धरानले जित्ला कि भनेको त, सिलगुडीले पो जित्यो बेलबारी गोल्डकपको उपाधि

  • १४ आश्विन २०७६, मंगलवार

मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको छ  ।

बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले निराश बनाउँदै पाहुना टोली सिलिगुडीले उपाधि कब्जा गरेको हो ।

धरानमाथि सानदार जित निकालेको उसले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । घरेलु मैदानमा निराश बनेर उपविजेतामा खुम्चिएको धरानले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
सेमिफाइनलमा मदन भण्डारी स्र्पोट्स एकेडेमीलाई पराजित गरेर धरान र एपीएफलाई पराजित गर्दै सिलिगुडी फाइनल पुगेका थिए ।

मध्यान्तर अघिसम्म समान प्रदर्शन गरे पनि मध्यान्तरपछि धरानको प्रदर्शन फितलो बनेको थियो । खेलाडीबीच आपसी तालमेल मिल्न नसक्नु, फिनिसिङ कमजोर  हुनु र स्ट्राईकर भरत खवास र कर्ण लिम्बू जम्न नसक्नु नै  धरानका लागि दुर्भाग्यपूर्ण बन्यो ।
सिलिगुडीले सुरुवाती १० मिनेटमै गोलको खाता खोलेर अग्रता लिएको थियो । सिलिगुडीका निरज बस्नेतको थ्रो बललाई धरानका खेलाडीले क्लियर गर्न नसक्दा कप्तान आदर्श तामाङले पोस्टको दिशा दिएका थिए । यसरी खेलको पहिलो हाफ १–० को अवस्थामा सकिएको  थियो ।

५७ औं मिनेटमा मनोज राईलाई छक्याउँदै गोलरक्षक लक्की कार्कीलाई विट गरेर सिलिगुडीका निशान लिम्बूले गरेको प्रहारले पोस्टको बाटो तय गर्दा खेल २–० को अवस्थामा पुग्यो ।
सिलिगुडीका अमन थापाले ६९ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै अग्रता फराकिलो पारे । कप्तान आदर्श तामाङको पासमा एक्लै अघि बढेका थापाको प्रहारले जाली चुम्दा खेल ३–० को अवस्थामा पुगेको थियो ।

तेस्रो गोल भएको दुई मिनेटमै अर्थात खेलको ७१ औं मिनेटमा सत्यम शर्माले गोल थप्दै सिलिगुडीलाई फराकिलो अन्तरमा पुर्याएका थिए । कैलास बस्नेतका ठाउँमा ६९ मिनेटमा मैदान छिरेका उनले त्यसको २ मिनेट पनि वित्न नपाउँदै वान भर्सेस वानको स्थितिलाई सदुपयोग गरेर सिलिगुडीका लागि चौथो गोल गरेका थिए ।
उमेश राईले ७४ औं मिनेटमा वान भर्सेस वानको स्थितिमा सिलिगुडीका गोलरक्षक किशोर गिरीलाई विट गर्दै धरानका लागि सान्त्वना गोल फर्काए । ६० औं मिनेटमा विशाल राईका ठाउँमा मैदान गएका उनले गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न भने सकेनन् ।

फाइनल खेलको म्यान अफ दी म्याच धरानका मनोज राई घोषित भए । उनले पाँच हजार नगद पुरस्कार पाएका छन्  ।
डाँगीहाट युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिलिगुडीबाट खेलेका निशान लिम्बू घोषित भए । उनले २५ हजार नगद पुरस्कार पाए । सर्वाधिक गोलकर्ता बनेका उनले प्रतियोगिता भर ३ गोल गरेका छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्स भारतका निरज बस्नेत, मिड फल्डर आदर्श तामाङ, स्ट्राईकर श्याम सरकार, गोलरक्षक किशोर गिरी र उत्कृष्ट प्रशिक्षक भारतकै कमल सुब्बा बने । उनीहरुले जनही सात हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगिताको उदियमान खेलाडी आयोजक डाँगीहाट युथ क्लबका शंकर राई घोषित भए ।

विजयी खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकाल लगायतले पुरस्कार वितरण गरेका थिए  ।

गत असोज ४ गतेबाट सुरु प्रतियोगितामा नेपाल र भारतका गरेर आठवटा टिमको सहभागिता रहेको थियो । फाइनल खेल गत शनिबार हुने तय गरिएको भए पनि वर्षाका कारण मंगलबारलाई सरेको थियो  ।