लास भेटिएको दुइ हप्तासम्म पनि पत्ता लागेनन् वालिका अंशुका हत्यारा
- २२ कार्तिक २०८२, शुक्रबार
मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको शव भेटिएको १३ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । असोज २१ गते साँझ घरनजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएकी अंशुको शब १८ दिनपछि मृत फेला परेको थियो । शव फेला परेपछि अनुसन्धानमा लागेको प्रहरीले हालसम्म पनि अपराधी पत्ता लगाउन सकेको छैन ।
लेटाङ नगरपालिका २ , स्कुलचोककी अंशु गत असोज २१ गते साँझ घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएकी थिइन् । हराएको १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी बनभित्र उनको शव क्षतविक्षत र कपडाविहीन अवस्थामा फेला परेको थियो । शवको अवस्था अत्यन्तै सडेको, शरीर टुक्रिएको र टाउको छुट्टिएको प्रकृतिको थियो । घटनास्थलमा भेटिएको चप्पल र कपडाका आधारमा आफन्तले शव पहिचान गरेपछि डीएनए परीक्षण गर्दा उनको शब पुष्टि भएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकाले पनि शव भेटिएको दुई साता बितिसक्दा पनि अपराधी पत्ता लगाउन सकेको छैन । मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो सहित प्रदेश र जिल्लाको टोली खटिए पनि अपराधी पत्ता लगाउन जटिलता आएको बताउँछन् ।
शव १८ दिनसम्म ‘डिकम्पोज’ भएको कारण मेडिकल्ली बलात्कारको प्रुफ पुष्टि गर्ने अवस्था नरहेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले डीएसपीको नेतृत्वमा टोली खटाएर सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको कटवालको भनाइ छ ।
स्थानीय बासिन्दाहरू हतियार प्रयोग गरेर हत्या गरिएको र बलात्कार भएको दाबी गर्छन् । प्रहरीले भने जंगली जनावरको आक्रमणबाट लास टुक्रा भएको हुन सक्ने आशंका गरेको छ ।यसैबीच, बालिकाको शव पोस्टमार्टम गरिए पनि आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन् । त्यसैले अंशुको शव १३ दिनदेखि बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ । प्रहरीले घटना भएको दिन र त्यसपछि सो क्षेत्रमा सक्रिय मोबाइल सिग्नलहरूको सूक्ष्म अध्ययन गरिरहेको छ ।
यसै क्रममा सोधपुछका लागि झुम्का कारागारबाट भागेका एक जना कैदी पक्राउ परेको स्रोतको दाबी छ । प्रहरी उपरीक्षक कटवालले अंशु हत्या प्रकरणमा चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।







































































