आफ्नै बसमा आगो लगाउने गाडी साहु र स्टाफ पक्राउ, ऋण पच गर्न आगो लगाएको खुलासा

  • १५ मंसिर २०७५, शनिबार

आफ्नो बसमा आफै आगो लगाएको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले २ जनालाई पक्राउ गरेको छ ।
गत मंगलवार मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर ५ को मसान चौकमा राती १० बजे बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगजनी भएको थियो ।

अज्ञात समुहले बसमा आगजनी गरेको र मोवाइल तथा अन्य धनमाल समेत लुटी लगेको भन्ने सूचना पाएपछि ईलाका प्रहरी कार्यालय हरैचा र इलाका प्रहरी कार्यालय बेलवारीबाट तत्काल प्रहरी टोली घटनास्थल गई स्थानीयवासी र दमकलको सहयोगमा राती नै आगो  नियन्त्रणमा लिएको थियो ।
आगजनी कसले र के कारणले गर्यो भन्ने अनुसन्धान गर्ने क्रममा बसकै चालक मन्थली नगरपालिका वडा नं. ५ बस्ने  शम्भु कार्की र सहचालक लिखु गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २५ को दिनेश बरुवालकै संग्लग्नता रहेको खुलासा भएपछि  उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।
उनीहरुले आफ्नो गाडी पुरानो भई ऋण समेत चुक्ता गर्न नसकेको र बिमा लगायत अन्य क्षतिपूर्ति प्राप्त गर्ने उदेश्यले योजना बद्ध रूपमा आफैले पेट्रोल लगाई जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ ।