प्रदेश राजधानी बिराटनगर हैन, इटहरी वा गोठगाउँमै होस् भन्ने चाहन्छन् नागरिक

  • १७ आश्विन २०७५, बुधबार

प्रदेश १ को नाम के र  राजधानी कहाँ राख्नु ठिक हुन्छ भन्ने बिषयमा हिजोआज पुर्वमा निकै चर्को बहस भइरहेकोे छ ।  चिया पसलदेखि सामाजिक संजालमा मात्रै होइन, घर घर र चोक चोकमा पनि प्रदेशको राजधानी कहाँ भन्ने  बिषयले स्थान पाउन थालेको छ । यसै हप्ता प्रदेश १ का मुख्य मन्त्री शेरधन राइल बिकेन्द्रीत राजधानीको अबधारणा ल्याएपछि चर्चा बढेको यो बिषयले प्रदेशको सदनमा पनि राम्रै स्थान पाएको  छ ।

धेरैले सरकारले अस्थायी राजधानी तोकेको बिराटनगर नै राजधानी बनाउनुपर्ने तर्क गरिरहेका छन् भने बोडरमा रहेकोे बिराटनगर होईन; इटहरी, धरान, धनकुटा वा गोठगाउँलाई प्रदेश राजधानी बनाउनुपर्ने  पक्षमा पनि उत्तिकै बलियो जनमत छ ।

यसै सन्दर्भमा संयन्त्र डटकमले प्रदेश १ को राजधानी कहाँ उपयुक्त हुन्छ भन्ने बिषयमा जनमत अभियान शुरु गरेको छ । प्रस्तुत छ समाचार सम्पादक केशु बिरही को  समेत  सहयोगमा विभिन्न स्थानका र विभिन्न क्षेत्रका मानिसहरूलाई प्रत्यक्ष भेटेर  समाचार  सम्पादक अम्बिका भण्डारीले तयार गरेको जनमत सहितको सामग्री :


हरेक हिसाबले  गाेठगाउँ ठिक छ हरि कोइराला (पत्रकार) कानेपोखरी, मोरङ

गाेठगाउँ नै  प्रदेश नं.१ काे राजधानीको लागि उपयुक्त छ किनभने यो ठाउँ पूर्व पश्चिम राजमार्गमा पर्छ र प्रदेश १ खण्डको लगभग मध्य भागमा पनि हो । हवाई जहाजबाट अाउने र सडकबाट अाउनेका लागि पायक पर्ने ठाउँमा पर्छ ।

गाेठगाउँमै रहेकोे पूर्वाञ्चल विश्व विद्यालयका सुविधा सम्पन्न भवनमा मन्त्रालय राख्न सकिन्छ । विश्व विद्यालयकाे १०८ विगाहा जमिन छ ।अाधा जमिनमा विश्व विद्यालय र अाधामा नयाँ संरचना निर्माण गर्न सकिन्छ ।

गाेठगाउँमा न बाढीले डुवाउँछ,न खाेलाकाे कटान समस्या छ,न त नयाँ संरचनाको निर्माण गर्दा सर्वसाधारणको जग्गा नै अधिग्रहण गर्नुपर्ने समस्या छ । अर्को कुरा साेलु र ताप्लेजुङबाट हवाई जहाजमा उडेर अाउनेलाई मात्रै हाेईन, अाेखलढुंगा,खाेटाङ,भाेजपुर,उदयपुर ,धनकुटा तेर्हथुमबाट बस चढेर अाउनेलाई पनि सहज छ ।
सुन्दरहरैचा नगरपालिका क्षेत्र चारकोसे जङ्गलसँगै जाेडिएकाेले भाेलिका दिनमा जस्तोसुकै संरचना निर्माण गर्न परेपनि ऐलानी पर्ति जग्गाको अभाव हुदैन । त्यहाँ  रंगशाला र हवाईमैदान बनाउनु परेपनि जमिनकाे अभाव हुँदैन ।


इटहरी नै ठिक हुन्छ – गणेश गौतम केर्खा, झापा

अरु ठाउँ भन्दा सेन्टरमा पर्छ । धनकुटा तेह्रथुमतिर पहाडतिर जान होस वा पुर्व वा पश्चिम जान सेन्टरमा पर्छ ।  पायकको हिसाबले धनकुटा वा बिराटनगरभन्दा इटहरी नै ठिक छ । इटहरीलाइ बिस्तार गरेर गोठगाउं वा तरहरातिर पनि पुर्याउन सकिन्छ तर बिराटनगर बोर्डर एरिया भएकोले चारैतिर बिस्तार गर्न सकिन्न । हुन त मेरो हालको बसाइ बिराटनगरमै छ तर पनि मलाई इटहरी नै ठिक लाग्छ ।


