सिर्जना राईको हत्या भएको भनी गरिएको हल्लाप्रति परिवार र गाउँलेको आपत्ति

  • १४ बैशाख २०७६, शनिबार

मोरङको बेलबारी ६ स्थित बोराबाँधकी २७ वर्षिया सिर्जना राईको मृत्युबारे झुठो प्रचार गरेर समाजकै वदनाम गरिएको भन्दै परिवार र गाउँलेले आपत्ति  जनाएका छन् ।

सिर्जनाका श्रीमान् पर्वत राई, उनको परिवार र छिमेकी सहितका करिव २ सय जति गाउँलेको उपस्थितिमा पत्रकार सम्मेलन गरिएको थियो । सिर्जनाकै घरमा गरिएको पत्रकार सम्मेलनमा  सिर्जनाको मृत्युपछि शव पोष्टमार्टमको प्रकृयामा गएदेखि नै सिर्जनाका माइतीपक्षले हत्या भएको भनेर सामाजिक सञ्जालमा दुस्प्रचार र मिडियावाजी गरेको पर्वतको परिवार र गाउँलेले गुनासो गरेका  थिए  ।
सिर्जनाका श्रीमान् पर्वतका अनुसार गएको बैशाख ५ गते विहान सिर्जनाले पेट दुख्यो भनेपछि उपचारका लागि उनलाई नजिकैको दयाल मेडिकल लगिएको थियो । तर सिर्जनाको अवस्था गम्भिर रहेको भन्दै मेडिकलले थप उपचारका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विराटनगरको गोल्डेन अस्पताल लैजान सल्लाह दियो । पर्वतकी दिदीको घर पनि धरानमै रहेको उपचारमा सजिलो हुने भन्दै सिर्जनालाई धरान लगियो । प्रतिष्ठानमा डाक्टरले सिर्जनाको अवस्था गम्भिर रहेको भन्दै आइसियुमा राख्नु पर्ने बताए । तर तत्काल आइसियु उपलब्ध नभएकोले विकल्पको तयारी हुँदैगर्दा साँझ ६ बजेतिर सिर्जनाको मृत्यु भयो ।

सिर्जना विरामी भएपछि सिर्जनाकी दिदी विर्सना राई र माइतीलाई पनि समयमै खबर गरेको पर्वतको दावी छ ।‘श्रीमतीको मृत्यु हुँदा त्यसको पिडा आफैंँलाई थियो ।’ पर्वतले भने‘ काजक्रिया समेत गर्न नदिई, प्रहरी आउने, थाना लैजाने काम भयो ।’

सिर्जनाका काका वडाध्यक्ष उदयवहादुर राईले नै गलत आसय राखेर प्रहरीमा जाहेरी दिने, प्रहरी खटाएर दुख दिने र हत्या भएको हो भनी दुस्प्रचार गरेको पर्वतकी दिदी शान्ति राईको आरोप छ । पोष्टमार्टम रिपोर्ट नै नआइकन गलत प्रचार गर्ने प्रहरीले दुख दिने काम भयो ।’ शान्तिले भनिन्‘ गर्दै नगरेको कामको दोष बोकाउने प्रयास गरियो । सिँगो गाउँलेले ज्यानमाराको आरोप खेप्नुपरेको छ ।’

पत्रकार सम्मेलनमा घोपा क्याम्पले दिएको ‘डेथ सर्टिफिकेट’ र ‘ल्याब रिपोर्ट’ को प्रतिलिपि पनि सार्वजनिक गरिएको थियो । सिर्जनाको ब्लडमा इन्फेक्सन भएको,  किड्नीमा गम्भिर समस्या देखिएको र जण्डिसको समस्या देखिएको रिपोर्ट आएको स्थानिय स्वास्थ्यकर्मी रबिकुमार शाहले बताए ।
वडाध्यक्षले सिर्जनामाथि कुटपिट भएको र त्यसकै कारण ज्यान गएको भनेर मिडियामा बोलेको कुराप्रति पर्वतको परिवार र स्थानिय गाउँलेले आपत्ति जनाएका छन् । चिउँडो लगायतका स्थानमा देखिएको चोट कुटपिटबाट नभै लडेर लागेको चोट भएको पनि पर्वतका छिमेकीले बताएका छन् । स्थानिय नरहरी राईले भने ‘बैशाख ३ गते मेरो घरको कल चलाउन खोज्दा सिर्जना लडेर चोट लागेको थियो, कुटेर चोट लागेको भन्ने भनाई गलत हो ।’

पवर्तकै छिमेकी रेनुका घिमिरेले पनि सिर्जनामाथि कुटपिट भएको आफुहरुले थाहा नपाएको बताइन् । तर सिर्जनाले अधिकांस समय मदिरा सेवन गर्ने गरेको गाउँलेहरुको भनाई छ ।
नभएको कुरा प्रचार गरेर वुहारी मार्ने गाउँका रुपमा चिनाउने र वदनामी गर्ने प्रयास भएको गाउँलेको चित्त दुखाई थियो । स्थानिय डम्बर राईले वडाध्यक्षले नै गरिमामय पदमा बसेर दुस्प्रचार  र भ्रम फैलाएर दु:ख दिएको भन्दै आपत्ति जनाए । पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा पनि सिर्जनाको हत्या भएको नदेखिएको प्रहरीले आफुहरुलाई बताएको राइले बताए ।

यता इलाका प्रहरी कार्यालय बेलबारीले भने पोष्टमार्टमको भिसेरा लगायतका रिपोर्ट आउन बाँकी रहेको बताएको छ । सो रिपोर्ट आएपछि सबै कुरा खुल्ने प्रहरी निरीक्षक रामकुमार राईले बताए ।
बेलबारी वडा नम्बर ६ का वडाध्यक्ष उदयवहादुर राईले घटना संकास्पद देखिएकोले निष्पक्ष छानबिन गरिपाउँ भनी सिर्जनाकी दिदिले प्रहरीमा जाहेरी दिएको बताए । सिर्जनाको मृत्यु नै भैसकेको र मृतकको आमाबुबा समेत नभएको अवस्थामा आफु काका भएकोले अभिभावकत्वको जिम्मेेवारी पुरा गरेको उनले बताए । हालसम्म पोष्टमार्टम रिपोर्ट आधिकारिक रुपमा वाहिर आएको जानकारी आफुले नपाएको समेत उनले बताए ।

सिर्जना र पर्वतविच ६ वर्ष अघि विवाह भएको थियो । उनीहरुको ४ वर्षे छोरा पनि रहेका छन् ।