कहिले न्याय पाउलान् संयन्त्र सहकारीको स्थापनाकालका शेयर सदस्यहरुले

  • २० चैत्र २०७४, मंगलवार

मोरङ । लामो समयदेखि हिसाबकिताब नदेखाइएको र साधारणसभा समेत नगरिएको कारण  मोरङको बेलबारीस्थित रेडियो बेतनाका करिब डेढ सय जना शेयर सदस्यहरूको लगानी जोखिममा परेको छ ।

रेडियो संचालक समितिको बेबकुवीका कारण दुई बर्षभन्दा लामो  समयदेखि साधारणसभा नहुदा लगानी जोखिममा परेको हो । हाल रेडियो संचालक समितिको  मनोमानी कतिसम्म छ भने हालसम्म रेडियोमा कतिजना शेयर सदस्य छन् भन्ने कुनै रेकर्ड नै छैन । त्यतिमात्र होईन, कतिजना शेयर सदस्य छन् भन्ने कुरा अध्यक्ष बाहेक अरु कुनै पदाधिकारीलाई थाहै छैन । अझ कर्मचारीलाई तलब खुवाउन पैसा नपुगेको भन्दै पुराना  शेयर सदस्यहरुबाट उठाइएको थप १५ हजार रुपैयाँको रेकर्ड समेत कार्यालयमा छैन ।

रेडियो बेतना संयन्त्र सन्चार सहकारीद्वारा संचालित सामुदायिक रेडियो हो । कानुनी रुपले सहकारीको संचालक समिति नै रेडियो संचालक समिति हो । त्यसैले सहकारी र रेडियोको संचालक समिति एउटै छ । संचालक समितिमा बिगत दुई कार्यकाल अर्थात् ६ बर्ष देखि राजकुमार  लिम्बू अध्यक्ष छन् । दोश्रो कार्यकालमा लिम्बू निर्वाचित भएपछि २०७२ साल चैतमा साधारणसभा गरिएपनि त्यसयता साधारणसभा गरिएको छैन । त्यसबेला पनि रेडियोमा ठुलो घाटा देखाइएको थियो । दोस्रो कार्यकाल पनि यस अघि नै सकिइसकेको छ ।

दुई बर्षअघि गरिएको  साधारणसभामा कुल १ सय ६ जना शेयर सदस्यहरुको बिवरण देखाइएको थियोे । तर त्यस समययता शेयर सदस्य  थपेर अध्यक्षले करिब देढ सय पुर्याएको रेडियो संचालक समितिका एक सदस्यले बताए । तर को को शेयर सदस्य थपिएका छन् भन्नेबारे अध्यक्ष लिम्बू बाहेक अरु कसैलाई थाहा नभएको उनले बताए । लामो समयदेखि संचालक समितिको बैठक नबसेको र बसेका बैठकहरुमा पनि अध्यक्षले त्यसबारे जानकारी नदिएको नाम नबताउने सर्तमा ती सदस्यले बताए । रेडियोमा हर हिसाब हेर्न खटाइएका (एकाउन्टेन्ट) कुल प्रसाद बरालले समेत रेडियोमा कति शेयर सदस्य छन् भन्नेबारे आफुलाइ जानकारी नभएको बताउने गरेका छन् । बराल अध्यक्ष राजकुमार लिम्बुका निकट पात्र मानिन्छन् ।

अझ लाजमर्दो कुरा त के भने  संयन्त्र सन्चार सहकारी तथा रेडियो बेतनाको संचालक समितिका  सचिब लीला आचार्यलाई समेत शेयर सदस्यको संख्याबारे थाहा रहेनछ । उनलेे पनि त्यसको जानकारी अध्यक्षलाई मात्र भएको स्वीकार गरे । साधारणसभा कहिले हुन्छ भन्ने प्रश्न गर्दा आचार्यले यकिन गरी भन्न सकेनन् तर  साधारणसभाको आन्तरिक तयारी भइरहेकोले चाडै साधारणसभा हुने दाबी गरे ।

शुरुमा  सय वाट क्षमताको रेडियोलाइ हालकै समितिले ५ सय वाट स्वीकृत गराएर सोही अनुसार सन्चालन गरिरहेको छ । पछिल्लो पटक शेयर थपिएको पनि त्यही प्रयोजनका लागि नै हो । तर थपिएका शेयर सदस्यहरुको रकम कति हो र कतिजना थपिएका छन् भन्नेबारे संचालक समितिको बैठकमा पनि जानकारी गराइएको छैन । यधपी अध्यक्ष राजकुमार लिम्बूले अबको साधारणसभाबाट आफुले रेडियोको नेतृत्व छाड्ने घोषणा गरिसकेका छन् ।

