बेलबारी क्याम्पसलाई सरकारले दियो चार बिघाभन्दा बढी जग्गा, बन्नेभो आफ्नै भवन

  • १८ असार २०७५, सोमबार

अम्बिका भण्डारी / बिगत १० बर्ष देखि संचालनमा रहेको बेलबारी बहुमुखी क्याम्पसलाई  नेपाल सरकारले चार बिघाभन्दा बढी जग्गा उपलब्ध गराएको छ ।

नेपाल सरकारको मन्त्री स्तरीय निर्णयबाट हालै सो जग्गा उपलब्ध गराइएको हो । सरकारले भोगाधिकारका लागि  उपलब्ध गराएको जग्गा बेलबारी नगरपालिका ३ स्थित पुरानो बेलबारीको सेक्टर बन कार्यालयभन्दा दक्षिणपट्टी छ । क्याम्पसले बिगत पाँच बर्षदेखि रोकेर राखेको जग्गा नै सरकारले उपलब्ध गराएको र मन्त्रीपरिषदको निर्णयपछि भोगाधिकारको लागि कागजात समेत उपलब्ध भइसकेको  बेलबारी क्याम्पस सन्चालक समितिका अध्यक्ष तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

वन मन्त्रालय अन्तरगत वन बिभागको स्वामित्वमा रहदै आएकोमध्ये चार बिघा तीन कठ्ठा सात धुर जग्गा  भोगाधिकारको लागि स्वीकृत भएको सुवेदीले जानकारी दिए । पाँच /छ बर्षअघि स्थानीय स्तरमा सोही जग्गा क्याम्पसले प्रयोग गर्ने सहमति भएको थियो ।  जग्गा भोगाधिकारको अनुमतीका लागि क्याम्पस संचालक समितिले बिगत पाँच बर्षदेखि पहल र ताकेता गर्दै आएको थियोे । यसअघि लामो समयसम्म पनि जग्गाको अनुमती लिन नसकेको भन्दै टीका टिप्पणी समेत हुन थालेको थियोे ।

क्याम्पसको भवन लगायत भौतिक संरचना निर्माणका लागि बेलबारी नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ को बजेटमा १ करोड रुपैयाँ बिनियोजन गरेको छ । बिनियोजित बजेटबाट नगरपालिकाकै पहलमा टेण्डर आब्हान गरी ठेक्का लगाएर भवन निर्माणको काम शुरु गराउने  क्याम्पसका अध्यक्ष तथा मेयर सुवेदीले बताए ।
क्याम्पसको भवन निर्माणका  लागि यसअघि मौज्दात ५० लाख मौज्दात रहेको क्याम्पस प्रमुख खगेन्द्र प्रसाद लुइँटेलले जानकारी दिएका छन् । जस अनुसार क्याम्पसको भवन निर्माणका लागि नगरपालिकाले दिएको १ करोड समेत गरी करिब डेढ करोड बजेट भएको छ  ।

क्याम्पसले नगरपालिकाबाट ६० प्रतिशत र अन्य स्रोतबाट ४० प्रतिशत लगानी गरेर क्याम्पसका संरचना बनाउन प्रस्ताव गरेको र त्यस बिषयमा छलफल गरिने मेयर सुवेदीले बताए ।
बेलबारी बहुमुखी क्याम्पसले आर्ट्स, कमर्स, र एजुकेसनको पढाई संचालन गर्ने अनुमती पाइसकेको छ । तर कक्षा कोठा तथा विद्यार्थीको कमी लगायत विभिन्न कारणले हाल कमर्स र एजुकेसनको मात्र पढाई हुंदै आएको क्याम्पस प्रसासनले जनाएको छ । क्याम्पसमा हाल २ सय ९६ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख लुइँटेलले बताए । उनका अनुसार क्याम्पसमा हाल कर्मचारी र प्राध्यापक समेत गरी २३ जना स्टाफ छन् ।

आफ्नै भवन नहुंदा बेलबारी ३ मा अबस्थित भगवती माध्यमिक विद्यालयमा क्याम्पस संचालन गरिदै आएको छ । भगवती स्कुलमा बिहान क्याम्पसको पढाई र दिउँसो स्कुलको पढाइ हुने गरेको  छ । बेलबारी बहुमुखी क्याम्पस २०६५ सालमा स्थापना भएको थियोे ।