बेलबारी हत्याकाण्डको १२ बर्ष : न राहत र क्षतिपूर्ति , न दोषीलाई कारबाही

  • १३ बैशाख २०७५, बिहीबार

मोरङ । “बाह्र बर्षमा बगेको खोला पनि फर्किन्छ”भन्ने नेपालीमा एउटा उखान छ तर मोरङको बेलबारीमा भएको एउटा दर्दानाक र कहालीलाग्दो हत्याकाण्ड भएको १२ बर्ष बितिसक्दा समेत न त पिडितले न्याय नै पाए न त दोषीलाई कारबाही नै भएको छ ।

घटना भएको यतिका समय बितिसक्दा समेत पिडितहरुले उचित न्याय पाएका छैनन । अझै उनीहरु न्यायको पाउने झिनो आशामा रहेका छन । घटनाका मुख्य दोषीलाई कारबाही भएको हेर्ने पिडितको रहर जिवितै छ तरपनि कारबाही हुन्छ या हुन्न त्यो रहस्यको गर्भमै छ ।

यसरी भएको थियोे बेलबारी हत्याकाण्ड

लोकतन्त्र प्राप्तिका लागी सबै नेपालीहरु सडकमा थिए । त्यहि बेला जनआन्दोलन समेत उत्कर्षमा पुगेको थियो । ठिक त्यति नै बेला मोरङको बेलबारीमा नेपाली सेनाले गरेको नरसंहारकारी घटना गरायो । सोही घटना भएको १२ बर्ष पुरा भईसकेको छ तरपनि अझैसम्म पनि बेलबारीबासीहरुले त्यो कालो दिन भुल्न सकेका छैनन । र पिडितले अझै न्याय पनि पाउन सकेका छैनन । न्यायको अभाबमा पिडितहरु अझै भौतारिरहेका छन । तर जिम्मेवार निकाय अझैपनि पिडामा मल्हम बन्न सकेको छैन ।

बि.स.२०६३ बैशाख १२ गते राति बेलबारी ३ की स्थानीय २२ बर्षीया सपना गुरुङको नेपाली सेनाले बलात्कारपछि हत्या गर्यो । बैशाख १३ गते सोही घटनाको बिरोधमा उत्रिएका हजारौ स्थानीय माथी सेनाले अन्धाधुन्द गोली चलाँउदा ६ जनाको ज्यान जानुका साथै ५२ जना निर्दोष सर्बसाधारण घाईते भए । तत्काल मृत्यु हुनेमा बेलबारी ३ का सुनिता ऋषिदेब बेलबारी २ का प्रसाद गुरुङ,इन्द्रपुर ३ का फुर्बा तामाङ,इन्द्रपुर ४ का प्रभुनाथ भटराई,मृगौलिया ८ का छत्र बहादुर परियार रहेका थिए भने सो घटनामा घाईते भएका बेलबारी ४ का गोपालचन्द्र गौतमले पनि पिडा सहन नसकेपछि २०६६ चैत १४ गते आत्माहत्या गरे ।

के भयो घटनापछि ?

यो नरसंहारकारी घटनापछि बिपि प्रतिष्ठान धरानमा एकैचोटी साईरन बज्यो । बिरलै हुने यस्ता घटनामा सकंटको अबस्था जानकारी गराउनका लागी अस्पतालले साईरन बजाउने गर्दछ । घटनाको छानविन गर्न तत्कालिन सांसद परी थापाको संयोजकत्वमा गठित छानवीन समितिले मृतकका परिवारलाई १० लाख, अङगभङग् भई घाइते भएकालाई ६ लाख, घाइतेलाई ७५ हजार र सामान्य घाइतेलाई २५ हजार  क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरेको थियो । सरकारले भने मृतक परिवारलाई जनही ३ लाख, अङगभङ्ग भई घाइते भएका १० जनालाई जनही ७५ हजार, घाइते २२ जनालाई जनही २५ हजार र सामान्य घाइतेलाई १० हजारका दरले क्षतिपूर्ति दिएको थियो । सरकारले पटक पटक गरी मृतकका परिवारलाई १० लाख रुपैया उपलब्ध गराएपनि घाईतेहरुलाई भने बेवास्ता गरिरहेको छ । सपनाका छोराछोरीलाई उच्च शिक्षा सम्म पढाई दिने भनिएपनि त्यो हुन सकेको छैन ।

के छ पिडितको अबस्था ?