 हुन त अध्यक्ष लिम्बू स्वच्छ छबि भएका मानिन्छन् । उनी लोभीपापी नभएकै कारण सहकारीको न्युनतम ज्ञान नभए पनि  रेडियोको पहिलो कार्यकालमा उनलाइ अध्यक्ष बनाइएको थियो । तर अरुको कुरा सुन्नै नमान्ने , कामको जस एकलै मात्र लिन खोज्ने र गलत मान्छेहरुको प्रभावमा परेर उनीहरूको कुरा मात्र मान्ने बानीका कारण पछिल्लो समय उनको छवि बिग्रदै गएको छ ।  गत स्थानीय तहको चुनावमा काङ्ग्रेसबाट बेलबारी नगरको मेयरका लागि चुनाव लडेका लिम्बुले दुई सय भोटले चुनाव हारेका थिए ।

त्यसो त आफू निकटका  मानिसहरूलाई च्याप्ने लिम्बुको बानीको कारण समेत पछिल्लो समय रेडियो धराशायी बन्दै गएको छ । तीन बर्ष अघि केही कर्मचारीले रेडियोमा ठुलो हिनामिना र फटाइ गरेपनि तीनीहरुको फटाइ गुपचुप पार्ने कोशिश गरिएको थियो । दबाब झेल्न नसकेपछि ती कर्मचारीलाई रेडियोबाट निकालिएपनि हिनामिना भएको रकम त्यत्तिकै गुपचुप पारिएको थियो । त्यस यता रेडियोमा स्टेसन म्यानेजर समेत छैन । केही कर्मचारीकै भरमा रेडियो चल्दै आएको छ ।

हालसम्म सहकारी स्थापना कालदेखिका कुनै शेयर सदस्यले शेयर प्रमाणपत्र समेत पाएका छैनन् । सहकारीद्वारा संचालित रेडियो भएपनि न चारखाता बनाइएको छ, न त ब्यबस्थित लेखा प्रणाली नै छ ।

अर्कोतिर रेडियोको माउ संस्था संयन्त्र सन्चार सहकारी संस्था लि. को स्थापना गर्ने शेयर सदस्यहरु आफुहरुलाइ पछिल्लो सन्चालक समितिले  अन्याय गरेको भन्दै बिगतदेखि नै आन्दोलित छन् । पटक पटक रेडियोको सन्चालक समितिलाई ज्ञापनपत्र बुझाउदा र छलफलका लागि आग्रह गर्दा पनि  अध्यक्ष राजकुमार लिम्बुले सुनुवाइ गर्न इन्कार गरेको आरोप उनीहरूले लगाउदै आएका छन् ।

सहकारीका करिब ३५ जना संस्थापक शेयर सदस्यमध्ये  आधाजसोको हाल शेयर कायम भएपनि अरुलाइ शेयरको रकम थपका लागि जानकारी पनि  नगराइएको, शेयरको रकम फिर्ता पनि नदिइएको र शेयर सदस्यबाट बन्चित गराइ साधारणसभामा पनि नबोलाइने गरिएको संयन्त्र सन्चार सहकारीका पुर्व अध्यक्ष तथा पुर्व सांसद नरेन्द्र बस्नेतले बताए ।

केही महिनाअघि सहकारीका संस्थापक शेयर लसदस्य तथा पुर्व पदाधिकारीहरुले रेडियोको पछिल्लो संचालक समिति समक्ष ७ बुदे ज्ञापनपत्र पनि बुझाएका थिए । सोही समयताका उनीहरूले संचालक समितिले सुनुवाइ नगरेको भन्दै डिभिजन सहकारी कार्यालय मोरङमा उजुरी पनि दिएका थिए । डिभिजन सहकारीले पटक पटक फोनबाट छलफल गरी विवाद मिलाउन निर्देशन दिदा पनि संचालक समितिले अटेर गरेपछि लिखित पत्राचार समेत गरेको थियो । तर सहकारी डिभिजनको त्यो निर्देशनको अवज्ञा गरिदै आएको छ ।