इटहरीमा नै राम्रो हुन्छ – राजकुमार चौधरी, पथरीशनिश्चरे

राजधानी जहाँ भए नि हाम्रो लागि के फरक पर्ला र ? यो बिषयमा मलाई धेरै त थाहा छैन तर मेरो विचारमा सेन्टर पनि इटहरी नै छ । बिराटनगरभन्दा  सफा पनि छ ।  सबैलाई पायक पर्ने पनि इटहरी नै हो । त्यसैले मेरो बिचारमा इटहरी नै ठिक हुन्छ जस्तो लाग्छ ।


बिराटनगर ठिक छ नि – दुर्गा बस्नेत बिराटनगर

 चाहे भौगोलिक हिसाबले होस वा जनसंख्या अथवा खाली ठाउँ, सरकारी जग्गा र सरकारी कार्यालय कुनै पनि दृष्टिले बिराटनगरभन्दा उपयुक्त अन्यन्त्र छँदैछैन । विराटनगरमा राजधानीका लागि सबै पूर्वाधार छन् ।  त्यसैले बिराटनगरको विकल्प नै छैन  ।


धरान भन्दा राम्रो कहिँ हुन्न –  नरहरी उप्रेती , धुलाबारी

धनकुटा लगायत पहाडी ईलाका आउन जान होस वा हावापानीको हिसाबले धरान नै ठिक छ । पहाडी ईलाका मात्रै होइन, तराईको लागि पनि धरानभन्दा उपयुक्त अरु ठाउँ छैन । त्यसैले धरानलाई राजधानी बनाइनुपर्छ  ।


इटहरी नै उपयुक्त – अमअरेन्द्र कुमार साह बिराटनगर

हुन त इटहरी नै ठिक हो । सबै जिल्लाको सेन्टर पनि । बिराटनगर त्यसै पनि बिकास भएकै ठाउँ हो । बिराटनगरमा जनसंख्याको चाप ज्यादा छ । संघीय अबधारणा अनुसार बिकास भइसकेको ठाउँलाई राजधानी बनाउने होइन, कम बिकशित स्थानलाई प्रबर्द्धन गर्नुपर्छ । त्यस हिसाबले पनि बिराटनगर भन्दा इटहरी नै ठिक छ । बोर्डर एरिया भएकोले पनि बिराटनगर प्रदेश राजधानीका लागि उपयुुक्त होईन ।


धनकुटा, बिराटनगर, इटहरी वा गोठगाउं जता भए नि ठिकै – मिना दाहाल बिराटनगर

रोजाइ त धनकुटा हो तर अहिलेको बसाई बिराटनगर भएकोले यहीँ भए नि ठिकै छ । मेरो बिचारमा बिराटनगरमै राजधानी बनाउँछन् जस्तो लाग्छ  । हुन त इटहरी र गोठगाउं पनि उपयुक्त हो तर इटहरी र गोठगाउं राजधानी  हुन्छ जस्तो मलाइ चाहिँ लाग्दैन ।


सारे पनि संरचना तयार गरेर मात्र सार्नुपर्छ – अर्जुन आचार्य (सचिब पत्रकार महासंघ मोरङ)

प्रदेश राजधानी यहीँ हुनुपर्छ भन्ने छैन । बिराटनगर,इटहरी, गोठगाउं, धनकुटा र धरान जहाँ भए नि हुन्छ तर अहिले अर्को ब्यबस्था नभएसम्म बिराटनगरबाट राजधानी सारिहाल्नु हुन्न । अहिले जहाँ भए नि राजधानी तोकौं र त्यसको लागि निश्चित ठाउँमा भौतिक पुर्वाधार वा संरचना निर्माण गर्न थालौं र जब सबै संरचना तयार हुन्छन् , तब राजधानी सारौं तर राजधानी बिकेन्द्रीत हुनु हुदैन । त्यसो गर्दा जनताले दु:ख पाउँछन् । त्यसैले एकैठाउंमा प्रदेशका सबै संरचना तयार गरौं र त्यो स्थानमा राजधानी कायम गरौं । यो नै बैज्ञानिक विधि हो ।


इटहरी वा गोठगाउं नै ठिक छ नि – गणेश दाहाल, अधिबक्ता (धनकुटा, हाल काठमाण्डौं)

मेरो घर धनकुटा हो, त्यसैले स्वाभाविक रुपले त्यहीँ भए हुन्थ्यो जस्तो त लाग्छ तर आफ्नो  ठाउँमै राजधानी हुनुपर्छ भनेर मात्रै हुँदैन, हरेक हिसाबले उपयुक्त हुनुपर्यो  । त्यसैले इटहरी वा गोठगाउं केन्द्र रहनेगरी प्रदेशको राजधानी बनाउंदा सबैभन्दा उपयुक्त हुन्छ । यी ठाउँ बाहेक अन्यत्र प्रदेश राजधानी बनाउनु उपयुक्त हुन्न ।