घटना भएको यतिका बर्ष बितिसक्दा समेत घटनाका पिडितले अझै न्याय पाउन सकेका छैनन । अझ सपनाका २ जना नानीहरुको लालनपालन गर्दै बसिरहेकी उनकी आमा बेलबारी १ की ५३ बर्षीया शोभा गुरुङले त थुप्रै आश्वासन आएपनि काम कहीबाट नभएको गुनासो गरेकी छिन । सोही घटनामा घाईते भएका ब्यापारी फिरोज खान अझैपनि राम्रो सँग हिँडडुल गर्न सक्दैनन । चुरी ब्यापार गरेर राम्रै कमाई गर्दै आएका फिरोजका खुट्टामा चोट लागेका कारण अझैपनि उनी बैशाखीको सहारामा हिँडडुल गर्छन । घाईते भएपछि उनको बिवाह समेत हुन सकेको छैन । उनको सरकार र सम्बन्धित पक्षले आफुहरुको माग पुरा नगर्दा जिबन जिउँन गाहे भएको गुनासो गर्छन ।

सपना गुरुङ् हत्या काण्डका  दाेशीलाई तत्काल कारवाही घाईतेलाई Ôतिपूर्ति उपचारको माग राखेर पीडितले थुप्रैपटक आन्दोलन गरे । सङघर्ष समिति पनि बन्यो तर केही पनि राहत मिल्न नसकेको पिडितहरु बताउँछन । सात जनाको ज्यान जाने गरी भएको हत्या काण्डका पीडितले पटक–पटक सरकारको ध्यानाकशर्ण गराउँदा पनि वास्ता नगरेकाले आन्दोलन गर्नका लागि घाइते हेमसागर ढकालको संयोजकत्वमा पीडित सघर्È समिति गठन गरी पटक पटक गिरिजा प्रसाद कोइराला,माधब कुमार नेपाल,पुष्पकमल दहाल नेतृत्वको सरकार समक्ष समितिले गृहमन्त्रालय र शान्ति मन्त्रालयमाः आफना मागको वारेमा ध्यानाकर्Èण गराएको संयोजक ढकालले वताए । शान्तिपूर्ण ढंगले जायज माग राख्दा कुनै वास्ता भएको छैन। घटनाका घाईते समेत रहेका ढकालले गुनासो गरेका छन ।

के कारबाही भयो घटनाका दोषीलाई ?

सोही घटनाका मुख्य दोषी भनिएका नेपाली सेनाका तत्कालीन क्याप्टेन प्रल्हाद थापा मगरलाई के कारबाही गरियो या गरिएन ? उनी अहिले कहाँ के गर्दैछन ? सो को जानकारी कसैलाई छैन । शुरुमा सरकारले नै दोषीलाई कारबाही गरिने बताएको थियो तर मगरलाई के कारबाही गरियो त्यो भने अहिलेसम्म जानकारी आएको छैन ।

आफ्नो छोरीको हत्या गर्ने योजनाका मुख्य नाईके मगर नै भएको र उनलाई हदैसम्मको कारबाही भएको देख्न र सुन्न पाएमात्रै आफनो छोरीको आत्माले शान्ति पाउने सपनाकी आमा बताउँछिन । आफु जिवितै हुँदा दोषीलाई कारबाही भएको सुन्ने र देख्ने उनको ठुलो सपना छ । टुहुरा नातिनातिनाकी अभिभावक बनेर लालनपालन र शिक्षादिक्षा दिईररहेकी उनको अझै झिनो आशा छ दोषीलाई छोरीको आँसुले पिरोलोस र उनलाई कारबाही होस । घटनाका पिडितहरु अझै पनि न्याय पाउने झिनो आशमा बसेका छन ।

के गर्दैछ स्थानीय सरकार ?

देशमा स्थानीय सरकार निर्बाचित भएको १ बर्ष बितिसकेको छ । यो बिचमा स्थानीय सरकारले सोही हत्याकाण्डका बिषयमा केही बोलेको पाईएको छैन । तत्कालीन बेलबारी गाबिस वडा नम्बर ३ रहेको सो स्थान हाल बेलबारी नगरपालिका वडा नम्बर ३ कायम भएको छ । सोही घटनाको बिषयमा नगरपालिकालाई कति जानकारी छ या छैन । त्यो समेत बाहिर आऊन सकेको छैन । पिडितले न्याय पाउँछन या पाउँदैनन त्यो समेत अनिश्चित बनेको छ ।