स्वीस नेपाल प्रविधि कार्यशाला हुँदै, विजेताले २ हजार डलर पाउने

  • २६ मंसिर २०७५, बुधबार

 स्वीजरल्यान्डमा रहेका नेपाली विद्यार्थी एवं पेशाकर्मीहरूको संस्था नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड नेपसास) ले ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला–२०१९’ आयोजना गरेको  छ ।
नेपालमा रहेका युवाहरूमाझ विज्ञान तथा प्रविधिमा आधारित उद्यमहरु (स्टार्टअप) प्रबद्र्धन गर्दै आइरहेको संस्थाले कार्यशालाको तेस्रो संस्करण गर्न लागेको हो  । नेपसासले हालको प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्दै प्रतिभाहरुलाइ दिगो रूपमा स्थापित गर्ने र समृद्ध बनाउने लक्ष्य राखेको छ । सो लक्ष्य प्राप्तिका लागि संस्थाले युवालाई विज्ञता हासिल गरेका व्यक्तिहरू, अनुभवी परामर्शकर्ता र गुरुका रूपमा योगदान दिन इच्छुकहरुसंग सम्पर्क गराउने मञ्च उपलब्ध गराउँदै आइरहेको नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड– नेपसासका अध्यक्ष रञ्जन मिश्रले बताए  ।
सन् २०१७ देखि नेपसासले सम्भाव्य उद्यमका वैज्ञानिक अवधारणाहरूबारे जानकारी गराउंदै सहयोग गर्न काठमाडौंमा वार्षिक कार्यशालाको आयोजना गर्दै आएको छ । दुई कार्यशालाहरूको सफल आयोजनापछि नेपसासले गेट कलेजको आतिथ्यतामा २०७५ पुस १५ देखि १९ गतेसम्म तेस्रो ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला’ आयोजना गर्दैैछ ।
यस कार्यशालामा सहभागिताका मंसिर २९ गतेसम्ममा आवेदन गर्न सकिने छ भने यो आवेदकहरूका लागि निःशुल्क छ । “हामी काठमाडौं उपत्यकाभन्दा बाहिरका सहभागीहरूलाई सहयोगका लागि यातायात वृत्तिसमेत उपलब्ध गराउने छौैं,” अध्यक्ष मिश्रले भन्नु भयो ।
कार्यशालामा सहभागिताका लागि ५० सहभागीहरूको चयन गरिनेछ । सबै सहभागीहरूलाई विभिन्न समूहमा बाँडिनेछ, जसले प्रथम स्थानका लागि एकअर्कासँग प्रतिष्पर्धा गर्नेछन् । विजेताहरूलाई २ हजार अमेरिकी डलरको नगद पुरस्कार प्रदान गरिनेछ ।
“हामी हाम्रो कार्यशालामा ५०–५० प्रतिशतको लैङ्गिक समानता र विविधता कायम रहोस् भन्ने कुरामा प्रतिबद्ध छौं तथा महिला एवं सीमान्तकृत समुदायबाट आवेदनका लागि प्रोत्साहित गर्दछौं,’ नेपसासले भनेको छ ।
चार दिने कार्यशालामध्ये पहिलो दिन पुस १४ गते कार्यशाला आरम्भका साथै आवश्यक जानकारी प्रवाह गरिनेछ । दोस्रो र तेस्रो दिन सहभागीहरूको समूहगत प्रस्तुतिका साथै उनीहरूले तयार पारेको व्यावसायिक योजना र नमुना प्रस्तुत गर्ने तथा तिनमा सुधार गर्ने र आकार प्रदान गर्ने काम हुनेछ ।  चौथो दिन सहभागी समूहरूले निर्णायकहरूसमक्ष आफ्नो अन्तिम कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ, निर्णायकमा शैक्षिक क्षेत्र एवं औद्योगिक–व्यावासायिक क्षेत्र दुवैतर्फ विज्ञहरू सहभागी रहनु हुनेछ ।
निर्णयहरूले प्रस्तुत अवधारणाको प्रभाव, नव–आविष्कारका मौलिकता र उद्यमशीलता क्षमताका  आधारमा विजेता समूह घोषणा गर्नेछन् । विगतका सहभागीहरू यस्ता नवउद्यम (स्टार्टअप) र नव–आविष्कारका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरूमा भाग लिन गइसकेका छन् ।
उदाहरणका लागि सन् २०१८ को कार्यशालका विजेताहरूले ‘वल्र्ड इनोभेसन फोरम’मा नेपाललाई प्रतिनिधित्व गर्नुका साथै प्रतियोगिताका विजेतासमेत बने । उनीहरूले नेपालस्थित स्विजरल्यान्डको राजदूतावासद्वारा १२ लाख रुपैयाँको अनुदानसमेत प्राप्त गरे ।
कार्यशालाको विशिष्ट पक्षमा परामर्श कार्यक्रम रहेको छ, जुन कार्यशालापछि पनि  सहभागीहरूलाई निरन्तर आफ्नो लक्ष्य हासिल गर्न सक्षम बनाउने गरि परिकल्पना गरिएको छ । यस वर्ष नेपालका लागि स्वीजरल्यान्डकी राजदूत महामहिम एलिजावेथ भन कापलर, हाम्रा परामर्शकर्ता (मेन्टर)हरूमध्ये एक रहनु भएको छ ।
यस वर्षदेखि नेपसासले कार्यशालामा प्रस्तुत गरिने उत्कृष्ट अवधारणाहरूका लागि वर्षभरिकै परामर्श, सँगै कार्य गर्ने स्थल र बीज पुँजी प्रदान गर्ने लक्ष्य राखेको छ । आवश्यक परेको समयमा उत्कृष्ट अवधारणाले आन्स्टाइनले अध्ययन गरेको विश्वविद्यालय स्वीस फेडरल इन्स्टिच्यूटका इनोभेसन सेन्टरहरूमा पहुँच पाउने व्यवस्था गरिएको छ ।
विजेता अवधारणले गत वर्षजस्तै ‘वल्र्ड इनोभेसन फोरम’मा नेपाललाई प्रतिनिधित्व गर्नेछ ।
यस कार्यशालामा स्वीस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजीका जैविक विज्ञान ( सेल बायोलोजी र बायोकेमेस्ट्री)का प्राध्यापक म्याथिस पिटर, वल्र्ड इनोभेसन फोरमका प्रमुख कार्यकारी अधिकृत एक्सेल स्कल्जलगायतका विश्वभरिका प्रमुख वक्ताहरूले सम्बोधन गर्नुहुनेछ ।
कार्यशालाले खानपिन, चिया–कफी ब्रेक र अन्य यस्तै समयमा आफ्नो सम्पर्क सञ्जाल विस्तारका अवसर पनि प्रदान गर्नेछ ।