बिराटनगर आफैंमा राजधानी हो – तेजेन्द्र भण्डारी संयोजक अनलाइन मिडिया समूह,मोरङ 

बिराटनगरमा राजधानीका लागि चाहिने सबै पुर्वाधार छन् । स्थानीयबासी भएकोले पनि यहाँ राजधानी भए राम्रो । तर बिराटनगर आफैंमा राजधानी हो । यसलाई प्रदेशको राजधानी बनाइरहनुपर्ने जरुरी छैन । अन्यत्र राजधानी बनाएपनि अन्यत्रका मान्छेलाई यहीँ आउनुपर्ने हुन्छ ।  किनभने एयरपोर्ट यहीँ छ । अझ अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट बन्दैछ । एकसय भन्दा बढी नर्सिङ होम र हस्पिटल र टिचिङ हस्पिटल छन् । धेरै कार्यालय यहीँ छन् । ठुल्ठुला सपिङ मल बन्दैछ्न । थ्रीस्टार र फाइभ स्टार होटल बन्दैछन । ती सरेर जाने होइनन् । त्यसैले यहाँका मानिसहरुलाइ राजधानी भए नि नभए पनि खासै फरक पर्दैन ।  अन्यत्र राजधानी सारे नि हुन्छ । अन्यत्र राजधानी हुन नसक्ने होईन तर अन्यत्र राजधानी बनाउंदा संरचनाका लागि अरबौं खर्च हुन्छ , त्यसो किन गर्ने ?


सेन्टरको हिसाबले इटहरी वा गोठगाउं, संरचनाको हिसाबले बिराटनगर  – पार्वती बराल, बेलबारी मोरङ

सेन्टरको हिसाबले त इटहरी पनि सबैतिरको सेन्टर होईन तापनि तुलनात्मक सेन्टर र सबैको चाहना इटहरी नै हो । तर इटहरीमा वा गोठगाउंमा पर्याप्त खाली जग्गा र भौतिक संरचना नभएकोले संरचना बनाउन लामो समय लाग्छ । संरचनाको हिसाबले बिराटनगर तुलनात्मक रूपमा बलियो छ । त्यसैले सबै कुरा हेरेर उपयुुक्त स्थानमा प्रदेश राजधानी बनाउनुपर्छ ।


इटहरी, त्यसो नभए बिकेन्दीत राजधानी – सिताराम रायमाझी, बिराटचोक

मेरो घर भएको हिसाबले स्वार्थ हेर्ने हो भने त गोठगाउं हो तर सबैलाई पायक पर्ने हिसाबले चाहिँ इटहरी जत्तिको ठाउँ अन्यत्र छैन ।  त्यसो नभए मुख्यमन्त्री शेरधन राइले भन्नुभएको जस्तो सबै ठाउँको समान बिकासका लागि बिकेन्दीत राजधानीको अबधारणा ठिक हुन्छ ।


इटहरी वा गोठगाउं नै सहज – हेमन्त सुवेदी (श्याम), बेलबारी मोरङ

पहाडी भेगका जनतालाई समेत मध्यनजर गरेर
इटहरी र गोठगाउंलाइ राजधानी बनाउदा उपयुक्त र सहज हुन्छ । तराई क्षेत्रको लागि पनि त्यो भन्दा उपयुक्त ठाउँ अन्यत्र छैन ।


इटहरी नै ठिक हो नि – रोहित खत्री, फिक्कल इलाम

हाम्रो लागि त दमक भैदिए हुन्थ्यो जस्तो लाग्छ तर सबैको पायक हेर्नुपर्यो  । त्यसैले अहिले इटहरी वा गोठगाउं नै ठिक हुन्छ । किनभने सबैतिरबाट आउन जान नि सजिलो छ । जनताको चाहना पनि बिराटनगरभन्दा इटहरी नै भैदिए हुन्थ्यो भन्ने छ । 


गोठगाउँ वा इटहरी नै ठिक – नवीन थापा क्षेत्री, केराबारी

प्रदेश १ को राजधानी भारतको सिमानामा रहेको बिराटनगरमा  होइन, गोठगाउमा हुनु हरेक हिसाबले राम्रो हुन्छ  यदि त्यसो हुन नसके इटहरी दोश्रो र धरान तेस्रो बिकाल्प हुनसक्छ । तर बिराटनगर राजधानीको लागि उपयुक्त होइन ।