करिब चार अर्ब रुपैयाँको लागतमा विराटनगरमा बन्ने भो एक सय १० मीटर अग्लो भ्यु टावर

  • १९ कार्तिक २०७५, सोमबार

विराटनगरमा करिब चार अर्ब रुपैयाँको लागतमा सय मीटरभन्दा अग्लो भ्यु टावर निर्माण हुने भएको छ ।

विराटनगर महानगरपालिकाको पहलमा निर्माण हुने उक्त भ्यु टावर १ सय १० मिटरको अग्लो हुनेछ । टावरको पहिलो तलामा राजवंशीको संग्रहालय, दोस्रोमा प्रदर्शनीस्थल, सपिङ कम्प्लेक्स, रेस्टुरेन्ट र रिक्रेसन सेन्टर तथा डिपार्टमेन्ट सेन्टर हुने महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । विराटनगर–३ आयल निगम छेउमा रहेको एक बिगाहा सात कट्ठा क्षेत्रफलमा टावर निर्माण हुन लागेको हो । टावर निर्माणका लागि उक्त जग्गा सितलु राजवंशीले दान गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश १ का कार्यबहाक मुख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संयुक्त रुपमा सो भ्यु टावरको शिलन्यास गरेका छन ।

टावर शिलन्यास कार्यक्रममा सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबु पण्डितले ठूलठूला काम गर्न खोज्दा अवरोध आउने गरेको भए पनि टावर निर्माणमा आफूहरुको सामूहिक संकल्प रहेको भन्दै यो पूरा गर्ने बताए ।

विराटनगर महानगरपालिका, प्रदेश सरकार, संघीय सरकार तथा नीजि क्षेत्रको लगानीमा बन्ने टावर विराटनगरको पहिचान हुने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए। मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले टावर निर्माणका लागि निजी क्षेत्रबाट सहयोग हुने प्रतिवद्धता व्यक्त गरे । टावरको डिपिआर तयार पार्न महानगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्याएको छ ।