चौध बर्षदेखि दृष्टिबिहिनलाई पढाउंदै कबीर मावि, अन्य विद्यार्थीसंगै बसेर पढ्छन् दृष्टिबिहीन पनि

  • ९ मंसिर २०७५, आईतवार

अनिल बराल, बेलबारी, मोरङ । मोरङको बेलबारी नगरपालिका – २ लालभित्तिमा अवस्थित कबीर माद्यमिक बिद्यालयमा दृष्टिबिहिन बिद्यार्थीलाई पनि अध्यापन गराइन्छ ।

२०४३ सालमा स्थापना भएको बिद्यालयमा २०६१ सालबाट दृष्टिबिहिन बिद्यार्थीलाई पनि अध्यापन गराउन थालिएको हो । बिद्यालयमा हाल अध्ययनरत ११ जना छात्र र १ जना छात्रा गरी जम्मा १२ जना दृष्टिबिहिन बिद्यार्थीहरुलाई पनि साङ्ग बिद्यार्थीहरु सँगै राखेर अध्यापन गराइन्छ ।
बिद्यालयले दृष्टिबिहिन बिद्यार्थीहरुलाई छात्रबासको समेत व्यबस्था गरिदिएको छ । साङ्ग बिद्यार्थीहरुसँगै बसेर अध्ययन गरेका दृष्टिबिहिन बिद्यार्थीहरुले केहि नबुझेको खण्डमा छुट्टै समयमा ब्रेल शिक्षकले बुझाइदिने ब्यवस्था बिद्यालयले गरेको छ ।
साङ्ग बिद्यार्थीहरुसँगै दृष्टिबिहिनलाई राखेर अध्यापन गराउँदा सामाजिकिकरण पनि हुने साथै सुनेर लेख्ने क्षमताको पनि बिकास हुने बिद्यालयका प्रधानाअध्यापक दुर्गा प्रसाद गौतम बताउछन । गौतमका अनुसार परिक्षाको समयमा भने दृष्टिबिहिन बिद्यार्थीहरुलाई छुट्टै कक्षामा राखिन्छ र अन्य बिद्यार्थीहरुकै एउटै समयभित्रमा शिक्षकले प्रश्न भनिदिने र बिद्यार्थीहरुले ब्रेललिपिमा उत्तर लेख्ने गर्दछन ।
दृष्टिबिहिन श्रोत कक्षा सन्चालन भएको मोरङ जिल्लामा एउटा मात्र बिद्यालय कबीर मा.वि. भएको प्रधानाध्यापक गौतमले जानकारी दिए । एक जना बिद्यार्थीलाई नेपाल सरकारले दिने मासिक ४ हजार रकमले होस्टल ब्यबस्थापन गर्ने गरेको र त्यहि रकम बाट मासिक ५ सय बिद्यार्थीलाई पकेट मनिबापत दिने गरेको गौतमले बताए । आर्थिक ब्यबस्थापनका लागि अन्य छुट्टै श्रोत केहि नभएको र कहिलेकाही दाताहरुले ब्रेल पेपर सहयोग गर्नेगरेकोबाटनै दृष्टिबिहिन कक्षा सन्चालन भइरहेको बिद्यालयले जनाएको छ ।
ब्रेललिपिमा १ देखि कक्षा १० सम्मनै पाठ्यपुस्तक भएकाले साङ्ग बिद्यार्थीहरुले जस्तै दृष्टिबिहिन बिद्यार्थीले पनि ब्रेलमा पोख्त भएकाले सजिलै अध्ययन गर्न सक्ने दृष्टिबिहिन बिद्यार्थीहरुलाई अध्यापन गराउदै आएका उक्त बिद्यालयका ब्रेल शिक्षक भोजराज भुजेल बताउछन ।
साङ्ग बिद्यार्थीहरु सँगै कक्षामा बसेर अध्ययन गर्दा खासै समस्या नभएको बताउछन बिद्यालयमा अध्ययनरत दृष्टिबिहिन बिद्यार्थीहरु । बिद्यालयमा कक्षा ९ मा अध्ययन गरिरहेका सुन्दरहरैचा–४ का दृष्टिबिहिन भुवन राई अन्य बिद्यार्थीहरुसँगै बसेर पढ्दा खासै समस्या नभएको बताउछन, उनलाई कक्षामा अभ्यास गर्दा केहि छुट्यो भने साथीहरुले सहयोग गर्नेगरेका छन । कक्षा ९ मै अध्ययनरत सुनसरीका दृष्टिबिहिन मोहम्मद साकिर जहाँ इच्छा त्यहाँ उपाय भनेझै आफ्नो अध्ययन गर्ने सपना शिक्षक र बिद्यार्थीसाथीहरुको सहयोगले पुरा भएको बताउछन । कक्षामा अध्ययन गर्दा साङ्ग बिद्यार्थीहरुले पनि दृष्टिबिहिन बिद्यार्थीहरुलाई सहयोग गरिरहेका हुन्छन ।
कबीर माबिमा अध्ययनरत दृष्टिबिहिन बिद्यार्थीहरु धनकुटा, सुनसरी र मोरङ जिल्लाबाट आएर पनि अध्ययन गरिरहेका छन् ।