व्यवसायमा जम्दै उर्लाबारीका युवा

  • २३ पुष २०७३, शनिबार

इश्वर भट्टराई, उर्लाबारी / स्वदेशमै रोजगारीको अवसर नहुँदा समृद्ध जीवनको कल्पना गर्दै विदेश हान्निने युवाहरू बग्रेल्ती छन् । तर, पछिल्लो समयमा स्वदेशमै आफ्नै व्यवसायमा रम्नेहरूको संख्या पनि उल्लेख्य छ । उर्लाबारीको सन्दर्भमा यहाँको व्यापार व्यबसायमा अहिले झण्डै ८० प्रतिशत युवापुस्ताकै बोलवाला छ । व्यवसायिक शोरूम, ठूला औद्यौगिक कम्पनीका डिलर होस् या कम्प्यूटर टेक्नोलोजीदेखि सुन पसल, होटल रेष्टुरेण्ट व्यवसाय, कलर ल्याब, फर्निचर उद्योग, कम्प्यूटर टेक्निकल सेन्टर, सहकारी संस्था, स्कूल सञ्चालन सबैतिर युवाहरूकै बर्चश्व छ । यसैसन्दर्भमा प्रस्तुत युवाहरू आफ्नै ठाउँमा व्यवसाय गरेर उदाहरणीय बन्दै अरूलाई पनि व्यवसायमा प्रेरित गरिरहनुभएको छ ।

युवाको आकर्षण ‘ही एण्ड सी’मा
उर्लाबारी–३ मा २०७३ मा सुनिल अग्रवाल र रोजिना देवकोटाले सञ्चालनमा ल्याएको ‘ही एण्ड सी’ अहिले उर्लाबारीमै सर्वाधिक कपडा बिक्री गर्न सफल पसलका रूपमा स्थापित भइसकेको छ । पुख्र्याैली व्यवसाय कपडा पसल नै भएपनि सुनिलले अहिले आधुनिक शैलीमा ढालेर पूर्वाञ्चलभरका ग्राकहहरूलाई पनि आफ्नो पसलमा आकर्षित गरिरहनुभएको छ । उहाँले उर्लाबारीमै पहिलो पटक कपडाका डिजाइनहरू आफ्नो फेसबुक पेजमा राखेर नौलो तरिकाबाट बिक्री गरिरहनुभएको छ । आफ्नो कपडा पसलमा नयाँ डिजाइनका कपडा राखेर युवापिढीलाई आकर्षित गरिरहनुभएका उहाँको अनुसरण गर्दै अन्य थुप्रै पसलहरू पनि खोलिएका छन् । १५ देखि २० लाख रूपैयाँको लागतमा शुरू गरेको व्यवसायले छोटो अवधिमा लोकप्रियता पाउनुमा उहाँ आधुनिक प्रविधिको प्रयोगलाई आधार मान्नु हुन्छ । एकवर्षदेखि प्रविधिको सदुपयोग गर्दै व्यवसाय गरिरहनुभएका उहाँलाई नेपालभरबाट नै कपडाको डिमाण्ड आउने गरेको बताउनुहुन्छ । तीन हजार रूपैयाँको कपडा खरिद गर्दा होम डेलिभरिको व्यवस्था रहेको उहाँको भनाइ छ । बीबीए अध्ययन गर्नुभएका अग्रवालले जुनसुकै व्यवसायलाई पनि नयाँ ढंगबाट शुरू गरेमा अवश्य पनि सफलता मिल्ने बताउनुहुन्छ । विदेशमा रगत पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्न भन्ने मान्यता उहाँ राख्नुहुन्छ ।

विद्यार्थीको कन्फ्युजन हटाउने सुमनको सोलुसन
उर्लाबारी–४ स्थित सोलुसन कम्प्यूटर इन्स्टिच्यूटमा कम्प्यूटर तथा ट्युसन कक्षा सञ्चालन हुँदै आएको छ । सूचना प्रविधिको यो पछिल्लो युगमा कम्प्यूटरमार्फत रोजगारमुखी बनाउने उद्देश्यले इन्स्टिच्यूट सञ्चालनमा ल्याएको निर्देशक सुमन अधिकारीले बताउनुभयो ।

