‘सरकारी जग्गामा सांसदको आँखा’ भन्ने समाचारप्रति पूर्णाकुमारी सुवेदीको घोर आपत्ति

  • ८ मंसिर २०७५, शनिबार

मंसिर ६ गते एक दैनिक पत्रिकामा छापिएको करौडौंको सरकारी जग्गामा सांसदको आँखा भन्ने समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचारमा कुनै सत्यता नरहेको, भ्रामक र कपोकल्पीत रहेको म सबैमा अवगत गराउँछु । सिमित व्यक्तिको निहित स्वार्थका कारण मेरो व्यक्तिगत चरित्र हत्या गर्ने मनसायले मात्र उक्त समाचार आएको मेरो ठम्याई छ ।
नगर बिकास समिति कोहलपुरका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका नेता अवराज खड्काले समाचारमा समितिको निर्णय भनि दिएको प्रतिक्रियासँग मेरो कुनै सम्बन्ध नरहेको प्रष्ट पार्न चाहन्छु ।
मैले मानवीय संवेदनामा आधारित भएर संसदको सून्य समयमा उक्त जग्गामा बसोबास गरिरहेकाहरुको उचीत बैकल्पिक व्यवस्था गरिनुपर्ने माग राखेकी हुँ । संसदमा बोलेको उक्त तथ्यलाई तोडमोड गरेर सञ्चार माध्यममार्फत भ्रम छर्ने, घटनालाई कल्पनाका फूलबुट्टा भरेर अतिरञ्जित बनाउने काम कदापी शोभनीय हुन सक्दैन ।
अर्कालाई आरोप लगाउनु अघि नगर बिकास समितिका अध्यक्ष अवराज खड्कालाई आफ्नो बिगत र बर्तमान नियाल्न समेत मेरो आग्रह छ । ठेक्का पट्टाको रेट आफै निर्धारण गर्ने, आफैं ठेकेदार बन्ने, बिनियोजित बजेटमा खुलेआम कमिसन माग्ने जस्ता अध्यक्ष खड्काका कर्तूतहरु सार्वजनिक भै रहँदा पनि अलिकति लज्जाबोध नहुनु आफैंमा आश्चर्यजनक छ । अर्कामाथि निराधार आरोप लगाएर आफ्ना काला कर्तूतहरु लुकाउँछु भन्नु अध्यक्ष खड्काको दिवास्वस्न मात्र हो भन्दा अन्यथा नहोला ।
अध्यक्ष खड्कालाई प्रति परिवार एक लाख रुपैयाँ उठाएको र त्यो रकम मलाई दिइएको भन्ने आरोप पुष्टि गर्न म चुनौति दिन्छु । उक्त आरोप पुष्टि गरे म सांसद पदबाट राजिनामा दिई जस्तो पनि सजाय भोग्न तयार छु । साथै, मलाई उक्त आरोप लगाउनेलाई लागेका आरोप प्रमाणित भए कानूनी दायरामा आउन तयार रहुन् ।
कोहलपुर बसपार्कमा बिगत ३० बर्षदेखि बसोबास गर्दै आएका जनताको मानवीय संवेदनाका बिषयमा सबैले एक पटक सोच्न आवश्यक रहेको मेरो बुझाई छ । सो सम्बन्धमा मैले संसदको सून्य समयमा व्यक्त गरेको बिचार पुन सबैले सुनेर मात्र धारणा बनाउनु हुन समेत अनुरोध छ । नगर बिकास समितिको जग्गा सम्बन्धमा भै रहेको बिवाद समाधान हेतु सत्य तथ्य उजागर गर्न पहल होस् भनेर म यसै प्रेस विज्ञप्ति मार्फत नागरिक समाज, राज्यका नियमक निकाय तथा हाम्रो पार्टी नेकपालाई अनुरोध गर्दछु ।

पूर्णाकुमारी सुवेदी
सभापति, कृषि सहकारी तथा प्राकृतिक श्रोतसमिति
प्रतिनिधिसभा सदस्य