राजमार्ग मिचेर सटर बनाउंदै चर्को बिवादमा मुछियो भगवती स्कुल, वडाध्यक्ष पनि बिबादमा

  • २७ जेष्ठ २०७५, आईतवार

अम्बिका भण्डारी / नेपाली समाजमा एउटा उखान छ ‘मुखमा मांड छैन , पुच्छरमा घिउ’ । उखान सुन्दा लाग्छ याे एउटा ठट्यौली हो, तर त्यो उखान उखानमा मात्र सिमित छैन, यथार्थमा आधारित छ । नपत्याए मोरङ बेलबारीको एउटा स्कुलको चाला हेर्नोस, अनि थाहा हुनेछ हो कि होईन भनेर ।

 

एकातिर बेलबारी नगरपालिकाले सार्बजनिक सुचना नै जारी गरेर पुर्व पश्चिम् राजमार्गको अघिकार क्षेत्रभित्र रहेका बिभिन्न पसल र भौतिक संरचना भत्काउन शुरु गरेको छ तर अर्कोतिर  बेलबारी ३ मा रहेको भगवती माविले भने  दोकानीहरुलाइ भाडा लाएर पैसा कमाउनकै लागि राजमार्गमा सटर निर्माण गरिरहेको छ ।

हो, सडकको ८५ फिट भित्र बिद्यालयले ईटा लगाएर सटर बनाइरहेको छ । पोहोर साल पुर्वपट्टीको सडक बिस्तार गर्दा पनि स्कुुल बिवादमा परेको थियो । त्यसबेेला एक दुुुुइ जनाको घरको केही भाग जोगाउनकै लागि पैसाको सौदाबाजी गरी पैसा लिएर स्कुलले सर्वदलीय सहमति भन्दै बाटोका लागि जग्गा दिएको थियो ।सो बापत घरवालाहरुबाट २० लाख लिएर स्कुलले २० लाख र नगरपालिकाले दिएको २० लाख गरी ६० लाखमा ब्यापारिक भवन अर्थात सटर बनाएर हाल भाडामा लगाउन थालेको छ । त्यसबेला मुनि कक्षा कोठा बनाएर माथि सटर बनाउन सकिने भएपनि त्यसो गरिएन ।

 

स्कुलको अबस्था चाहिँ कस्तो छ भने न आफ्नो खेल मैदान छ, न त फराकिलो परिसर ।  केही बर्षदेखि बेलबारी बहुमुखी क्याम्पस त्यहीँ सन्चालन भइरहेकोेले कक्षा कोठाको अभावै अभाव छ । कक्षाकोठाको समस्या भएको भन्दै स्कुलले पटकपटक क्याम्पसलाइ हट्न दबाब दिदै आएको छ । तर स्कुल भने कुनै निजी ब्यापारीक निकाय झैं स्कुलको जग्गामा सटर बनाउदै कमाउने मेलो खोज्नै ब्यस्त छ । त्यतिमात्र कहाँ हो र हुँदा हुँदा यसपाली त राजमार्गको क्षेत्राधिकारभित्र अरु सटर बनाइरहेको छ । बेलबारी १ को पुर्व बस स्टेसन नजिकै पनि आफ्नो जग्गामा अस्थायी भवन बनाएर स्कुलले दुई चार बर्षदेखि सटर भाडामा लगाउंदै आएको छ ।

बिद्यालयले यसअघि पनि दाताले दिएको जग्गामा मनपरी गरेको र दाताहरुको उपेक्षा गरेको आरोप खेप्दै आएको छ । बिद्यालयलाई कुन दाताले कति जग्गा दिएको हो र कहाँको जग्गा दिएको हो भन्ने बारेमा स्वयं  स्कुल प्रशासन पनि अन्यौलमै छ । बिद्यालयमा अझै बिद्यालयका दाताहरु को हुन र कति जग्गा दिएका हुन भन्ने रेकर्ड समेत उपलब्ध छैन । त्यस्तै बेला बिद्यालय प्रशासनले फेरी सडकमै सटर निर्माण गरेर अर्को बिवाद खडा गरेको गरेको छ । गुणस्तरीय शिक्षा दिनुपर्ने सरकारी स्कुल नै पैसा कमाउने ब्यापारमा लागेको  भन्दै दलका केही नेता स्थानीय आक्रोशित बनेका छन ।

 

कतिसम्म भने बिद्यालयलाई दिईएको जग्गामा समेत मोहियानी हक कायम भएको जग्गा छ । पोहोर साल राजमार्गबाट दक्षिण जाने सडक निर्माण गर्दा बिद्यालयको सार्बजनिक जग्गा किनबेच गरेको आरोप लागेको थियो । बेलबारी वडा नम्बर ३ का अध्यक्ष तथा बेलबारी नगरपालिकाका प्रबत्ता समेत रहेका योगेन्द्र सुवेदीसँग यस बिषयमा सम्पर्क गर्दा सटर निर्माण गर्ने बिषयमा सञ्चालक समितिले निर्णय नगरेको र प्रधानाध्यापक मानबहादुर खडका सहित केही ब्यक्तिले आफुखुशी यो निर्णय गरेको उनले बताए ।सुवेदी बिद्यालय ब्यबस्थापन समितिका पदेन सदस्य समेत हुन । उनले सडकको जग्गा मिचिएको बिषयमा भने तत्काल १ सय ५ फिट सडक निर्माण कायम नहुने र सडक निर्माण हुँदा भत्काउने र सोही समयसम्म सो सटरहरु अस्थायी रुपमा निर्माण गरी भाडामा लगाउने उद्धेश्यका साथ निर्माण भएको हुनसक्ने बताए ।
उता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा  वडा नम्बर २ का अध्यक्ष घनश्याम गौतमले भने बिद्यालयले आफनो जग्गाभित्र जे पनि गर्न पाउने ठाडो  जवाफ फर्काएका छन । नगरपालिकाले ८२ फिटभित्र बनिरहेको संरचना भएपनि बिद्यालयले निर्माण गरेका सटर ८५ फिटमा मात्र रहेको बताए । सडक बिभागले पछि सडक फराकिलो पार्दा सो संरचना भत्काउने गरी निर्माण गरिएको उनको भनाई छ । बेेेलवारी नगरपालिकाले डोजर लगाएर राजमार्गको ८२ फुट क्लियर गर्न थालेका बेला एक वडाध्यक्षकै नेतृत्व रहेकोे स्कुुलले गरेको काम जो अगुुवा उही बाटो …. भने झैं भएको टिप्पणी सर्वसाधारणले गर्न थालेका छन् ।

स्थानीय बासिन्दा भने शिक्षा प्रदान गर्ने ठाँउमा दाताहरुको दिएको जग्गामा बिद्यालयले ब्यापार गरिरहेको भन्दै आक्रोश पोख्न थालेका छन । एमाले नेता समेत रहेका समाजसेवी प्रताप थापाले स्कुलले कक्षाकोठा थप गर्नेतर्फ भन्दा राजमार्गमा सटर बनाउने स्कुलको निर्णय गलत भएको बताए । उनले राजमार्गमा सटर बनाउने कार्य विरुद्ध फेसबुकमा स्टाटस लेखेरै बिरोध गरेका छन् । उनको बिरोधबाट शुरु भएको सो बिबादित बिषय फेसबुकमा भाइरल बन्दै गएको छ ।