यी हुन् जनप्रतिनिधि जसले गाउँपालिकामा सरकारी गाडी किन्नुको सट्टा एम्बुलेन्स किने

  • ७ भाद्र २०७५, बिहीबार

रसुवाको नौकुण्ड गाउँपालिकाले कार्यालय प्रयोजनका लागि सरकारी गाडी किन्ने पैसाले एम्बुलेन्स खरिद गरेको छ  ।

गाउँपालिकामा एम्बुलेन्स अत्यावश्यक रहेकाले गाडीको साटो एम्बुलेन्स खरिद गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष नुर्बु घलेले  बताए । जनताको समस्या लाई मध्ये नजर गरी एम्बुलेन्स खरिद  गरिएको उनको भनाइ छ ।

नौकुण्ड गाउँपालिकामा अस्पताल र एम्बुलेन्स नहुँदा बिरामीको उपचारमा समस्या हुँदै आएकाले उक्त निर्णय गरिएको उपाध्यक्ष सृजना लामाले बताइन् । गाउँपालिकामा स्वास्थ्य चौकी तीनवटा र सामुदायिक स्वास्थ्य इकाई तीनवटा गरी ६ वटा स्वास्थ्य संस्था  भएपनि हालसम्म एम्बुलेन्स थिएनन् ।

गाउँपालिकाको अध्यक्ष तथा पदाधिकारीले अध्यक्षको निजी गाडी प्रयोग गर्ने छन् । गाडीको सामान्य मर्मत र तेल खर्च मात्रै पालिकाले व्यहोर्ने गरेको छ । यसअघि पनि कार्यालय प्रयोजनमा अध्यक्ष नुर्वुसाङ्बो घलेको गाडी प्रयोग हुँदै आएको छ ।

जिल्लाको कालिका, गोसाइँकुण्ड, उत्तरगया र आमाछोदिङ्मो गाउँपालिकाले गाडी खरिद गरिसकेका छन् । प्रत्येक पालिकाले दुई वटा गाडी खरिद गर्ने छन् । चारवटा गाउँपालिकाले एउटा÷एउटा गाडी खरिद गरिसकेका बताइएको छ ।

शुद्धोदन गाउँपालिकाका जनप्रतिनिधिले पनि किने  गाडीको सट्टा एम्बुलेन्स

कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका जनप्रतिनिधिले पनि सरकारी गाडी किन्ने पैसाले एम्बुलेन्स किन्ने निर्णय गरेका छन् । सो गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ  लु १३ प ६५३६ नम्बरको मोटरसाइकल चलाएर गाउँपालिका पुग्छन् । अनुगमन गर्दा समेेत उनी मोटरसाइकलमै  हिड्छन् । 

उनकाे लागि गाउँसभाले मासिक ६० लिटर पेट्रोल सुविधा दिएको छ । तर, निर्वाचित भएदेखि १ लिटर पनि लिएका छैनन् । ‘नाजायज सुविधा लिनुभएन,’ उनी भन्छन् , ‘घरको खेतबारीले खान पुगेकै छ, मलाई गाडीको सुबिधा चाहिदैन ।’

बिगतमा राष्ट्रिय जनता पार्टीमा रहेका उनी आफ्नो दलले स्थानीय निर्वाचन बहिष्कार गरेपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । ‘म स्वतन्त्र छु,’ उनले भने, ‘कुनै पार्टीमा नगई काम गरेर जनताको मन जित्छु ।’ एउटै दलको नभए पनि अध्यक्षको सहयोगी भावनाले सिंगो गाउँपालिकामा विकासले तीव्रता पाएको उपाध्यक्ष सुधादेवी पाण्डेले बताइन् । पाण्डे कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।