शुरु भयो कर घटाउने होडबाजी; बेलबारी, उर्लाबारी र सुन्दरहरैंचा नगरपालिकाले घटाए कर

  • ५ भाद्र २०७५, मंगलवार

बेलबारी / देशभर स्थानीय तहहरुले जथाभाबी र चर्को शुल्क अनुलेको भनी बिरोध भइरहेको बेला बेलबारी नगरपालिकाले करिब दुइ दर्जन शिर्षकमा कर नलगाउने घोषणा गरेको छ  ।

नगरपालिकाले नगरपालिकाले कर नलगाउने घोषणा गरेका शीर्षकहरुमा सहकारी संस्थाहरुको नविकरण, नयाँ दर्ता, साना मझौला तथा ठुला उघोग दर्ता, आगलागीको  सिफारिस, बैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिको  सिफारीस, दलित,अपाङ्ग,परिचय पत्र तथा  सिफारिस, सार्वजनिक मन्दिर ,गुठी, अस्पताल सामुदायिक बिद्यालय, गुम्बा सिफारीस आदि छन्  । त्यसैगरी जन्मदर्ता, मृत्युदर्ता, बसाई सराई सिफारिस ,बिवाह दर्ता,सम्बन्ध बिच्छेद दर्ता तथा सिफारिसमा पनि शुल्क लाग्ने छैन ।

त्यस्तै अल्पसंख्यक दलित र गरिब तथा सबै प्रकारका अनुसुची  फारम पनि निशुल्क उपलब्ध हुने बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र प्रसाद सुवेदीले जानकारी दिए  ।  उनका अनुसार एम्बुलेंन्स, सव वाहन, मोटर साइकल आदिमा पनि कर लगाइने छैन । कुनै पनि बिरामीका लागि उपचारको सिफारीस पनि निशुल्क गरेको बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदीले बताए ।

नगरपालिका हुनु भन्दा अगाडि बनेका संरचनाको कारमा ५० प्रतिशत छुट गरीएको तथा घरवहाल कर समेत ८ प्रतिशतले मात्रै लिएको  नगरपालिकका प्रबक्ता सुबेदीले बताए । नगरपालिकाले लिने करमा पहिला देखि नै नलिएको उनले  बताए ।

उर्लाबारी नगरपालिकाले पनि घटायो कर

मोरङको उर्लाबारी नगरपालिकाले कर घटाएको छ । नगरपालिकाले मंगलबार विशेष नगरसभाबाट अनुमोदन गरी कर योग्य सम्पति कर, सिफारिस, व्यावसायिक फर्म, व्यक्तिगत घटना दर्ता, कृषि, उद्योग, पशुपालनलगायतमा शुल्क घटाएको छ ।

कर घटाउने सम्बन्धमा सोमबार नै नगर कार्यपालिकाको बैठकले निर्णय गरेको थियो । नगर प्रमुख खड्ग फागोले जनताको समस्या र गुनासालाई मध्यनजर गर्दै करको साविक दरमा संशोधन गरिएको बताउनुभयो ।

नगरपालिकाले सम्पति करतर्फ रु.२५ लाखदेखि ५० लाखसम्म प्रति लाख रु.१५ रहेकोमा रु.१०, रु.५० लाखदेखि ७५ लाखसम्म प्रतिलाख रु.२० रहेकोमा रु.१०, रु.७५ लाखदेखि एक करोडसम्म प्रति लाख रु.३० रहेकोमा रु.१५, रु.एक करोडदेखि दुई करोडसम्म प्रतिलाख रु.३५ रहेकोमा रु.२२, रु.दुई करोडदेखि तीन करोडसम्म प्रति लाख रु.३५ रहेकोमा रु.२८ तथा रु.तीन करोडदेखि पाँच करोडसम्म प्रतिलाख रु.३५ रहेकोमा रु.१५ दशमलब २५ कायम गरिएको नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा फागोले जानकारी दिनुभयो ।

