पथरीशनिश्चरेमा ५७ हजारले सेवन गरे हात्तीपाइलेको औषधि

  • २५ फाल्गुन २०७५, शनिबार

घरदैलो अभियान अन्तर्गत मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा ५७ हजारको संख्याले हात्तीपाइले विरुद्धको औषधि सेवन गरेको छ ।

आज वडा नम्वर ५ र ६ मा गरी ९ सय ६ जनाले औषधि सेवन गरेका छन् । फागुन १५ गते वडा वडाका १० केन्द्रमा र १६ गते घर घरमा गएर औषधि खुवाउने अभियान अन्तर्गत आजसम्ममा ५६ हजार ९ सय २५ जनाले औषधि सेवन गरेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाउनु भयो । नगरमा औषधि सेवन गर्ने लक्षित समूहको संख्या ६३ हजार रहेको छ ।

भोली पथरी बहुमुखी क्याम्पसमा घरदैलो अभियानको अन्तिम दिनको औषधि सेवन गर्ने कार्यक्रम रहेको उहाँले वताउनु भयो । घरदैलो अभियान आजबाट समाप्त भएपनि फागुन महिनाभरी स्वास्थ्य संस्थामा औषधि रहने उल्लेख गर्नुभयो ।

अघिल्ला वर्षहरुमा भन्दा यो वर्ष औषधि सेवनको प्रचार प्रसार बढी भएको र औषधिले असर गर्ने भन्ने भ्रम समेत हटेपछि औषधि सेवन गर्नेहरुको उत्साह देखिएको थियो ।

घरघरमा स्वास्थ्यकर्मी खटेर औषधि खुवाउने अभियानमा १० वडाका लागि प्रत्येक वडामा ४ जनाका दरले घर घरमा औषधि खुवाउन स्वास्थ्यकर्मीलाई खटाइएको थियो । उनीहरुले घर घरमा तथा विद्यालय विद्यालयमा गएर औषधि सेवन गराएका थिए ।