मध्यरातमा पतिबाट खोसेर अपहरण गरी महिलामाथि बलात्कार

  • १४ भाद्र २०७४, बुधबार

अम्बिका भण्डारी, मोरङ । भाद्र ५ गते सांझ बिराटचोक निवासी थारु समुदायका एक जोडी तन्नेरी जोइपोइ आफ्नै बाइकमा सिनेमा हेर्न बेलबारतिर लागे । दुवै जनाले आनन्द मान्दै फिल्म हेरे । राती करिब ११ बजेतिर सिनेमा हेरिसकेर दुवैजना घरतर्फ लागे । तर घर जाने क्रममा लालभित्तिस्थित बृक होटल अगाडी पुग्दा बाइकको स्टार्ट बन्द भयो र बाइक रोकियो । के भएछ भनेर हेर्दा थाहा भो तेल सकिएको रहेछ ।

तर अचानक तेल रित्तिदा जोइपोइ छ्क्क परे । जे भएपनि घर पुग्न केहिकेहि उपाय लगाउनै पर्थ्यो । मध्यरात हुन लाग्दा नजिकै रहेको पेट्रोल पम्प पनि बन्द भइ सकेको थियो । त्यसैले खड्का पेट्रोल अगाडि आएर उनीहरू अक्क न बक्क परेर बसिरहे । केही बेरपछि एक जना मानिस बाइकमै पूर्व तिरबाट आयो । टोलाएका जोइपोइलाइ देखेर उसले बाइक रोक्यो र सोधिखोजी गर्यो । उनीहरूले पेट्रोल सकिएकोले अभर परेको बताए ।

आगन्तुक मानिसले आफ्नो मोटरसाइकलमा पनि तेल थोरै भएकोले निकाल्न नमिल्ने बरु तेल पाइने ठाउँसम्म पुर्याइदिने प्रस्ताव राख्यो । त्यही कुरामा सहमति जनाउँदै बूढो चाहिँ बुढीलाइ त्यहीं छाडेर अर्काको बाइकमा बस्यो । बाइकवालाले खोर्साने चोकमा पुर्यायो र माथिल्लो साइडको एउटा दोकानतिर देखाउदै त्यहाँको मानिसलाई बोलाएर तेल लिन भन्यो । तेल सोध्न उतातिर जान नभ्याउदै बाइकवालाले बाइक स्टार्ट गर्यो र एक्लै पुर्व्तिर भाग्यो । उता श्रीमतीलाई पेट्रोल पम्पमा एक्लै छाडेको र बाइकवाला पनि त्यतै गएकोले पेट्रोल खोज्ने मानिसको मन ठग्रङै भयो । त्यसैले पेट्रोल(सेट्रोल खोज्न छाडेर उ हतार हतार पैदल दौडेर लालभित्तिको पेट्रोल पम्पतिर हानियो । कुदेर पेट्रोल पम्प आइपुग्दा श्रीमती छैन, केबल पेट्रोल सकिएको बाइक मात्रै । तर पेट्रोल पम्प एरियामा भएका मानिस सुतिसकेका थिएनन् । त्यसैले उनीहरूलाई आफ्नी श्रीमतीको बारे सोधे ।

पम्पवाला साथी भाइहरुले बाइकमा आएको अर्को मानिसले श्रीमान भएको ठाउँमा पुर्याइ दिने भन्दै बाइकमा चढाएको र जबरजस्ती लालभित्तिबाट उत्तरतिर लगेको बताए । त्यसपछि पतिले साथीभाइहरुलाइ गुहार्न थाले फोन गरेर । उता अपहरित श्रीमतीको मोबाइल अफ थियो । बोलाइएका साथीभाइहरु आउन केहिबेर लाग्यो । अरु आइपुगेपछि हतार हतार लालभित्तिदेखि उत्तरतिर लागे । देवीझोडा पुगेपछि थाहा भो ती महिलालाई त्यतै ल्याएर बलात्कार गरी त्यो पापी भागिसकेको रहेछ । प्रत्यक्षदर्शीका अनुसार एक मानिसले मध्यराततिर जबर्जस्ती खोलातिर लगेको देखेपछि स्थानीय कुमाल टोलका तीन चार जना युवाले बाइकको पिछा गर्ने कोशिश गरेका थिए । निकैबेरपछि उनीहरू लोहोन्द्रा खोलामा पुग्दा उनीहरूले बाइकवाला र महिलालाइ भेटे पनि ।

त्यो पापीले महिलालाई बलात्कार गरिसकेको रहेछ किनकि उनी रोइरहेकी थिइन् । महिला रोइ कराइ गर्दै आएकोले युवाले खोलामा आएका महिला र बाइकवाललाइ केरकार गरे । बाइकवालाले महिलालाई उछिन्दै आफुहरु ब्वाइ फ्रेण्ड र गर्ल फ्रेण्ड भएकोले घुम्न आएको बतायो, तर त्यस्तो लाग्दैनथ्यो । त्यसैले युवाहरूले पहिले केही हुलिया जनाउने तथ्य प्रमाण सुरक्षित गरिसकेका थिए । युवाले त्यो बाइकवालालाइ नियन्त्रणमा लिने कोशिश पनि नगरेका होइनन् तर बाइकको चावी हरायो भन्दै उनीहरूलाई छ्क्याएर त्यो बाइकमा भागिहाल्यो ।

त्यो बाइकमा चाबी नै रहेनछ , चावी बिना नै स्टार्ट हुँदो रहरहेछ, त्यसैले त्यो भागिहाल्यो । केहिबेरमा त्यो मोबाइल स्विच अन गरेर सम्पर्क भएपछि लालभित्तिबाट आइपुगेका ती महिलाका श्रीमान अनि पब्लिक र स्रीमानले बोलाएर बेलबारी र केराबारीबाट प्रहरी टोली आइपुग्दा बलात्कारी भागिसकेको रहेछ । चारैतिर खोज्दा पनि त्यो मान्छे भेटिएन । इलाका प्रहरी कार्यालय बेलबारीले महिला बलात्कार भएको पुष्टि गरेको छ तर अपराधी पक्राउ परिनसकेको र अनुसन्धान भइरहेकोले थप बिवरण केही दिनपछि मात्र दिने बताएको छ ।