दाउरामा बसेर तमोर नदी तर्न बाध्य छन् तेलिया र चौबिसेका बासिन्दाहरु

  • १८ माघ २०७५, शुक्रबार

धनकुटाको चौबिसे गाउँपालिका ५ सदामटार र छथर गाउँपालिका ४ तेलिया बीचको तमोर नदीमा झोलुंगे पुल नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

बर्खामा नदी उर्लिएर आउने हुँदा जोखिम मोलेर स्थानीयले यात्रा गर्नुपर्ने बाध्यता छ। अस्थायी रूपमा सुकेका दाउराबाट बनाइएको चेफाबाट नदी तरेर दिनहुँ सयौँ स्थानीय आउने जाने गर्छन्। झोलुंगे पुल नहुँदा सर्वसाधारणको यात्रा जोखिमपूर्ण बनेको हो।

नदी घटेका बेलामा मात्र वारपार गर्न सकिने भए पनि बर्खाको समय भने ती गाउँका बासिन्दाले जोखिम मोलेर नदी तर्नुको विकल्प छैन। उक्त स्थानमा स्थानीयको पहलमा बर्सेनि चेफा निर्माण गर्ने गरिएको छ। पुल बनाउन हरेक वर्ष टोलबाट योजनाको छनोट गरेर स्थानीय तहमा पठाइन्छ तर पनि अहिलेसम्म पुल निर्माणका लागि कतैबाट पहल भएको छैन। बर्खामा उर्लेर आउने खोला तर्न पनि चेफाकै सहारा लिनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

हिउँदमा नदी सानो भए पनि बर्खामा उर्लेर आउने बाढी बीच नदी तर्दा समस्या हुने गरेको स्थानीय पुष्पा कार्कीले बताइन्। ‘यहाँ दैनिक वारपार गर्ने धेरै हुने र स्थानीयको दैनिकीमा पनि समस्या भएकाले पनि झोलुङ्गे पुलको आवश्यकता देखिन्छ,’ उनले भनिन्। सदामटारका अधिकांश स्थानीयको जग्गा जमिन छिमेकी गाउँपालिका छथर जोरपाटीको तेलियामा रहेको र दैनिक सयौँ स्थानीय घाँस दाउराकै लागि चेफा तरेर पारि जानुपर्ने बाध्यता रहेको अर्का स्थानीय सुरेन्द्र न्यौपानेले बताए। ‘दैनिक तमोर नदी तरेर नगए दैनिकी चलाउन सकिदैँन’, न्यौपानेले भने, ‘यस विषयमा सरकारले अहिलेसम्म सुनेको छैन।’

यसमा धेरै दुख लागेको छ।’ नदीमा झोलुङ्गे पुल नहुँदा धेरैले ज्यान गुमाउनु परिरहेको उनी बताउँछन्। चुनावका बेला नेताहरूले सदामटार आउने र पुल बनाउने आश्वासन दिने गरेको भए पनि अहिलेसम्म पुल नबन्दा निराश भएको स्थानीय जगत राउतले बताए। आश्वासन दिएको वर्षौ बितिसक्दा पनि पुल बन्ने कुनै छाँटकाँट नदेखिएपछि नेताहरूका भाषणबाट आजित बनेको राउतको भनाइ छ। देशका धेरै ठाउँमा पटकपटक सर्वे गर्ने र सर्वे गरिसकेपछि काम नहुने प्रवृत्ति सुनेका स्थानीयले यस क्षेत्रमा तत्काल सर्वे गरि पुल निर्माण हुनु पर्ने पक्षमा छन्।

देशमा संघीयता कार्यान्वयन हुनुअगाडि तत्कालीन जिल्ला विकास समितिमार्फत् पुल बन्दै आएकोमा अहिले सम्बन्धित गाउँपालिका र नगरपालिकाले पुल निर्माणको काम अघि बढाउँदै आएका छन्। पुलका लागि स्थानीय तहले तदारुकता नदेखाउँदा पटकपटक पीडित बनेका छन् । – थाहा खबरबाट