बिर्तामोडलाई ६ – ० ले पराजित गर्दै मोरङ एकेडेमीले जित्यो डांगीहाट गोल्डकपको उपाधी

  • ३० भाद्र २०७५, शनिबार

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा भइरहेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण बुद्द एयर डांगीहाट गोल्डकपको उपाधी मोरङ फुटबल एकेडेमी उर्लाबारीले जितेको छ ।

लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्तामोड युनाइटेड क्लबलाइ ६-०  ले पराजित गर्दै मोरङ एकेडेमीले उपाधी जितेको हो । अपरान्ह ३ बजे शुरु भएको खेलको पाँचौ मिनेटमा नै मोरङका ९ नम्बर खेलाडी निशान लिम्बुले आफ्नो टिमका लागि पहिलो गोल गरेका थिए । त्यस लगत्तै खेलको सातौं मिनेटमा मोरङकै जर्सी नम्बर १४ का कर्ण लिम्बूले अर्को गोल थप्दै खेललाई २- ० को अबस्थामा पुर्याएका थिए ।

तुलनात्मक रूपमा पनि कमजोर देखिएको बिर्तामोडले मध्यान्तरसम्म पनि राम्रो प्रदर्सन गर्न सकेन । मध्यान्तरको उत्तरार्धतिर पुग्दा मोरङ फुटबल एकेडेमीका सौजन राइले टीमका लागि अर्को गोल थप्दै खेललाई जितको दिशातर्फ धकेलेका थिए । दोस्रो हाफको १२ औं मिनेटमा मोरङले पेनाल्टीको अबसर गुमाएपनि मोरङका जर्सी १४ का खेलाडी कर्ण लिम्बूले ब्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४ – ० को स्थितिमा पुर्याएका थिए । त्यसको केही मिनेटमा कर्णले ह्याटि्रक गरेर टिमको जित सुनिश्चित गरेका थिए । दोस्रो हाफको अतिरिक्त समयमा मोरङका तर्फबाट १० नम्बरे काला मुलका अफ्रिकन खेलाडी पेन्कले छैटौं गोलको रूपमा अन्तिम गोल गर्दै ६- ० को नतिजा बनाएका थिए ।

मध्यान्तरपछि बिर्तामोडका खेलाडीले मोरङलाई केही दबाबमा राखेका थिए । तर बिर्तामोडले गोल गर्ने केही अबसर पाएपनि त्यसको फाइदा उठाउन सकेन ।

प्रतियोगिताको बिजेता मोरङ फुटबल एकेडेमीले कप  र ट्रफी सहित दुई लाख २२ हजार २ सय २२ रुपैयाँ जितेको छ भने उपबिजेता बिर्तामोड युनाइटेडले  कप र ट्रफी सहित एक लाख ११ हजार १ सय ११ रुपैयाँँ हात पारेको छ । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने मोरङका विवेक पौडेलले १० हजार नगद सहित मुस्ताङ ट्राभल्स एण्ड टुर्सको प्रायोजनमा  एक हप्ते दुवइ टुरको प्याकेज पाएका छन् । त्यसैगरी बिर्तामोडले पोष्टमा छिराइसकेको गोलको उत्कृष्ट बचाउ गर्ने मोरङकै जीवन धामी खेलको म्यान अफ द म्याच घोषित भए । त्यसैगरी मोरङ एकेडेमीका कर्ण लिम्बु सर्वाधिक गोलकर्ता र उत्कृष्ट मिड फिल्डर भए । उनले प्रतियोगितामा चार गोल गरेका थिए ।

मैदान वरिपरि भरिभराउ दर्शकको उपस्थिति भएको फाइनल खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा ) का अध्यक्ष कर्मा छिरिङ शेर्पा प्रमुख अतिथिको रूपमा उपस्थित थिए । त्यसैगरी एन्फा सह सचिब बसन्त अर्याल, केन्द्रिय सदस्यहरु किरण राई, मधुसूधन उपाध्याय, रुपेश अधिकारी र मोरङ र सुनसरीका फुटबल संघका पदाधिकारी पनि उपस्थित थिए । प्रतियोगिताका लागि बुद्द एयरले मुख्य प्रयोजन गरेको थियो भने रिभर ओभरसिजले सहप्रायोजन गरेको थियो । प्रतियोगितामा संयन्त्र डटकम सहित आधा दर्जन स्थानीय मिडियाहरु मिडिया पार्टनर रहेका थिए ।