कार्यकाल सकिएको बर्षौ बितिसक्दा समेत साधारणसभा गर्दैनन् संघ संस्था

  • २१ मंसिर २०७५, शुक्रबार

मोरङको बेलबारी नगरपालिका भित्र रहेका आधा दर्जन बढी संघसंस्थाहरुले कार्यसमितिको म्याद सकिएको बर्षौ बितिसक्दा पनि साधारणसभा गर्न सकेका छैनन ।
उद्योग बाणिज्य संघ बेलबारी,बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समिति, अमना सिसौली सामुदायिक बन उपभोक्ता समुह लगायतका संघसंस्थाहरुले कार्यसमितिको म्याद सकिएको बर्षौ बितिसक्दा समेत साधारणसभा गर्न सकेका छैनन ।
बेलबारी उद्योग बाणिज्य संघमा २०६९ यता साधारणसभा हुन सकेको छैन । ३ बर्षे कार्यकाल भएपनि ६ बर्ष यता संघको साधारणसभा हुन सकेको छैन । संघका अध्यक्ष तथा बेलबारी नगरपालिकाका प्रबत्ता समेत रहेका योगेन्द्र सुवेदी सहमतिमै साधारणसभा नभएको र संघको भवन निर्माण लगायतका काम बाँकी रहेका कारण साधारणसभा नगरिएको भएपनि यो आर्थिक बर्षमा जसरी पनि साधारणसभा गर्ने बताउँछन । संघमा कति ब्यबसायी आबद्ध रहेका छन भन्ने यकिन डाटा समेत संघमा उपलब्ध छैन । कार्यलय सञ्चालनमा छ तरपनि बेलबारीकै ब्यापारीहरुलाई बेलबारी उद्योग बाणिज्य संघ छ भन्ने कुरा धेरैलाई हेक्का समेत छैन ।
बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिको म्याद सकिएको १ बर्ष बढी भईसकेको छ । ३ बर्षे कार्यकाल भएपनि ४ बर्ष पुरा हुँदा समेत साधारणसभा हुन सकेको छैन । समितिका अध्यक्ष नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका महेन्द्र सुवेदी समितिका सबै पदाधिकारी ब्यस्त रहेका कारण र केही योजनाहरु पुरा गर्नुपर्ने भएका कारण समयमै साधारणसभा गर्न नसकिएको बताउँछन । उनले पुष अन्तिम तथा माघ पहिलो साता सम्म साधारणसभा तोकिने बताए ।
बेलबारीमै रहेका अमना सिसाैली सामुदायिक बन उपभोक्ता र बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहको समेत कार्यसमितिको म्याद सकिएको महिनौ बितिसकेको छ । उनीहरुले पनि साधारणसभा गर्न सकेका छैनन ।

यी त केही उदाहरण मात्र हुन बेलबारीमा थुप्रै संघसंस्थाले साधारणसभा गर्न सकेका छैनन । नियमनकारी निकाय समेत मौन बस्दा कतिपय संस्थाहरु मनपरी गर्ने र आफनो दुनो सोझयाउने बलियो आधार समेत बनेको छ । केही साताअघि बेलबारी १ मा रहेको भानु सार्बजनिक शैक्षिक गुठीमा भने लामो समयपछि साधारणसभा सम्पन्न भएको छ, नरेन्द्र बस्नेतले बेेतना दैनिकमा लेखेेेका छन् ।