मदन भण्डारी राजमार्ग बन्ने स्थान र सडकको चौडाइ टुंगो नलाग्दा केराबारी र लेटाङबासी अन्योलमा

  • २ मंसिर २०७५, आईतवार

अम्बिका भण्डारी, केराबारी मोरङ / मदन भण्डारी राजमार्ग साबिक चुरेफेदी सडक अनुसार लैजाने कि नयाँ ट्र्याकमा निर्माण गर्ने भन्ने  यकिन हुन नसकेका  कारण मोरङको केराबारी र लेटाङ क्षेत्रमा अन्योलता बढेको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा पुर्वदेखि पश्चिमसम्म निर्माण गर्ने करिब १२ सय किलोमीटर लामो मदन भण्डारी राजमार्गको प्रारम्भिक सर्भे समेत भइसकेको अबस्थामा मोरङका केही क्षेत्रमा यस्तो अन्योल बढेको हो ।

सडकको निर्माण नयाँ स्थानबाट गर्ने कि पुरानो सर्भे अनुसार निर्माण गर्ने भन्ने बिषयको अन्योलताका कारण हाल केराबारी र लेटाङमा समेत स्थानीय बासिन्दा  कोही नयाँ ट्र्याक र अर्काथरी पुरानो सर्भे भएको अर्थात चुरे फेदी सडक अनुसार केराबारी चोकबाट नै राजमार्ग निर्माण गर्नुपर्ने पक्षमा लाग्न थालेका छन् ।

पुरानो ट्र्याक अर्थात साबिक चुरे फेदी सडकका आधारमा राजमार्ग बनाउंदा हालको  पुर्व पश्चिम राजमार्गबाट दुरी ज्यादै कम हुने र अरु सडकभन्दा धेरै फराकिलो सडक बन्ने भएकोले बजारको संरचना खल्बलिन गइ ठुलो भौतिक क्षति समेत हुने भएकोले पुर्व पश्चिम सडकबाट कमसेकम १५ किलोमिटर दुरी हुने र सडकको पहुँच नपुगेका दुर्गम बस्तीहरुमा पनि सडकको पहुँच पुर्याउने गरि बिकल्प खोजिनुपर्ने,सकेसम्म भौतिक संरचना तथा जनताको सम्पत्ति कम क्षति हुनेगरी बिकल्प खोजिनुपर्ने आदि माग गर्दै मदन भण्डारी राजमार्ग समन्वय सहयोग समिति केराबारीले करिब १ महिना अघि कार्तिकमा केराबारी गाउँपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।

तर गाउँपालिकाले राजमार्ग कहाँनेरबाट बनाउने भन्ने निधो नगर्दा थप अन्योल बढेपछि बिहिवार समितिको अगुवाइमा केराबारी बजारका स्थानीय बासिन्दाले स्थानीय जनताको माग सम्बोधन गर्नेगरी गाउँपालिकाले तुरुन्तै केराबारी चोकभन्दा उत्तर तिरबाट राजमार्ग बनाउने सिफारिस गर्न दबाब दिदै केराबारी गाउँपालिकाको ध्ययानाकर्षण गराइएको समितिका महासचिव रोजन सापकोटाले जानकारी दिए ।

केराबारी गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित केराबारी ३,८ र १० का वडाध्यक्षहरु समेतको उपस्थितिमा स्थानीय बासिन्दाले केराबारी गाउँपालिकामा दवाब दिएका थिए । स्थानीय ब्यापारी, ब्यबशायी लगायत ठुलो संख्यामा गाउँपालिका पुगेको टोलीलाई गाउँपालिकाले सबै सरोकारवालाहरुसंग छलफल गरी सकेसम्म चांडो र उपयुक्त निकास खोज्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

त्यसो त अर्को एक समूहले पनि  राजमार्ग केराबारी चोक हुँदै लैजाने सिफारिस गर्न माग गर्दै केराबारी गाउँपालिकाका केही समयअघि ज्ञापनपत्र बुझाइसकेको छ ।

हुन त बन्न लागेको मदन भण्डारी राजमार्गको क्षेत्राधिकार ५० मिटर कि २५ मिटर भन्ने बिषयमा समेत अन्योल छ । राजमार्ग ५० मिटर चौडाइको हुने बताइएको भएपनि मोरङ १ का संघीय सभाषद घनश्याम खतिवडाले दशैंपछि केराबारीमा भएको एक कार्यकर्ता भेलामा नयाँ राजमार्ग २५ मिटरको मात्रै हुने आशयको अभिव्यक्ति दिएपछि थप अन्योलता बढेको छ । ५० मिटरको राजमार्ग बजारबाट ल्याउन नहुने र विकल्प खोजिनुपर्ने आवाज बलियो भएको अबस्थामा उनको अभिव्यक्तिपछि कतिपय मानिसहरू बजार क्षेत्रबाट नै राजमार्ग बनाउनुपर्ने पक्षमा लाग्न थालेका छन् ।

