बेलहरामा बन्न लागेको एयरपोर्टको डिपिआर तयार, स्थानीयबासी उत्साहित

  • १८ माघ २०७५, शुक्रबार

 धनकुटाको बेलहारामा मध्यमस्तरको विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार भएको छ।
विमानस्थल निर्माणको चर्चा चलेको झण्डै पाँच दशकपछि बेलहारामा विस्तृत अध्ययन प्रतिवेदन तयार भएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत परामर्शदाता रियलपाथ इन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरको टोलीले बेलहरामा विमास्थल निर्माणको लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार गरेको छ ।

टोलीले ड्रोनको प्रयोग गरेर पहिलो चरणमा स्थलगत अध्ययन गरेर पहिलो चरणमा टोपोग्राफी सर्बे गरेको थियो । ५० सिट क्षमताको विमान उडान भर्नका लागि एकहजार ३०० मिटर भन्दा लामो धावनमार्ग र दुई मिटर चौडाईसहित दुई साइडबाटै मध्यम खालका विमान उडान तथा अवतरण सजिलै हुनेगरी विमानस्थल बनाउन  डीपीआर तयार गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाइएको नेपाल नागरिक उड्ययन प्राधिकरणका उप प्रबन्धक नलबिक्रम थापाले जानकारी दिए। विस्तृत सर्वेक्षणमा धावनमार्ग, पार्किङस्थल, टर्मिनल टावर, स्टाफ क्वाटर, फ्युल स्टेसन र सुरक्षा निकाय पोष्ट समेत समावेस गरी डिपिआर तयार भएको उनलेे जानकारी दिए।

अब वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को प्रक्रियामा रहेको र त्यसका लागि वातावरण मन्त्रालयको स्वीकृतिको पर्खाइमा रहेको उनलेे बताए ।

स्थानीयको पटक पटकको डेलिकेशन र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसपछि २०७३ साल माघ ९ गतेको मन्त्री परिषदको बैठकले धनकुटा नगरपालिका ९ बेलहारा डांडामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

विमानस्थल निर्माणका लागि अगुवाई गरिरहेका पूर्व सभासद हेमराज भण्डारीले कन्सल्टेन्टमार्फत तयार भएको डिपिआर मन्त्रालयमा पुगेको र अब इआइएको काम सकिएपछि निर्माणको काम अघि बढ्ने  बताए । छ वर्षअघि नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मणिगोविन्द श्रेष्ठ नेतृत्वको टोलीले अध्ययन गरी विमानस्थल निर्माणका लागि सिफारिस गरेको थियोे। त्यतिबेला जिल्लाका विभिन्न तीन स्थानमा सर्वेक्षण गरिएकोमा बेलहारामा निर्माण गर्न उपयुक्त हुने भनी सिफारिस भएको थियो। तर त्यतिबेला साना विमानको लागि मात्रै संर्वेक्षण भएकाले मध्यमस्तरको विमानस्थल निर्माण गर्न पुन: सर्वेक्षण गरिएको भण्डारीले बताए।

मध्यमस्तरको विमानस्थल निर्माण गर्दा बेलहराका ४० देखि ५० घर विस्थापित हुने बताइएको छ । बिस्थापितहरुको पुर्नवासको लागि धनकुटा नगरपालिकासहित धनकुटाका स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारसंग पहल गरी व्यवस्थापन गरिने पूर्व  सभाषद भण्डारीले जानकारी दिए । यता स्थानीय स्तरमा जिल्ला समन्वय समिति र राजनीतिक दल सहितको सर्वपक्षीय संयन्त्र निर्माण भएपनि विमानस्थलका लागि आवश्यक जग्गाको विवरणको काम अगाडि बढ्न सकेको छैन।

विमानस्थलमा सडकको सहज पहुँच पुर्याउनका लागि आर्थिक वर्ष २०७४/०७५ मा अर्थ मन्त्रालयबाट दुई करोड रुपैयाँ विनियोजन भएको थियो। तर विमानस्थल निर्माण स्थलसम्म कच्ची सडक पुगे पनि उक्त सडकलाई कालेपत्रे गर्ने प्रक्रियाको सुरुवात हुन नसकेको धनकुटा नगरपालिका ९ का वडाध्यक्ष मनोज रायमाझी सन्दिपले जानकारी दिए।

विमानस्थलको डिपिआर तयार भइ निर्माणको प्रक्रिया अगाडि बढेपछि स्थानीयबासी उत्साहित बनेका छन्।

विमानस्थल निर्माण भएपछि पूर्वी पहाडी जिल्ला भोजपुर, संखुवासभा, ताप्लेजुङ र पाँचथरका केही भाग र धनकुटा तथा तेह्रथुम जिल्लाका सबै सर्वसाधारणलाई सुविधा पुग्ने बताइएको छ। यो प्रस्तावित विमानस्थल विराटनगरबाट २२ तुम्लिङटारबाट २४ र भोजपुरबाट १७ दशमलव ७४ नटिकल माइल टाढा रहेको छ। हाल पूर्वमा १३ विमानस्थलले हवाई सेवा दिइरहेका छन् ।