माेरङमा पेन्सिल आतंक : एक वालकको मृत्यु ,एक बिरामी

  • २८ माघ २०७४, आईतवार

अम्बिका भण्डारी, माेरङ । पेन्सिलले घोचेर कसैको ज्यान नै जान्छ भन्दा पत्यार नलाग्न सक्छ तर पत्याउनोस वा नपत्याउनोस् , मोरङमा पेन्सिलले घोचेकै निहुँमा  एक वालकको ज्यान गएको छ । त्यसैगरी जिस्कने क्रममा पेन्सिलले घोचेकै कारण अर्का एक विद्यार्थी पनि बिरामी परेका छन् ।

घटना माघ १९ गते शुक्रबारको हो । मोरङ बेलबारी २ स्थित जेभियर स्कुलको कक्षा १ मा पढ्ने बिद्यार्थीहरु कक्षा कोठामा खेल्दै थिए । खेल्ने क्रममा वालवालिकाले खेल्दाखेल्दै तिखारिएको पेन्सिल ठाडो पारेर बेन्चमा राखेका रहेछन् । केहि बेरमै सोही कक्षामा पढ्ने बिद्यार्थी कुसल बराइली आएर आफ्नो बेन्चमा बसे । त्यहाँ पेन्सिल छ भन्ने उनलाइ थाहा नभएकोले पेन्सिल उनको मलद्धारमा जाकियो । केही बेरमा पेन्सिल निकालियो । कुरा त्यत्तिकै सामसुम भयो ।

पढाई सकेर छुट्टी भएपछि उनी घर गए । घरमा गएर कुसलले पेन्सिलले घोचेको घटना आफ्ना बाबू आमालाई सुनाए । तर वालकको अवस्था सामान्य थियो । त्यसैले परिवारले पनि त्यसलाई गम्भीर रुपमा लिएनन् । शनिवार बिहान कुशलले आफना बाबुलाई ब्याडमिन्टन किन्न लगाए र दिउँसो साथीभाइहरुसंग खेलिरहे । तर खेल्ने क्रममा उनले अलिअली खुट्टा खोच्याएका थिए । बेलुकीपख अलिअलि ज्वरो आयो । त्यसैले कुशलका बाबू डम्बरले स्थानीय एक क्लिनिकमा लगेर जाँच गराए । त्यसबेला मलद्वार वरपर घाउ पनि देखिएन । त्यसैले ज्वरोको सामान्य औषधि मात्र दिइयो । वालककी आमा यसोदा बराइलीका अनुसार त्यसैदिन राती ११ बजेतिर पेट दुख्यो भन्दै कुसल निकै छटपटाए । फेरि एकैछिनमा बान्ता पनि गरे । भोलिपल्ट माघ २१ गते आइतबार बिहान कुसल बाबुसंग हिडेर नै बेलबारीको एक क्लिनिकमा गए । चेकजाँच गर्दा पिसाबमा इन्फेक्सन देखियो । त्यहाँबाट औषधि लिएर फर्केपछि खाना खाएर स्कुल पनि गए । परिवारका अनुसार दिउँसो टिफिनमा पनि ज्वरो आइरहेकोले आमासँग कुसल घर फर्के । अर्को दिन सोमबार र मङलबार ज्वरो आइरहेकोले कुसललाई स्कुल पठाइएन, कुसल घरमै बसे ।

तर २४ गते बुधबार निकै बिरामी भएको र पिसाब फेर्न पनि समस्या हुन थालेपछि कुसललाई बिराटनगरस्थित सुरक्षा हस्पिटल पुर्याइयो । त्यहाँ रगत र पिसाब लिन खोज्दा पिसाब नै आएन । डाक्टरको सल्लाह अनुसार उनलाई त्यहीँ भर्ना गरियो । बाबु डम्बर रसाइलीले दिएको जानकारी अनुसार बिहिवार बिहानसम्म पनि बिमार बिसेक नभएपछि डाक्टरले अन्यत्र लैजान सल्लाह दिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान (घोपा क्याम्प) पुर्याइयो । त्यहाँको इमर्जेन्सी वार्डमा रगतको नमुना लिएपछि तत्काल आइसियुमा लगियो । त्यसको भोलिपल्ट बेलुका ५ बजेतिर डाक्टरले कुशललाई मृत घोषणा गरे । वालकको पोस्टमार्टम गरिएपछि आइतबार दाह संस्कार गरिएको छ । वालकको पोस्टमार्टम रिपोर्ट आइनसकेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सोमबार कुसलको घर पुग्दा केही आफन्त भेला भएपनि सुनसान थियो । छोराको मृत्युमा मर्माहत भएकी आमा यसोदा कुनामा बसेर बर्बरी आँसु झारिरहेकी थिइन् । दुई छोरामध्ये जेठा छोरा कुसलको निधनले रसाइली परिवार मर्माहत भएको छ । कान्छा छोरा कौसल ५ बर्षका छन् । आफ्नो छोराको मृत्युमा उनीहरू कसैलाई दोष दिदैनन् । न्यून आर्थिक अवस्थाको बराइली परिवारका डम्बरले मजदुरी गरेर परिवार पाल्दै आएका छन् । छोराको मृत्यु एक एक भबितब्य र दुर्घटना भएको बताउदै वालककी आमा यसोदाले छोराको मृत्युमा स्कुलको कुनै दोष नरहेको र आफुहरुले क्षतिपूर्ति दाबी पनि नगर्ने बताइन् । यद्यपी कुशल अघ्ययनरत जेभियर बोर्डिङ स्कुलले बराइली परिवारलाई सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । डाक्टरको पोस्टमार्टम रिपोर्ट आइ नसकेकोले ठोकुवा गरेर भन्न नसकिने भएपनि पेन्सिलले घोचेकै कारणबाट आफ्नो छोराको मृत्यु भएको बताउदै यशोदाले पेन्सिलको खतरा बुुुुझेर उपयोगमा सतर्कता अपनाउन सबैसँग आग्रह गरेकी छिन् ।

पेन्सिलले घोचेर अर्का बिद्यार्थी पनि बिरामी

त्यसैगरी जिस्कने क्रममा पेन्सिलले नै घोचेका कारण बेलबारी २ लालभित्तिकै अर्का एक बिद्यार्थी बिरामी परेका छन् । स्थानीय कबिर माध्यमिक बिद्यालयमा कक्षा १० मा अध्यायनरत यम बहादुर श्रेष्ठ बिरामी परेका हुन् । संगै पढ्ने एक साथीले बेन्चमा बस्ने बेलामा जिस्किएर तिखारिएको पेन्सिल ठाडो पारेर राखिदिएका कारण पेन्सिलले मलद्वार नजिकै घोचेर घाउ भएको थियो ।

घटना केही दिन अगाडिको भएपनि यम बहादुर सामान्य उपचार गरेर बसेका थिए । तर उनलाइ जस्तै पेन्सिलले घोचेर छिमेकमै वालकको ज्यान गएपछि यम बहादुरलाइ बिराटनगर लगेर सोमबार सामान्य सर्जरी गरी शरीरभित्र अड्किएको पेन्सिलको टुक्रा निकालिएको पारिवारिक स्रोतले जनाएको छ । दुई बिद्यार्थीका परिवारबिच मिलापत्र भएको र घटना सामान्य भइसकेको कबिर स्कुलका एक शिक्षकले बताएका छन ।