मैले बिताएका कष्टकर ती १५ दिन
- १ कार्तिक २०७५, बिहीबार
– अस्मिता भट्टराई
साइली खोइ काकी ? भन्दै घर लिप्दै गरेकी काकीलाई सोधें । १५ दिन जति साइली त आउदिन है कान्छी भन्दै काकी बोल्नुभयो, नपत्याउदो अनुहार लाउंदै । नढाट्नु न काकी सबै भेला भइसके खेल्न जानू छ क्या भन्दै म बोलें । १३,१४ बर्षकी भइसकिस् खेल्ने हैन अब बिहा गर्ने बेलामा, भन्दै काकी ठुलो स्वरमा बोल्नुभयो । “उम गर्छु यत्रैमा म त गर्दिन काकी ” भन्दै मलिन स्वरमा बोलें ।
कान्छी , हाम्री साइली त नछुने भएर १५ दिनलाइ पल्लोगाउ फूपूकोमा पठाको छ , त्यसैले त आज घर चोख्याएको भन्दै धमाधम लिप्न थाल्नुभयो । नछुने रे ? किन पठाको त” अचम्म मान्दै हतपत सोधिहालें । महिनावारी भकी हो ,कसैलाइ छुनुहुदैन ,माइतीको अनुहार पनि हेर्नू हुँदैन, त्यसैले पठाको कान्छी भन्दै काकी हात धुन जानुभयो । प्रश्न धेरै थियो गर्न तर ढिलो भएर म दगुर्दै खेल्न तर्फ लागें ।
भोलिपल्ट ,, मनमा कुरा खेलाउदै काकीको कुरा सोच्दै टोलाउदै थिए, ” खाना खान आइज कान्छी स्कुल जान ढिलो भयो” भन्दै आमाले बोलाउनु भयो । खाना खाएर स्कुल जान तयार भइरहेको थिएँ ,एक्कासि पेट दुखेजस्तो भयो तर वास्ता नगरी स्कुल तर्फ लागें ।
बेलुका घर आएर ड्रेस फेर्दै थिए म, अचम्म ! भएँ फ्रकमा रातो रगत लागेको रैछ । ला म त महिनावारी भएँछु, के गर्ने कसो गर्ने केही थाहा छैन । म अत्तालिदै डराएँ ,अब मलाइ पनि कस्कोमा पठाउने हो भन्दै एक्लै रुदै थिएँ, यत्तिकै निदाउन पुगेंछु।
आम्मै ! यो त नछुने भइछे भन्दै अत्तालिदै हुनुन्थ्यो आमा । म झल्यास बिउँझें, अनि डराएर रुन थालेंं । अहिले भाइ आइपुग्छ भन्दै आमा आफ्नो सुतिको सारी ६/७ टुक्रा पारेर मेरो कपडा पोको पार्न थाल्नुभयो। म झन रुँदै नाइं जादिन आमा कहीँ पनि भन्दै जिद्दी गर्दै थिएँ तर आमा मैले भनेको कुरा नसुनी पल्लो गाउँ सानिमाको घर पुर्याएर नबोली फर्किनु भयो।
महिनावारी भनेको के हो ? कसरी हुन्छ ,किन भएको ? के यो सब गर्नैपर्छ भन्दै सोचिरहें । रगत लागेको कपडा बाहिर सुकाउन लाज लागेर म भित्रै सुकाएर त्यै चिसो लाउथें ।
मलाइ कोहि भेट्न् आएनन् । सानीमा काममा ब्यस्त ,म एक्लो थिएँँ । मनमा कस्तो बिरामी होला भन्दै डराउथेंं । ६/७ दिनपछि रगत आउन छोड्यो अनि अलिक मन सान्त भयो ।
यत्तिकैमा १५ दिन बित्यो, कति बर्ष जस्तै भाको थियो । आमा लिन आउनु भयो । ” कति लुति भइछे ” भन्दै मलाइ लानुभयो । म पनि खुशी हुँदै घर गएँँ ।
भोलिपल्ट ,स्कुलमा स्वास्थ्य बिषय पढाउने म्याडम आउनुभयो र भन्नुभयो , ” कहाँ हराएकी एत्रो दिन कान्छी ” भन्दै मिसले सोध्नुभयो । म के भनुँ भनुँ भएँ ।
( यस लघुकथाकी लेखिका वाल अधिकारकर्मी तथा वाल संजालकी अभियन्ता हुन् )