्रिया गर्नु पर्ने बाध्यता रहेन तर पित्त नली भित्रको ढुंगा निकाल्न नली चिर्नै पर्ने हुन्छ । इआरसीपी विधिमा मुखबाट इण्डोस्कोपको सहायताले सानो तार संगै बेलुन छिराएर पित्त नली सम्म पुगी ढुंगा तानेर आन्द्रामा निकालिन्छ र ढुंगा दिसाबाट बाहिर निस्कने गर्दछ । पित्त नली अथवा आन्द्राको क्यान्सर तथा प्याङ्क्रियाजको क्यान्सरको कारणले पित्त नली साघुरिएको हुन सक्छ त्यस्तो अवस्थामा पनि यो प्रविधिबाट स्टेण्ट छिराई साधुरिएको स्थानमा राख्ने गरिन्छ र साघुरिएको भाग खुल्ला बनाइन्छ । इआरसीपी प्रविधिले रोगको पहिचान र उपचार दुवैमा फाइदा पुर्याउदछ । हामीलाई पित्तथैलीको पथरिया र पित्तनलीको पथरिया एउटै हो जस्तो लाग्छ । तर पित्तथैलीको पथरिया र पित्तनलीको पथरिया फरक फरक हो । इआरसीपी प्रविधि पित्तनलीको पथरियाको उपचारको लागि प्रयोग हुन्छ ।
इआरसीपीका फाइदाहरु
पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने हुन्छ तर यसमा कतै चिर्नु नै नपर्ने भएपछि चाँडो निको हुन्छ र संक्रमणको खतरा पनि हुँदैन, अस्पताल बसाई छोटो हुने हुँदा इआरसीपी विधी विरामीका लागि निकै सहज र फाइदाजनक मानिन्छ ।
नेपालका केहि अस्पतालहरुमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले पूर्वी नेपालमै पहिलो पटक २०७५ सालबाट प्रयोगमा ल्याएको थियो । तर, कोरोनाको महामारी फैलिएपछि यो सेवा अवरुद्ध भएको थियो । कोरोनाको प्रभाव हट्दै गएपछि पुनः सुचारु भएपछि यो प्रविधिबाट उपचार गर्ने विरामीहरुलाई काठमाडौं वा टाढा जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।