यूएईलाई १४ रनले पराजित गर्दै नेपालले जित्यो टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज

  • २० माघ २०७५, आईतवार

 युएईमा जारी टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १४ रनले पराजित गर्दै २–१ ले सिरिज कब्जा गरेको छ ।

नेपालले दिएको १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको यूएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ९० रन मात्र बनाएपछि नेपाल १४ रनले विजयी भएको हो ।  नेपालका करण केसी, अविनाश बोहरा र ललितनारायण राजवंशीले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाई १ सय ४ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा १ छक्का र ४ चौका प्रहार गर्दै २९ रन, सन्दीप जोराले ११ बलमा ३ छक्का प्रहार गर्दै २८ रन र विनोद भण्डारीले १३ बलमा १ छक्का र २ चौका प्रहार गर्दै २१ रन बनाए । त्यस्तै करण केसीले ५ बलमा १० रन जोडे ।

नेपालले पहिलो ओभरमै पवन सर्राफलाई गुमाएपछि नेपाल दबाबमा आएको थियो । तर विना रन पहिलो ओभरमा एक विकेट गुमाएको नेपालले २ दशमल ३ बलमा ज्ञानेन्द्र मल्ललाई ११ रनमा गुमाउँदा नेपालको स्कोर १२ रन थियो ।

त्यसपछि ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी पनि दुई रनमै आउट भएपछि नेपाल थप दबाबमा पुगेको थियो । तर चौथो विकेटको लागि कप्तान पारस खड्का र सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गरे । पारस र जोराले चौथो विकेटकालागि १४ बलमा ३३ रनको ठोस साझेदारी गरेर नेपालको इनिङ बुनेका थिए ।

पारस खड्का २९ रनमा आउट भएपछि विनोद भण्डारी आए । विनोद र सन्दीपले पाँचौ विकेटका लागि ३७ रनको साझेदारी पारी उकासेका थिए । यूएईका मोहमद नाभेद र आमिर हायतले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच करण केसी भए भने म्इान अफ द सिरिज अविनाश बोहरा घोषित भए ।