रुढीबादी परम्परा तोड्दै आमाको काजकिरिया गर्न कोरामा बसिन् १२ बर्षिया छोरी

  • ५ माघ २०७५, शनिबार

बाबुआमाको निधनपछि छोरीले छोरासरह काजक्रिया गर्नु हुँदैन भन्ने परम्परागत संस्कारलाई तोड्दै १२ बर्षिया एक छोरी छोरासरह आमाको काजक्रिया गर्न कोरामा बसेकी छिन् ।
मेचे समुदायको विरोधका बाबजुद पनि मेचीनगर–११ झापाकी १२ वर्षीया शर्मिला मेचे आमाको काजक्रियामा बसेकी हुन् । स्थानीय हँडिया खोलाको बगरमा सामान्य झुप्रो बनाएर मजदुरी गदैं आफ्नो र छोरीको जीविकोपार्जन गदैं आएकी ३९ वर्षीया शर्मिला मेचेको बिहीबार निधन भएको थियोे । उनको निधनपछि छोरी सबिना यतिखेर आफ्नो समुदायको पुरानो संस्कारलाई तोड्दै आमाको काजक्रियामा बसेकी छिन् ।

शर्मिला लामो समयदेखि मुटुको रोगबाट ग्रसित थिइन् । छिमेकीका अनुसार आमा बिरामी हुंदा छोरी सबिनाले साइकल चढाएर आमालाई उपचारका लागि लैजाने गरेकी थिइन् ।
शर्मिलाका बाबू भने लामो समयदेखि बेपत्ता छन् । श्रीमान् बेपत्ता भएपछि गिटी कुटेर र बालुवा चालेर शर्मिलाले छोरी सबिनाको हेरचाह गरी पढाई खर्च जुटाउँदै आएकी थिइन् ।

मेचे समुदायको संस्था मेचे सिवियारी आफतको सल्लाह बमोजिम सबिनालाई आमाको काजक्रियामा राखिएको आफतका सल्लाहकार तथा मेचीनगर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सन्तोष मेचेले बताए । मेचे समुदायमा चेलीले कोरामा बस्नु हुँदैन भन्ने मान्यतालाई तोडेरै सबिनालाई काममा राखेको बताए उनले बताए ।

आर्थिक अवस्था ज्यादै न्यून भएको मृतकको परिवारमा अब सबिनाबाहेक अरु कोही पनि छैनन् । शर्मिलाको अन्त्येष्टी समेत छरछिमेकी र मेचे समाजको पहलमा भएको थियो । आफ्नी आमाको चितामा दागबत्ती पनि सबिनाले नै दिएकी थिइन् । मेचे समुदायमा आमाबाबुको काजक्रिया गर्दा १३ दिनसम्म सेतो कपडा लगाएर काम गर्नुपर्ने भए पनि सबिना नाबालक भएकै कारण आमाको काम ७ दिनमै सक्ने वडाध्यक्ष मेचेले बताए ।

स्थानीय बलभद्र माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सबिना पढाइमा समेत निकै अब्बल रहेको विद्यालयले जनाएको छ ।

शुक्रबार सबिनाको घरमै पुगेकी मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाले छलफल गरेर सबिनाका लागि सहयोग गर्ने बताइन् ।