त्यसैगरी नगरपालिकाले अंग्रेजी भाषा सिफारिस दस्तुर रु.८०० बाट रु.७००, ३५ दिनपछि व्यक्तिगत घटना दर्ता गराएमा रु.१५० देखि घटाएर रु.५० कायम गरेको छ ।
त्यसैगरी व्यवसाय कर तर्फ रिक्सा साइकल मर्मत सफारी समेत ‘क’ को शुल्क रु.१५०० रहेकोमा रु.७००, रिक्सा साइकल मर्मत सफारी समेत ‘ख’ को शुल्क रु.एक हजार रहेकोमा रु.५००, ब्याट्री चार्जर पसल शुल्क रु.दुई हजार रहेकोमा रु.एक हजार, कलर ल्याब, फ्ल्यास प्रिन्ट सेवा शुल्क रु.५००० रहेकोमा रु.४००० कायम गरिएको छ । त्यसबाहेक नगरपालिकाले बिभिन्न व्यावसायिक, कृषि, उद्योग, पशुपालन फर्मलगायतमा समेत कर घटाएको छ ।

उर्लाबारीमा टोल फ्री नम्बर 
चालु आर्थिक बर्ष २०७५/०७६ को हालसम्म सबै वडाहरु, विषयगत शाखाहरु तथा नगरपालिकाका सम्पूर्ण शाखाहरुलाई अख्तियारी दिई काममा तिब्रता दिएको, नगर कार्यपालिकाको कार्यालय भवनको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको, ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन तथा संकलन गर्ने दहत्तर तथा बहत्तर शुल्कमा संकलन ठेक्का प्रक्रियाका लागि सूचना प्रकाशन गरिएको नगरपालिकाले जनााएको छ ।

नगरपालिकाबाट स्वीकृत कार्यविधि, ऐन, नियम बोमोजिमका सम्पूर्ण समितिहरु गठन गरिएको, जनमुखी दररेट स्वीकृत गरी आव २०७५/०७६ का लागि लागू गरिएको, मजदुरको ज्यालामा बृद्धि गरिएको, ढुङ्गा, गिट्टी, बालुवाको दररेट घटाई लागतमैत्री बनाइएकोले जस्ता प्रगति बिवरण पनि सार्वजनिक गरिएको छ ।  नगरपालिकाको कार्यालयमा स्थानीय जनताको सूविधालाई ध्यानमा राखी टोल फ्री नं.१६६०२१४२००० राखिएको फागोले जानकारी दिनुभयो ।

सुन्दरहरैचामा पनि केही शिर्षकमा कर छुट 

यस्तै सुन्दरहरैचा नगरपालिकाले पञ्चेबाजा दर्ता, अपांगता भएका ब्यत्तिहरुको सिफारिस,  बैदेशिक रोजगारीमा मृत्यु भएका ब्यत्तिको सिफारिस, घर टहरामा आगलागी भएको सिफारिस, अल्पसंख्यक दलित, गरिब र पिछडाबर्गको लागि नागरिकता सिफारिस, सबै प्रकारका अनुसुचि फारम, पुर्णत कृषिमा आधारित सहकारी, शवबाहन , दमक , ईन्टरनेट लगायतका सेवा  निशुल्क गरेको जनाएको छ छ ।

त्यसैगरी महिलाको नाममा दर्ता भएको ब्यबसायमा २० प्रतिशत छुट , बिद्यार्थीका लागि  गरीने सबै सिफारीसमा  ५० प्रतिशत छुट र २५ लाख सम्मको उद्योग सिफारिसका लागि  ५० प्रतिशत छुट गरिएको नगरपालिकाले  जनाएको छ ।  त्यस्तै जन्मदर्ता, मृत्युदर्ता, बसाईसराई दर्ता, बिवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता व्यक्तिगत घटना दर्ता समेत निशुल्क गरिने भएको छ ।