पहिलोपटक बिराटनगर आइपुयो भारतीय रेल, हेर्नेको घुइँचो

  • १९ कार्तिक २०७५, सोमबार

भारतको बथनाबाट विराटनगर महानगरपालिका १८ बुधनगरसम्म पहिलो पटक मालबहाक रेल आइपुगेको छ ।

परिक्षणका रूपमा आइतबार दिउँसो साढे २ बजे नेपाली भुभागको तीन सहित आठ किलोमिटरको दूरी पार गरी रेलको इन्जिन ल्याइएको हो । रेल–वे परीक्षणका लागि पहिलो पटक रेल संचालन गरिएको हो ।  भारतीय रेल्वे र रेल्वे निर्माण कम्पनीका कर्मचारी बसेर आउँदा नेपाली भूमिमा स्थानीयले ताली बजाएर स्वागत गरेका थिए । आठ किलोमिटर दूरी ४५ मिनेट लगाएर भारतीय रेल बुधनगर स्थित नेपाली कष्टम यार्डसम्म आएको थियो ।
पहिलो चरणमा आठ किलोमिटर  रेलमार्ग निर्माण भइसकेको छ । यो रेल मोरङको कटहरी गाउँपालिकासम्म पुग्छ । तर कटहरी पुग्नका लागि अझै आठ किलोमिटर रेलमार्ग निर्माणको काम बाँकी छ । नेपालतर्फ मुआब्जालगायतका विवाद समाधान भए डेढ वर्ष्भित्र पुरै क्षेत्रमा रेल संचालन गर्ने सकिने भारतको नर्थइस्ट रेल्वेका डेपुटी चिफ एस विश्वासले जानकारी दिए ।

अबको लगभग एक महिना भित्रमा बथनाहादेखि बुधनगरसम्म रेल चलाउन सकिने निर्माण पक्षको दाबी छ । आगामी डिसेम्बर १२ दिनका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेलमार्गको उद्धघाटन गर्ने बताइएको छ । बथनाहादेखि बुधनगरसम्म कुल ८ किलोमिटर पर्छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर दूरी छ ।