पूरा भयो प्रचण्डलाई भेट्ने लक्ष्मीमार्गकी ८१ मनमायाको धोको
- २९ फाल्गुन २०७५, बुधबार
उमेरले चारबीस कटिसकेको छ। शरीरले राम्रो काम गर्दैन, हिँडडुल गर्न साहारा चाहिन्छ । आफ्नै शरिर सम्हाल्न गाह्रो पर्ने उमेर भए पनि उनलाई आफ्नो भन्दा देश र जनताको बढि चिन्ता लाग्छ। त्यहि चिन्ताले ८१ वर्षीया वृद्धा मनमाया बस्नेत विराटनगरको एउटा होटलमा देखापरिन् ।
मोरङको बेलबारी ११ को लक्ष्मीमार्गबाट कसैको साहारा बिनानै झण्डै ४० किलोमिटर टाढाबाट मंगलबार उनी विराटनगर आइन्।
रेडियो र टेलिभिजनको समाचार नबिराई सुन्ने उनको कानमा प्रचण्ड आउने खबर पर्यो । त्यो खबरले राति राम्ररी निदाइनन् । त्यसैले मंगलबार बिहान विराटनगरसम्म लगिदिन उनले निकैजनासँग अनुरोध गरिन् तर कोहि तयार भएनन् । कसैले नलगिदिने भए भन्ने भएपछि बस चढेर उनी विराटनगर आइन् र चिनजानकासँग सम्पर्क गरी प्रचण्डसँग भेटघाट गरिन्।
तात्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा आवद्ध भएकी मनमाया अहिले पनि पार्टी गतिविधिमा उतिकै सक्रिय छिन्। हरेक बैठक र पार्टीका भेलाहरुमा नियमित सहभागी हुने र छलफल गर्ने तथा पार्टीको काममा लागिपर्ने उनको स्वभावबाट स्थानीयबासी जानकार मात्र छैनन् प्रभावित पनि छन्।
देश र शासन ब्यबस्था परिवर्तन गर्ने आन्दोलनका नायक प्रचण्डसँग प्रत्यक्ष भेटगर्ने मनमायाको तीब्र चाहना थियो तर यतिका वर्षसम्म पूरा भएको थिएन । धेरै कार्यक्रमहरुमा मनमायाले प्रचण्डको भाषण सुनेकी थिइन् तर प्रत्यक्ष भेटेर बोल्ने रहर पूरा भएको थिएन। ‘अध्यक्ष प्रचण्डसँग नभेटी मर्छु कि भन्ने पीर लागेको थियो तर आज मेरो सपना पूरा भएको छ’ मनमायाले भनिन् , ‘ अध्यक्षसँग भेटेर गफ गर्ने अवसर पाएको छु, सबै चाहाना पूरा भए, अब मरेँ भने पनि केही छैन।’
अध्यक्ष प्रचण्डसँगको भेटमा उनले आफूलाई ज्यानको भन्दा बढी पार्टीको माया लाग्ने गरेको भन्दै पार्टीलाई बलियो र सशक्त बनाउन सुझाव दिइन् । ‘मलाई कहिल्यै पनि ज्यानको माया लागेन, पार्टीकै बढी माया लाग्छ, यो पार्टीलाई सफल बनाउनुपर्छ।’ – थाहा खबरको सहयोगमा