धनकुटाको बिकास र उन्नतिका लागि सहयोग गर्दै अमेरिकामा रहेका धनकुटेलीहरु 

  • १ पुष २०७५, आईतवार

जहाँ बसे रहे पनि आफ्नो जन्मभूमि सम्झिरहने सन्देश दिदै अमेरिकाका विभिन्न प्रान्तमा बसोबास गर्दै आएका नेपालीहरुले धनकुटाको बिकासका लागि विभिन्न सहयोग गरेका छन् ।

पछिल्लो समयमा उनीहरूले गोकुण्डेश्वर उच्च मावि सञ्चालन गर्नका लागि सहयोग गरेका छन् । स्कुलका लागि धनकुटा बजारमा अबस्थित माथिल्लो गोकुण्डे कोप्चे जन्मेर हाल अमेरिका बस्दै आएका माणिकलाल तथा उनकी श्रीमती राज्यलक्ष्मीले ३५ हजार, उनकै पहलमा धनकिशोर उप्रेतीबाट ५ हजार,प्रेमप्रसाद र मञ्जु संगै्रलाबाट १४ हजार,आनन्द र अञ्जु वास्तोलाबाट ७ हजार, रोन र अनिता पियर्सनबाट १० हजार ५ सय, श्याम र मन्दिरा शर्माबाट १० हजार ५ सय सत्तरी, कविन्द्र र रञ्जिता निरौलाबाट ७ हजार सत्तरी र सुबु र सलिना केसीबाट ७ हजार रुपैयाँ सहयोग आएको छ ।
त्यसैगरी दुर्गा पोख्रेललेबाट सो विद्यालयमा जनजातिका छात्र छात्राका लागि रु १ लाख प्रदान गरेको विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईले बताए ।

त्यसैगरी धनकुटा लेगुवा घर भई अमेरिकामा वस्दै आएका विष्णु खड्काले महालक्ष्मी नगरपालिकाको लाटी भन्ज्याङको नागेश्वर उच्च माध्यमिक विद्यालयको हितमा खर्च गर्ने गरी रु २ लाख १५ हजार रुपैयाँ प्रदान गरेका छन् । विद्यालयका प्रधानाध्यापक दिपक निरौलाले सो जानकारी दिएका छन् ।
त्यसैगरी अमेरिकाको वासिंगटन निवासी सम्झना पोखरेल,जीनारानी र धरती पोखरेलले गत वर्ष धनकुटाको पात्ले खोलाको बागेश्वरी प्राविका विद्यार्थीहरुलाई पोसाक वितरण गरेका थिए । उनीहरूले विश्रान्तिका जेष्ठ नागरिकहरुलाई फलफूल वितरण समेत गरेका थिए ।
यसै वर्षमात्र अमेरिकामै अध्ययनरत निकिता मिश्रले धनकुटा आँखा अस्पतालमा आँखाको उपचार गर्न आउँनेहरु मध्ये अपरेसन गर्न खर्चको अभाव हुनेहरुका लागि भनी रु १ लाख ११ हजार रुपैयाँ रामप्रसाद आँखा अस्पताललाई प्रदान गरेको अस्पतालका अध्यक्ष द्रोण गुरागाईँले वताए ।
यसैगरी अमेरिकामै वस्ने गोविन्द वस्नेत,वेलायतमा वस्ने विश्वदीप तिगेला लगायतले पनि धनकुटाका विभिन्न क्षेत्रमा सहयोग पुर्याई आएका छन् ।