सुनसरीमा गोली हानेर फेरि व्यवसायीको हत्या, हत्यारा अज्ञात, दुहबीमा तनाव

  • ५ मंसिर २०७५, बुधबार

सुनसरीको दुहबीस्थित  जयबाबा इँटा उद्योगका व्यवस्थापक फिदा खानको गोली प्रहार गरी बुधबार बिहान हत्या भएको छ ।

बुधबार बिहान मर्निङ वाक जाने क्रममा बिहान ६ बजेतिर दुहबी–९ को छाताबेलीमा खानमाथि गोली प्रहार भएको थियो ।
जयबाबा इँटा अगाडिको नहरको पुलमा उनको छातीमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक फिदा सोही वडाका वडाध्यक्ष मेहदी हुसेनका भाइ पनि  हुन ।  व्यवसायी फिदा खानमाथि गोली प्रहार भएको विषयलाई लिएर दुहबी बजार तनावग्रस्त भएको छ । व्यवसायीलाई प्रशासनले सुरक्षा दिन नसकेको भन्दै मृतकका आफन्त र समर्थकले बजार बन्द  गराउन खोजेेका थिए । बजार तथा पसल बन्द गराउन निस्किएको समूहले अ्अरदिप मेडिकलमा समेत क्षति पुर्याएको छ ।
घटनापछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको दुहबीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रामनारायण माझीले जानकारी दिए ।

दुई महिनाअघि असोज ४ गते सुनसरीकै हरिनगरा–२, भुटाहाको रैयन पब्लिक स्कुलका प्रधानाध्यापक खुर्सिद आलमको पनि गोली हानी हत्या भएको थियो । सो घटनाका हत्यारा अझै पत्ता लागेका छैनन् ।