बाबुको उपचार खर्च जुटाउन पढ्न छाडेर सफारी चलाउदै १७ बर्षिया किशोरी

  • ७ माघ २०७५, सोमबार

उर्लाबारी, मोरङ /  कक्षा १२ मा पढ्ने १७ बर्षिया  उनी   विद्यालयकी नियमित छात्रा हुन् । पढाइ औसत छ । उनले शिक्षा संकाय लिएर पढिरहेेेेकी छिन् ।

सधैं विद्यालय र घर आउजाउ गर्ने उनको दैनिकी  हिजोआज फेरिएको छ । विद्यालय नियमित जान नपाएकोले पुरै कक्षा लिन पाएकी छैनन्  । सुस्त मनस्थिती भएकी बहिनी, एउटा मृगौला निकालेर थलिएकी आमा अनि कलेजोमा समस्या आएपछि थलिएका बुवाको हेरचाह र परिवारको जिम्मेवारी थपिएको छ ।

उनको ९ बजे टिफिन हुन्छ । टिफिनमै घर (डुम्रे) फर्किन्छन् । खाना बनाउँछिन् र घरयसी काम सकेर सफारी निकाल्छिन् । कहिले सीमसारको गेट अगाडि त कहिले मंगलबारे चोककाे सफारी स्टेशन अगाडि यात्रुको खोजीमा पुग्छिन् । दिनभर सफारी कुदाउँछिन् ।

मानिस मात्रै होईन कहिले काहींं सिमेन्ट, फर्निचर लगायतका सरसामान पनि बोक्छिन् । साँझमा घर पुग्ने  बेलासम्ममा दैनिक हजार रुपैयाँ कमाउँछिन् । कहिले काहीं त्यो पनि कमाउँदिनन् । परिवारको सम्पूर्ण खर्च सफारीबाट उठाउने कोसिस गरेकी छन् ।

सिमेन्टको बोरा बोक्दै अम्बिका

उनी अन्य कोही नभएर उर्लाबारी–२ डुम्रेकी अम्बिका भट्टराई हुन् । बुवा बिरामी भएर थलिएपछि उनको काँधमा जिम्मेवारी थपिएको छ । उपचारका लागि १२ लाख खर्च हुने चिकित्सकले बताएपछि खर्च जाेहाेका लागि सफारी कुदाउन थालेकी हुन् ।

अम्बिका हिजोआज बुवाको उपचारका लागि सफारी कुदाउन थालेकी छन् । तीन वर्षसम्म बुवाको उपचार गर्दा जयजेथा सकिएपछि भट्टराई परिवारमा यतिबेला पीडा थपिएको छ । भरतपुर स्थित क्यान्सर अस्पतालले २२ दिनको अन्तमा १२ महिनासम्म एक लाख रुपैया प्रतिगोटा पर्ने सुई लगाएपछि रोग निको हुने जनाएको छ । खर्च जुटाउनका लागि उनले सफारी कुदाउन थालेकी हुन् ।

उनको यो संघर्षले जो कोहीको मन छुन सक्छ । अम्बिकाले आफ्नो बुवा नारायणप्रसादको उपचारमा सहयोग गरिदिनुहुन सबैलाई आग्रह समेत गरेकी छन् । अम्बिकाको परिवारलाई सहयोग गर्न चाहनेले विष्णु भट्टराइको सम्पर्क नं. ९८५२६८३९६८ मा सम्पर्क गर्न सकिने उनले बताएकी छन् । कसैले आर्थिक सहयोग गर्ने मनसाय भएमा कनकाइ विकास बैंक मंगलबारेमा रहेको नारायण प्रसाद भट्टराइको खाता नं.०१३०१३०००३५४०४०००००१ मा जम्मा गर्न पनि सकिने छ । – मंगलबारे पेजबाट