त्यसो त यो बिवाद र अन्योल केराबारीमा मात्रै होईन, लेटाङमा पनि बढ्दै गएको छ । पहाडलाई छुनेगरी अर्थात केही समयसमयअघि सर्भे गरिएको नयाँ ठाउँबाट सडक निर्माण गर्न माग गर्दै आएका उपभोक्ताहरूसँग शुक्रबार वार्ता गरी लेटाङ नगपालिकाका मेयर शंकर राईले नयाँ सर्भे अनुसार नै बाटो निर्माण गर्ने आश्वासन दिएका थिए  ।

तर गत साउनमा भएको सर्भे अनुसार सडक निर्माण भए समस्या निम्तिने भन्दै नगरकी उप प्रमुख कृष्णकुमारी निरौला सहित ३ जना वडाध्यक्षले पत्रकार सम्मेलनको आयोजना गरेपछि नयाँ र पूरानो स्थानबाट सडक बनाउने बीच तनाव उत्पन्न हुँदै आएको छ ।
यसैबिच वार्ड नं. २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाले नयाँ सर्भे अनुसार सडक निर्माण भए आफ्नो वडाका झण्डै ७० घर परिवार विस्थापित हुने बताएका छन । उनले पुरानो सर्भे अनुसार सडक निर्माण हुनुपर्नेमा जोड दिँदै आएका छन । लेटाङ  वार्ड नं. ५ का वडाध्यक्ष भुम मगर र ९ का वडाध्यक्ष कृष्णप्रसाद लुईटेलले २५ मिटर चौडाईको सडक भए मुख्य बजारबाट लानुपर्ने बताएका छन् ।

उता नगर प्रमुख राईले नगरबासीलाई सुकुम्बासी बनाएर सडक बनाउनुको कुनै अर्थ नरहने बताए । उनले सडक कति लेनको बन्ने स्पष्ट सुचना नआएकोले समस्या उत्पन्न भएको बताए । राजमार्गको झण्डै २० किलोमिटर सडक उत्तरी मोरङको लेटाङ नगरपालिका भित्र पर्ने प्रारम्भिक सर्भेले देखाएको छ । स्थानीय तहले ठोस निर्णय गर्न नसक्दा केराबारीमा भने पुरानो स्थानको सर्भे बाहेक नयाँ सर्भे भएको छैन ।

नेपाल सरकारले १ हजार २ सय किलोमिटर लामो मदन भण्डारी राजमार्गको रेखाङ्कन लेटाङ नगरको मुख्य बजार वीपी चौक हुँदै लैजाने गरी इस्टिमेट गरेको  थियो । तर ५० मिटर चौडाईको राजमार्ग निर्माण हुने भनिएपछि सो क्षेत्रका ४ सय बढी धरधनी र उपभोक्ताले सडकले सुकुम्बासी बनाउने भन्दै नगरपालिकालाई बैकल्पिक स्थानबाट सडक लैजान माग गरेका थिए  ।
नगरपालिकाको तेस्रो नगर सभाले समेत महेन्द्र राजमार्ग भन्दा १५ किमी उत्तरबाट सडकको रेखाङ्कन गर्न संघीय र प्रदेश सरकारलाई माग गर्ने अर्थात निर्णय गरेको थियो । नगरपालिकाले नयाँ स्थानबाट सडकको सर्भे गर्न माग गरे लगत्तै सडक बिभागले नगरपालिकाको सुझाव अनुसार नै सर्भे गरेको थियो ।

लेटाङ नगरपालिका २ स्थित तुर्केमा गत मंगलबार बिहान केही जनप्रतिनिधि सहित भेला भएका स्थानीयले चिसाङ र बक्राहामा निर्माण भईरहेका करोडौको पुल समेत बाटोमा नपर्ने गरी घुमाउरो बाटो सर्भे गरी केही ब्यक्तिहरुले चलखेल गरिरहेको  भन्दै बिरोध जनाएका छन्  । धरानबाट  केराबारी, लेटाङ,जाँते मधुमल्ला हुँदै मिक्लाजुङसम्म चुरेको फेदीबाट निर्माण हुने  राजमार्गको पुरानो सर्भेमा परेका दर्जनौ खोलामा करोडौंका पुल बनिसकेको भन्दै केही स्थानीयले आफु सुकुम्बासी हुन तयार रहेको तर बाटो पुरानो सर्भे अनुसार नै निर्माण हुनुपर्ने नभए बाटो निर्माणमा अबरोध गर्ने जनाएका छन ।

यो पनि पढ्नोस् …

मदन भण्डारी राजमार्ग ठ्याक्कै पहाडकै फेदीमा होस् भन्ने चाहन्छन् उत्तरी मोरङका जनता