ती गाउँले जसले अपहरणमा परेकी चार बर्षिया छोरीलाइ मुक्त गर्दै पक्रिए अपहरणकारीलाई पनि

  • १३ भाद्र २०७५, बुधबार

 मोरङको उर्लाबारी नगरपालिका ६ बाट चार बर्षिया बालिकालाई अपहरण गरेर लैजाने एक युवालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
स्थानीय कमलकुमार घिमिरेकी छोरी कृतिकालाई अपहरण गरेर लैजादै गर्दा  झापाको दमक ८ घर बताउने ३० वर्षीय दिनेश कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएर बुझाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।
घरको आँगनमै साथीहरुसंग खेल्दै गरेको अवस्थामा साँझ ७ बजे उनको अपहरण गरिएको थियो । त्यहाँबाट लगभग दुई सय मिटर पर पु¥याएपछि थाहा पाएर स्थानीयले बालिकाको उद्धार गरेका थिए ।

 प्रहरीका अनुसार उनीसंग अन्य चार/पाँच जना बालबालिका पनि खेल्दै थिए । छोरीलाई उठाउनु अघि उनीसंग खेल्दै गरेका अरुलाई लैजानका लागि फकाउने कोसिष गरे पनि अरुले नमानेपछि चकलेट किनिदिन्छु भनेर फकाउँदै अपहरणकारीले आफ्नी छोरीलाई लिएर हिडेको वालिकाका बाबु कमलकुमारले बताए । उनका अनुसार छोरी कृतिकालाई नयाँ मान्छेले लिएर गएको देखेपछि  खेल्दै गरेका बालबालिकाले घरभित्र गएर आमालाई सुनाएका थिए । उनी बाहिर निस्किएर आमाले हेर्दा छोरी नदेखेपछि वरपर होहल्ला गरेकी थिइन्  ।

त्यसपछि करिब दुई सय मिटर भन्दा पर पु¥याइसकेकी वालिकालाइ ‘होहल्ला गर्दै गाउँले भेला भएपछि अपहरणमा संलग्न केटोले छोरीलाई छाडेर भाग्ने प्रयास गरेको थियो । अपहरणकारीले भाग्ने प्रयास गरे पनि स्थानीय बासिन्दाको सहयोगमा वालिकाका परिवारले नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका कार्कीका सम्बन्धमा अनुसन्धान सुरु गरे पनि उसको वास्तविक ठेगाना भने पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । अपहरणकारीको  साथबाट भारत आछामको तीनसुकिया जिल्लास्थित गोग्राहा टोलको एउटा परिचय पत्र फेला परेकोले त्यो ब्यक्ति नेपाली मुलको भारतीय नागरिक हुनसक्ने प्रहरीले जनाएको छ ।