केराबारीकी एक महिला तीन दिनदेखि बेपत्ता, तमोर गड्तिरमा भेटियो झोला, पैसा र मोबाइल
- १० बैशाख २०७६, मंगलवार
मोरङको केराबारी–५ सतिसालेकी २५ वर्षिया रोजिता दाहाल तीन चार दिनदेखि बेपत्ता भएकी छन् ।
आइतबार बिहान धरान बजार जान्छु भनी घरबाट निस्किएकी महिला बेलुकी घर फर्किइनन् । वेपत्ता रोजिताको परिवारजनले खोजी कार्य तिब्र बनाएको रोजिताका ससुरा प्रेम महतले बताए । उनका अनुसार विहानै घरबाट बजार जान भनी निस्किएकी बुहारीले बेलुकापख छोरालाई म्यासेज पठाएर आफु कहिल्यै नफर्किने गरी गएको बताएकी थिइन् ।
रोजिताले धनकुटाको मूलघाटमा रहेको पुल मुनि तमोर नदिको किनारमा आफ्नो झोला, मोबाइल र पैसा समेत छाडेको म्यासेज श्रीमानको मोबाइलमा पठाएकी थिइन् । सोही म्यासेज बमोजिम मुलघाट गएर हेर्दा उनको सामानहरु भेटिएको परिवारजनले बताएका छन् ।
धनकुटा जिल्ला प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीले उनको खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको बताएका छन् ।