सप्तकोसीमा चल्न आंट्यो सय यात्रु अट्ने शौचालय सहितको पानीजहाज

  • १९ माघ २०७५, शनिबार

सरकारले सप्तकोसीमा पानीजहाज चलाउन जहाज खरिद गर्ने र कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ । कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् । 

जल यातायातका लागि अहिले सप्तकोसीको चतरा  पूर्वक्षेत्रका विभिन्न जिल्लामा जाने मिनी पानीजहाज र जेटबोटको पार्किङस्थल बनेको छ । चतराबाट दूधकोसी हुँदै जरायोघाट, अरुण हुँदै तुम्लिङटार र तमोर हुँदै मूलघाटसम्मको यात्रा सहज बनाउन चारवटा सुविधासम्पन्न मिनी पानीजहाज सञ्चालनमा ल्याइएको हो । सप्तकोसीलगायत अन्य नदीमा कसरी पानीजहाज सञ्चालन भइरहेका छन् र हुने क्रममा छन् भन्ने विषयमा देवेन्द्र कार्कीको रिपोर्ट :

 शौचालयसहितको एक सय  यात्रु बोक्ने जहाज
शौचालयसहितको अत्याधुनिक सुविधासहितको एक सय यात्रु बोक्ने जहाज सप्तकोसी आइपुगेको छ । सिसा भएको सिटमा पानीसमेत पस्दैन । बराह क्षेत्र मरिन एन्ड रिसोर्टस् प्रालिले जहाज ल्याएको हो । एउटा सय सिटे र अर्को २५ सिटे क्षमताका दुईवटा जहाजले सेवा दिन थालेका छन् । जहाज ल्याउन कम्पनीलाई बराह क्षेत्र नगरपालिकाले पनि सहयोग गरेको छ । कम्पनीले अब थप चारवटा जहाज पनि ल्याउने भएको छ । उच्च पहाडी क्षेत्रसम्मको सेवाका लागि १० सिटे दुईवटा जहाज ल्याउने प्रक्रियामा रहेको मरिन एन्ड रिसोर्टस् प्रालिका सञ्चालक नवीन पौडेलले जानकारी दिए । करिब आठ करोड १२ लाख रुपैयाँमा जहाज ल्याइएको उनको भनाइ छ । यसको पोर्ट चतरामा निर्धारण गरिएको छ ।

 पानीजहाजबाट १० मिनेटमै बराह क्षेत्र
सुविधासम्पन्न मिनी पानीजहाज हाल चतराबाट भोजपुर, धनकुटा रुटमा चल्दै आएको स्थानीय सरोज कोइरालाले जानकारी दिए । यो जहाज सञ्चालन भएपछि अहिले १० मिनेटमै बराह क्षेत्र पुग्न सकिन्छ । यसअघि सडक यातायातबाट चतराबाट डेढ घन्टा लाग्ने गरेको थियो । उक्त पानीजहाज काभ्रेको दोलालघाटसम्म सञ्चालनका लागि तयारी भइरहेको छ । दूधकोसीमा भएका ठुल्ठूला चट्टान फुटाएर बाटो बनाउन सरकारले बजेटसमेत विनियोजन गरेको छ । दोलालघाटसम्म जहाज चल्ने हो भने सडक यात्रामा दिनभरि लाग्ने सुनसरी एक घन्टामै पुग्न सकिनेछ ।

धरानबाट २५ मिनेटमा पुगिने चतराबाट १० किलोमिटर हाराहारीको सिम्ले पाँच मिनेटमै पुगिन्छ । सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घन्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटार पुग्न दिनभरि नै समय खर्चनुपर्ने हुन्छ । सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार आउन सात घन्टा लाग्नेमा अब जेटबोटबाट चतरा आएर सीधै दुई घन्टामा यात्रा गर्न सकिन्छ । पौडेलका अनुसार जहाज प्रतिघन्टा एक सय किमिसम्म रफ्तारमा लान सकिन्छ । तर, नदीको बहाव, ढुंगा तथा घाँसपातले भने बोटको गतिलाई नियन्त्रण गर्ने गर्र्छ ।
एक वर्षअघिबाटै  व्यावसायिक जेटबोट सञ्चालन
एक वर्षअघि सप्तकोसी नदीमा व्यावसायिक रूपमा जेटबोट सञ्चालनमा आएको थियो । नेपाल रिभर ट्रान्सपोर्ट कम्पनीले कोसी नदीमा व्यावसायिक बोट सञ्चालन गरिरहेको छ । यस्तै, बराह क्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले पनि सेवा दिइरहेको छ । दुवै कम्पनीले चतराबाट धनकुटाको हलेदे र भोजपुरको चुहारसम्म सेवा सञ्चालन गर्दै आएका छन् । चतराबाट ट्याक्सीमा दुई घन्टा लाग्ने बराह क्षेत्र मन्दिरमा पुग्न प्रतिव्यक्ति दुई सय रुपैयाँ भाडा लिने गरिएको छ । जहाजमा १० मिनेटमा यो यात्रा गर्न सकिन्छ । त्रिवेणी घाटसम्म भने ४५० रुपैयाँ भाडा तोकिएको छ ।

