बिदेश जानेले बिराटनगरबाट पनि पाउन थाले श्रम स्वीकृति, अब धाउनु पर्दैन नि काठमाडौंं
- २३ माघ २०७५, बुधबार
सरकारले प्रदेश स्तरमै श्रम स्वीकृति दिने नीति लिएसंगै बुधबारदेखि श्रम कार्यालय बिराटनगरबाट श्रम स्वीकृती दिन शुरु गरिएको छ ।
बुधवार श्रम कार्यालय बिराटनगरले प्रदेश १ मा पहिलो पटक श्रम स्वीकृत प्रदान गर्न थालेको हो । एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ५ बोधेका विजय खड्कालाई विराटनगरबाट कतारको लागि पहिलो श्रम स्वीकृत प्रदान गर्दै श्रम स्वीकृति दिने काम थालेका छन् ।
कतारबाट तीन महिनाको विदामा उनी घरमा आएका खड्काले बिराटनगरबाट पहिलो श्रम स्वीकृत प्राप्त गरेका हुन् ।
पहिलो चरणमा नै श्रम स्वकृती प्रदान गर्ने भनिएको भनिए पनि बिराटनगरको श्रम कार्यालयबाट सातवटा प्रदेशमै सबैभन्दापछि श्रम स्विकृती दिन थालिएको हो ।श्रम मन्त्रालयले यस अघि नै छ वटै प्रदेशबाट श्रम स्वीकृती दिने ब्यबस्था गरिसकेको छ ।
उद्घाटन कार्यक्रममा एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बैदेशिक रोजगारीमा जानको लागि प्रदेशबाट आफ्नै ठाउँ र क्षेत्रबाट श्रम स्वीकृती दिन थाल्नु सकारात्मक भएपनि बैदेशिक रोजगारीमा जाने क्रमलाई रोकेर देशमै रोजगारीको अबसर सिर्जना गर्न तर्फ लाग्नु पर्ने बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले लामो समयदेखि केन्द्रिकृत रुपमा वितरण हुँदै आएको श्रम स्वीकृती विराटनगरबाट नै दिन थालिएपछि युवाहरूलाई सहज हुुने बताए ।
श्रम कार्यालय विराटनगरकी निमित प्रमुख सविता दाहालले केही महिनाअघि देखि नै शुरु हुनुपर्ने श्रम स्वीकृतीको काम यस प्रदेशमा अन्य प्रदेश भन्दा अन्तिममा परेको बताइन् । उनले पहिलो चरणमा विदेश बसेर विदामा आएकाहरुलाई प्राथमिकतामा राखेर श्रम स्वीकृती दिइनेे जानकारी दिइन् ।