सुन्दरहरैंचाका सात स्थानमा यसरी बन्दैछन् अत्याधुनिक सार्वजनिक शौचालय

  • १ माघ २०७५, मंगलवार

बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विभिन्न सात स्थानमा करिब ९ करोड लागतमा बन्ने आधुनिक सार्वजनिक शौचालयको निर्माणको काम तिब्र पारिएको छ ।
स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयका लागि स्थानीय व्यवसायी समेत रहेका भोलेश्वर दुलाल (भोला) को अध्यक्षतामा ‘सार्वजनिक शौचालय निर्माण महाअभियान’ सञ्चालनमा रहेको छ । निर्माणाधीन सार्बजनिक शौचालयमा आधुनिक पुस्तकालय सहितका सुविधाहरु हुनेछन् ।

कहाँ कहाँ बन्दैछन् शौचालय ?
सुुुन्दरहरैंंचा नगरपालिकाको विराटचोक, खोर्साने, बलिया, सलकपुर, गछिया, गोठगाँउ र हरैचामा शौचालय निर्माणाधीन अवस्थामा रहेका छन । शौचालय निर्माण थालिएको हरैचा बाहेक अन्य छ स्थान पूर्व पश्चिम राजमार्गको छेउमा पर्छन् । सातवटै शौचालय एउटै डिजाइनमा निर्माण भइरहेको सार्बजनिक शौचालय निर्माण महाअभियान समितिका अध्यक्ष भोलेश्वर दुलालले बताए  ।

कहाँबाट जुटाईदै छ रकम ?
महाअभियानमा शौचालय निर्माणका लागी सुन्दरहरैचा नगरपालिकाले कुल लागको ३५ प्रतिशत लगानी गर्ने छ । बाँकी ६५ प्रतिशत  व्यवस्थापन समिति, स्थानीयबासी, व्यापारी र सहयोगीहरुबाट जुटाइने छ । ‘सुन्दरहरैचाका नागरिकले प्रतिब्यत्ति न्यूनतम १ सय रुपैयां सहयोग गर्नुपर्ने प्रस्ताव गरिएकोले जनसमुदायबाट २० प्रतिशत रकम उठाउने लक्ष्य रहेको अध्यक्ष दुलाल बताउँछन ।
स्थानीयबासीबाट १ करोड ९२ लाख ९२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ । स्थानीय व्यवसायीहरुबाट ३० प्रतिशत अर्थात २ करोड ८९ लाख ३८ हजार रुपैयाँ संकलन गरिने छ । बैंक वित्तीय संस्था तथा एसोसिएटहरुबाट एक करोड ४४ लाख ६९ हजार रुपैयाँ संकलन गरिने छ । नगरपालिकाले ३ करोड ३७ लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ ।

शौचालयमा कस्ता सुबिधा हुनेछन् ?
निर्माणधिन ‘शौचालय भवनभित्र इन्टरनेटको सुविधा सहितको आधुनिक पुस्तकालय, चमेना गृह, सैलुन, आराम कक्ष समेत हुनेछ । सार्बजनिक यातायातलाई  समेेत लक्षित गरी निर्माण गरिएको शौचालय परिसरमा गाडी पार्किङ स्थल समेत हुनेछ ।
निर्माणाधीन शौचालय दुई तलाका हुनेछन् । शौचालयको भुई तलामा शौचालय, चमेनागृह, यात्रु आराम कक्ष र सैलुन रहने छ । पहिलो तल्लामा अडियो भिडियो सुविधासहितको आधुनिक पुस्तकालय रहने अध्यक्ष दुलालले बताए । पुस्तकालय सहितको शौचालय युरोपेली मापदण्ड अनुसारको निर्माण भइरहेको उनले जानकारी दिए ।

‘शौचालयको डिजाइन युरोपियन देशहरुको जस्तै हुन्छ’ दुलालले भने ‘शौचालय प्रवेशको ढोका पनि आधुनिक हुन्छ ।’ अध्यक्ष दुलालका अनुसार पुस्तकालय र पसलकालागि आवश्यक पर्ने बिजुली शौचायलबाट नै उत्पादन गरिने छ । २०७४ माघबाट निर्माण सुरु गरिएको सातवटा मध्ये चारवटा शौचायल निर्माणको काम ८० प्रतिशत काम पुरा भएको छ ।