पछिल्लो समयमा कोरियाको रोजगारीमा युवाहरूको चासो बढेसँगै उनीहरूलाई कोरियन भाषामा दक्ष बनाउने र वैदेशिक रोजगारीमा सघाउने उद्देश्यले कोरियन भाषाको कक्षा पनि सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार इन्स्टिच्यूटमा अंग्रेजी तथा माध्यमिक तथा उच्च माध्यमिक तहका ट्युसन कक्षासमेत सञ्चालन हुँदै आएको छ । यस्तै, रोजगारमुखि रहेको कम्प्यूटर बेसिक, हार्डवेयर, प्रोग्रामिक कक्षाहरू पनि जब ग्यारेन्टी सहित सञ्चालनमा आएको उहाँको भनाइ छ । ‘हामीले युवापुस्तालाई रोजगारमुखी बनाउने लक्ष्यका साथ कम्प्यूटर प्याकेजमा विशेष जोड दिएका छौं,’ उहाँले भन्नुभयो, ‘सोलुसनमा कोरियन भाषाको कक्षाका साथै विभिन्न तहका ट्युसन कक्षा सञ्चालन भइरहेको छ ।’
अर्काेतर्फ पछिल्लो समय उर्लाबारीमा इन्स्टिच्यूटहरू खुल्ने क्रम बढेसँगै यस क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा चलेको छ । तर, गुणस्तरीय शिक्षाको प्रतिस्पर्धामा सोलुसन अग्रपंक्तिमा रहेको उहाँको दावी छ । ‘अन्य इन्स्टिच्यूटमा विद्यार्थीलाई विभिन्न प्रलोभन देखाउने गरिन्छ’ उहाँले भन्नुभयो, ‘तर, हामी भने दक्ष शिक्षकशिक्षिकाबाट गुणस्तरीय शिक्षा दिँदै आएका छौं ।’

हाडर्वेयर व्यवसायमा मनिष
‘काठमाडौं, विराटनगरलगायत अन्य ठूला शहरहरूका युवाभन्दा हामी ग्रामीण क्षेत्रका धेरै युवा रोजगारीका लागि बिदेसिन्छौ’ उर्लाबारी–३ का मनिष गौतम थोरै मात्र दुःख र धैर्य गर्दा आफ्नै ठाउँमा बसेर पनि धेरै उपलब्धि हाँिसल गर्न सकिने बताउनुहुन्छ । उहाँ आफूपनि ५–६ वर्षको अवधिमा रोजगारीका लागि चारवटा मुलुक पुग्नुभयो । तर, अब कहिल्यै विदेश नजाने निचोडका साथ उहाँले उर्लाबारी–३ जनपथ टोलमा आफ्नै व्यवसाय सञ्चालनमा ल्याउनुभएको छ ।
करिब ४० लाखको लगानीमा उहाँले ओस्कार टे«ड लिङ्क सञ्चालनमा ल्याउनुभएको हो । २०७२ सालदेखि सञ्चालनमा आएको हार्डवेयर पसलमा घरनिर्माणका सम्पूर्ण सामग्री होलसेल मूल्यमा पाइने उहाँ बताउनुहुनुन्छ । घरपरिवारकै प्रेरणा र हौसलामा व्यवसायमा छिरेको बताउनुहुने उहाँ यसअघि ट्याक्टर व्यवसायमा हुनुहुन्थ्यो ।
ग्रामीण क्षेत्रमा पर्याप्त रोजगारीको अवसर तथा सानो बजारका कारण रोजगारीका लागि युवाहरू विदेसिने गरेको उहाँको भनाइ छ । आफू विदेश बस्दा ग्रामीण क्षेत्रका मात्रै भेटिने गरेको बताउने उहाँले ग्रामीण क्षेत्र लक्षित गरेर उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने उहाँ बताउनुहुन्छ । निकट भविष्यमा आफूपनि उद्योग सञ्चालन गरेर ५० जनालाई रोजगारी दिने उहाँको लक्ष्य छ ।

नुत्तनको ट्राभल्स एण्ड टुर्स
गरे के हँुदैन भन्ने कुरा उर्लाबारी–२ स्थित पिके ट्राभल्स एण्ड टुर्सका नुत्तन राईको सफलताले पुष्ठि गर्छ । २१ वर्षको उमेरमा सोही पसलमा मासिक ३ हजार रूपैयाँले काम गर्नुभएका उहाँ हाल मालिक नै बन्नुभएको छ ।

ट्राभल्समा जुनसुकै मुलुक जानका लागि अन्तराष्ट्रिय हवाइ टिकट तथा भारतको जुनसुकै स्थानमा रेल तथा बसको टिकट पाइन्छ । २०६६ सालमा कलिलै उमेरमा काठमाडौं छिर्नुभएका उहाँले त्यहाँस्थित एक होटलमा क्लिनरको रूपमा काम गर्नुहुन्थ्यो । उहाँमा पनि विदेश जाने सोच नआएको होइन । रोजगारीका लागि विदेश जानका लागि पार्सपोर्ट बनाउनुभएका उहाँले अब विदेश पारिवारिक भ्रमणका लागि मात्र जाने बताउनुहुन्छ ।
विदेश जानका लागि राखेको ५० हजार र पाँच रूपैयाँ ब्याजमा अढाइ लाख ऋण काडेर उहाँले ट्राभल्सलाई आफ्नो स्वामित्वमा पार्नुभयो । ट्राभल्स सञ्चालनमा आएपनि एयरलाइन्सलाई दिनुपर्ने रकम नहुँदा उहाँले अन्य ट्राभल्समार्फत टिकट बुकिङ गर्नुहुन्थ्यो । त्यसबाट बचेको न्यून प्रतिशतले उहाँले डेढ वर्षको अवधिमा ऋण तथा एयरलाइन्सलाई डिपोजिट गर्दै उहाँले हाल पिकेबाटै राष्ट्रिय तथा अन्तराष्ट्रिय टिकटको आधिकारिक बिक्रेता बनाउनुभएको छ ।