सप्तकोसी नदी हुँदै जल यातायात गर्न बराह क्षेत्र जल यातायात तथा पर्यटन प्रालिले नयाँ वर्ष ०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेटबोट सञ्चालनमा ल्याएको थियो । यसले उदयपुर, भोजपुर र खोटाङको सिमाना रानीटारसम्म बोट सञ्चालनका लागि सरकारबाट अनुमति पाएको छ । उक्त क्षेत्रसम्म बोट सञ्चालनका लागि सर्भे गर्ने काम भइरहेको बताइएको छ । चतरा, रामपुर, बसाहा, चौदण्डीगढी हुँदै रानीटार पुग्न सडक यातायातबाट ६ घन्टा लाग्छ । भोजपुर सदरमुकामबाट रानीटारसम्म झर्न नौ घन्टा लाग्छ । चतराबाट बोटबाट ३० मिनेटमै पुग्न सकिनेछ । पानीजहाजबाट हलेसी एक घन्टामा पुग्न सकिन्छ ।

 उच्च पहाडी क्षेत्रका लागि १० सिटे जहाज
उच्च पहाडी क्षेत्रमा यातायात सञ्चालनका लागि १० सिटे दुईवटा जेटबोट ल्याउने तयारी भएको छ । पूरै कभर भएको भित्रैबाट अगाडिको १० मिटरसम्म बाटोको अवस्था जानकारी पाइने मेसिन सो जेटबोटमा जडान गरिने मरिन एन्ड रिसोर्टस् प्रालिका सञ्चालक नवीन पौडेलले जानकारी दिए । सरकारले दूधकोसी हुँदै दोलालघाट, अरुण हुँदै तुम्लिङटार र तमोर हुँदै पाथीभरासम्मको नदीको बाटोमा हुने अवरोध क्लियर गरे यी १० सिटे जहाज लान सकिने उनको भनाइ छ । केही दिनमा चतरामा आइपुग्ने जहाज सुरुमा रानीटार, तुम्लिङटार र मूलघाटसम्म अध्ययनका लागि लाने तयारी भएको पौडेलले बताए ।

 प्रदेश सरकारले जलमार्ग सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने
प्रदेश सरकारले नीति तथा कार्यक्रममा कोसीटप्पु, बर्जुताल, तालतलैया इटहरी, वराह क्षेत्र, रामधुनी, विष्णुपादुका, बुढासुब्बा, पिण्डेश्वरी क्षेत्रलाई बराह विजयपुर सर्किट तथा हलेसी छिन्ताङ, बराहपोखरी, साल्पापोखरी, मनकामना, माईपोखरी र पाथीभरा क्षेत्रलाई शक्तिपीठ सर्किटका रूपमा विकास गर्ने प्रस्ताव अघि सारेको छ । सरकारले चतरा–किमाथांका र चतरा–सुनकोसी जलमार्ग सञ्चालनको सम्भाव्यता अध्ययन गर्न नीति तथा कार्यक्रममा समावेश गरी डिपिआरका लागि बजेटसमेत छुट्याएको पर्यटन मन्त्रालयले जनाएको छ ।

 हलेसी, ताप्लेजुङ, तुम्लिङटारसम्म  जलयात्राको योजना
प्रदेश सरकारले अरुण तथा तमोर, कोसीमा पानीको क्षेत्र विस्तार गरे प्रसिद्ध तीर्थस्थल, हलेसी, धनकुटाको छिन्ताङ देवी, ताप्लेजुङको पाथीभरा जलमार्गबाट यात्रा गर्न सकिने सम्भावना छ ।

र्‍याफ्टिङमा रमाउँछन् पर्यटक
सप्तकोसीमा र्‍याफ्टिङ पनि सञ्चालन भइरहेको छ । तीन वर्षअगाडि सञ्चालनमा आएको रिभर डिप र्‍याफ्टिङ कम्पनीले र्‍याफ्टिङ सेवा सञ्चालन गरेको हो । कम्पनीले पूर्वका तमोर, अरुण र सुनकोसीजस्ता नदीहरूमा सेवा दिँदै आएको छ ।नेपाल, भारत, जर्मन, बेलायतलगायत देशका यात्रुलाई सेवा दिएको यो कम्पनी इटहरीको एक्लो र्‍याफ्टिङ कम्पनी हो । तमोरको मूलघाटबाट चतरासम्मको ३४ किलोमिटर यात्रा र अरुणको लेगुवाघाट–चतरासम्मको ४२ किलोमिटरको यातायात सञ्चालन गर्ने यो कम्पनीले भारत र चीनका पर्यटक तान्ने प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरेको थियो । – नयाँ पत्रिकाबााट